फलातेमा चियाखेतीको परीक्षण सफल

म्याग्दी- अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुद्र सतहबाट दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गरेको चियाखेती सफल भएको हो ।
‘कृषि अनुसन्धान परिषद् (नार्क)बाट विज्ञ र माटो विज्ञ ल्याएर अध्ययन गरेर हाइअल्टिच्युडमा परीक्षणका लागि धनकुटाको पाख्रीबासबाट चियाका बिरुवा ल्याएर रोपेको थिएँ,’ गौचनले भने, ‘परीक्षणका लागि गरेको चियाखेती सफल भएको छ ।’
परीक्षण खेती सफल भएपछि फलाते आसपासका बाँझो पाखा जमिनमा चियाखेती गरेर किसानले आम्दानी गर्न सक्ने गौचनले बताए। आफन्त र बजारमा कोशेलीका रूपमा पठाउनुका साथै म्याग्दीको पर्यटकीय घोडेपानी, शिख, घारका होटलमा फलातेको चिया प्रयोग हुन थालेको छ ।
विषादी र रासायनिक मलको प्रयोग नगरी उत्पादन गरिएको चियालाई ‘बल्याक टी’ नाम दिइएको छ । स्वाद र गुणस्तर राम्रो भएकाले फलातेको चियाले स्थानीय उपभोक्ताको मन जित्न थालेको छ । वार्षिक ५० किलोग्रामसम्म चिया उत्पादन हुने गरेको गौचनले बताए ।
काठमाडौँमा व्यवसाय गर्दै आएका गौचनले पुर्ख्यौली जन्मथलोमा खेर गएको बारीमा चियाखेतीसँगै दातेओखर पनि लगाएका छन् । चिया बगानको रेखदेख भने ८२ वर्षीया आमा रनदेवी गौचनले गर्छिन् । रनदेवीसँगै अन्य दुई जना स्थानीय कामदारले रेखदेख, चिया टिप्ने, सुकाउने र प्रशोधन गर्दै आएका छन् ।
छ रोपनी क्षेत्रफलमा चियाखेती गर्न रु २० लाख लगानी भएको रनदेवीले बताइन् । ‘अन्नपूर्ण चक्रीय पदमार्गको घोडेपानी–भुरुङ्ग तातोपानी पदमार्गमा यात्रा गर्ने पर्यटक पनि चिया बगान हेर्नका लागि आउँछन्,’ उनले भनिन्, ‘पाहुना र पर्यटकलाई आफ्नै बगानको चिया पकाएर खुवाउने गरेकी छु ।’
फलातेअघि अन्नपूर्ण गाउँपालिका–६ खिवाङको पाखामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०मार्फत चियाखेती भए पनि रेखदेख र संरक्षण नहुँदा बगान मासिएको थियो । मालिका गाउँपालिका–३ किनेतीस्थित वडा कार्यालय पसिरको सार्वजनिक पाखोमा पनि परीक्षणका लागि गत वर्ष चियाखेती भएको छ ।
म्याग्दीका अन्य ठाउँमा व्यावसायिक रूपमा चियाखेती भएको छैन । फलातेको चिया बगानको अवलोकन गर्न पुेएका अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले स्वाद, गुणस्तरका हिसाबले व्यावसायिक चियाखेतीको सम्भावना देखिएको बताए ।
चियाखेतीको माध्यमबाट बाँझिएका खेतीयोग्य जमिनलाई सदुपयोग, रोजगारी र आयआर्जनको अवसर सिर्जनाका साथै पर्यटन प्रवर्द्धन गर्न सकिने उनले बताए ।

गड्यौला मल बनाउने तालिमपछि जैविक तरकारी फलाउने प्रतिबद्धता

रोपाइँका लागि कमला नहरमा पानी प्रवाह

धानखेतीको तालिका बदलिँदैः अब जेठमै पाक्छ धान

म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र

किसानलाई चैते धान थन्क्याउने चटारो

श्रीलङ्का टापुका किसानलाई अनुदानमा कृषिउपकरण

तनहुँका फाँटका किसानलाई चैते धान थन्क्याउने चटारो

प्रतिक्रिया