तिहारै आयो लौ झिलिमिलि
सुनसरी- तिहारै आयो लौ झिलिमिलि,
ए सुन हजुर भैलिनी आए आँगन ।
मनको आँखा उघारी हेर
ए सुन हजुर लक्ष्मी आइन् आँगन ।।
यादव खरेलको शब्द, सङ्गीतमा लोचन भट्राई र नूतन प्रधानले गाएको चलचित्र ‘स्वर्ग’ को यो गीत देउसी भैलोमा प्रायः छुट्दैन । हरेक वर्ष तिहार आएसँगै यी र यस्ता दर्जनाँै गीत घरघर र गल्लिगल्लिमा गुञ्जिन थाल्छन् । जब यी गीतको धुन बज्न थाल्छ, तब तिहारको रमझम आएजस्तो लाग्छ ।
यो गीतको धुनसँगै ‘हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको’ भन्ने शब्दले साँच्चीकै तिहार आएको हरेक नेपालीले अनुभूति गर्छन् । भैलो विशेष गीत रहेकाले यस गीतमा चेलीको भैली गीतको सुगन्ध पाइन्छ । हाल यस्तै गीतले गाउँघर गुञ्जिन थालिसकेका छन् ।
दसैँपछि नेपालीको दोस्रो ठुलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडका रूपमा समेत लिन गरिन्छ किनभने गीत सङ्गीतविनाको तिहार अनि गीत सङ्गीतविनाको देउसी भैलो अधुरोजस्तै हुन्छ ।
देउसी भैलोमा गुञ्जिने गीतहरु दर्जनौँ छन् । ती मध्येपनि अरुण उपत्यका समूहका नवीनकुमार खड्का, पुस्तका खड्का, बलराम समाललगायतको स्वरमा सजिएको ‘सिमल बारुलै... गीतले धेरै दर्शक स्रोताको मन जितेको छ । करिब दुई दशकअगाडि सार्वजनिक गरिएको यो गीत अहिले पनि दर्शक स्रोताले उत्तिकै रुचाउने गरेका छन् ।
गीतमा सयपत्री र मखमलीको माला उने जस्तै उनिएका शब्द उतिकै सुमधुर र कर्णप्रिय छन् । जुन गीतमा समेटिएका बुढाबुढीको संवाद झनै रोचक छ । भट्याउनेदेखि लिएर बिचबिचमा गाइएको पूर्वेली भाकाले भने सबैको मन छुन्छ । तिहारमा देउसी खेल्ने युवा पुस्तादेखि लिएर बुढापाखाको समूहमा धेरैले यही गीत बजाएर देउसी खेल्छन् । करिब २० मिनेटको गीतमा देउसी खेल्नेको प्रवेशसँगै अन्तिममा दिइएको आशिषमा सबै विषयलाई लय मिलाएर बनाइएको गीत छ ।
त्यसो त ‘राँको’ फिल्मको गीत ‘दियो बाली साँझको’ लक्ष्मी पूजाका दिन बढी गुञ्जिने गर्छ । त्यसबाहेक पनि तिहारैभरि बज्ने यो गीत आशा भोस्लेले गाउनुभएको हो । तीन दशकअगाडि गाइएको गीत अहिले पनि उत्तिकै लोकप्रिय छ ।
‘अन्याय’ फिल्मको गीत ‘अधरमा आज उनकै छ गीत’ पनि उत्तिकै रमाइलो छ । सिन्धु मल्लले गाएको गीत ‘झिली र मिली’ पनि तिहारमा गुञ्जिने गीतमा पर्छ । राजु लामाले गाएको ‘भाइटीकामा भेट्न आउँला’ गीत धेरै बज्ने गीतमा पर्छ । यो गीतले विवाह भएर जान लागेकी चेलीलाई माइतीले भाइटीकामा भेट्न आउने बाचा गरेको कथा प्रस्तुत गरिएको छ ।
चलचित्र कोहिनूरमा समावेश गरिएको ‘यसपालिको तिहारै रमाईलो’ गीत पनि तिहारमा उत्तिकै गुञ्जिने गर्छ । प्रमोद खरेल र अञ्जु पन्तले गाउनुभएको यो गीत तिहारको समयमा धेरै बजाइने गीतमध्ये एक हो । लक्ष्मी पूजादेखि देउसी भैलो सबैलाई समेटिएको यो गीत उत्तिकै लोकप्रिय छ ।
यी बाहेक पनि नयाँ पुराना दर्जनौँ गीत तिहारमा गुञ्जिन्छन् । तिहारसम्बन्धी बर्सेनि नयाँनयाँ गीत थपिए पनि पुराना गीत नै बढि गुञ्जिने गरेका छन् ।
कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्तिक शुक्लपक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइने तिहारको सांस्कृतिक र सामाजिक महत्व बेग्लै छ । तिहार भन्नेवित्तिकै देउसी भैलोलाई सम्झिने गरिन्छ, त्यसमा पनि गीत सङ्गीतले तिहारलाई हर्ष र उल्लासमय बनाउँछ । प्रविधिको विकाससँगै पछिल्लो समय तिहारमा गीत घन्काउँदै देउसी भैलो खेल्न चलन बढेको छ । रासस

सवारी दुर्घटनामा एक जनाको मृत्यु

आठ करोड ३२ लाखमा बन्यो पालिकाको भवन

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण
_i9NmdaJkKs_gaemtdslogjyfaavix6ja5yjigihvd7kj57xhgavc2sv1b0d8bj95iwgzj7n_bzYk4B477K_ignlhjaolebgavxbgb7nv5xitxyntmhrt5g58fcr4qy9r1jwvk0h4rlsgwm1.jpg)
अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

प्रतिक्रिया