दुर्घटना बढाउँदै इलाम बजारका ‘छाडा’ कुकुर

इलाम- यहाँको इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ । कुकुरको सङ्ख्या वृद्धि मात्र नभइ छाडा कुकुरको टोकाइका घटना समेत वृद्धि भएको हो । छाडा कुकुरबाट मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएका छन् । कुकुरको टोकाइबाट धेरै घाइते भएका छन् ।
कात्तिक सुरु भए यता मात्र इलाम बजारमा ३० जनालाई कुकुरले टोकेको छ । चालु आर्थिक वर्षको असोजसम्ममा ७० जनालाई कुकुरले टोकिसकेको तथ्याङ्क जिल्ला अस्पतालसँग छ । घरपालुवा र सडकमा डुल्ने कुकुरले टोकेका दैनिक पाँच देखि सात जना बिरामी आउने गरेको इलाम अस्पतालका आकस्मिक सेवा इन्चार्ज टीका लुइँटेलले जानकारी दिए । गत आव २०८०/८१ मा भने सात सय ३५ जनालाई कुकुरले टोकेर भ्याक्सिन लगाएको उनले बताए ।
फिक्कलबाट आइतबार सदरमुकाम आइपुगेका सन्देश खड्काको मोटरसाइकल कुकुरमा अल्झिएर लड्यो । “कुकुर जोगाउने हुँदा बाइक हुत्तिएर नालिमा लड्यो र बचेँ, गाडीमा ठोक्किएको भए ज्यान जाने थियो”,’ उनले भने, “स्थानीय सरकार, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायत सबै सरकारी निकाय यहीँ छन् । छाडा कुकुर व्यवस्थापन गर्नु उनीहरुको दायित्त्व हो ।”
छाडा कुकुरको व्यवस्थापन इलाम नगरपालिका, जिल्ला प्रशासन र प्रहरी कार्यालयले गर्नुपर्ने सर्वसाधारणको भनाइ छ । विष हालेर मार्दा पशु अधिकारकर्मीको चर्को विरोध आएपछि यसको व्यवस्थापन थप चुनौतीपूर्ण बनेको स्थानीयले बताए ।
नगरपालिकाले कुकुर व्यवस्थापनका लागि बजेट विनियोजन गरेर योजना अघि बढाएको जनाएको छ । छाडा कुकुरको सङ्ख्या बढ्दै गएका कारण मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएपछि नगरपालिकाले छाडा कुकुर व्यवस्थापनको पहल थालेको जनाएको हो ।
इलाम बजारका छाडा कुकुरको दीर्घकालीन व्यवस्थापन गर्न कुकुरको बन्ध्याकरण शिविर चलाउन लागिएको नगरपालिकाका प्रमुख केदार थापाले बताए ।

गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट नहुने

पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

१२ लाख बढी चोर्ने पोखराबाट पक्राउ

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

सात वर्ष लगाएर देवघाटमा बनेको विद्युतीय शवदाह सञ्चालनमा आउने

११ जनालाई डिएसपीवाट एसपीमा बढुवा गराउन सिफारिस

प्रतिक्रिया