दसैँ नमनाउने ललितपुरको खोकनामा सिकाली जात्रा

ललितपुर- दसैँ नमनाउने ललितपुरको खोकनामा सिकाली जात्रा भव्य रुपमा मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)को दिनदेखि सुरु हुने यो जात्रा षष्ठीको दिनसम्म चल्छ ।
स्थानीय नरोत्तम श्रेष्ठका अनुसार आश्विन शुक्ल प्रतिपदाको दिनदेखि हरेक दिन नुहाउने र एक छाक मात्रै खाना खाएका कुमार केटाहरूले दुई दिनसम्म गाउँ परिक्रमा गरेर पूजा सामग्री सङ्कलन गर्छन् ।
“हरेक दिन खोलामा नुहाएर आएर उखुको लौरो टेक्दै गाउँ परिक्रमा गरेर पूजा सकाउनुपर्छ, त्यस समयमा उनीहरु राति थकालीको घरमा सुत्छन्”, उनले भने, “उनीहरुले छालाको समान तथा पहिरन प्रयोग गर्दैनन्, लसुन प्याजसमेत खाँदैनन्, रुद्रायणि मन्दिरको मूल पुजारीलाई थकाली भन्छन्, त्यही पूजा सामग्रीबाट तृतीयाको दिन सिकाली चौरमा गएर पूजा गर्ने चलन छ ।”
यसरी घटस्थापनाको दिनदेखि दुई दिनसम्म सङ्कलन गरेको पूजा सामग्रीले आश्विन शुक्ल तृतीयाका दिन पूजा गरिसकेपछि रुद्रायणि विद्यालय नजिकै चौरमा रहेको सिकालीको मूर्तिमा राँगाको आलो रगत चढाइन्छ । यसका लागि खोकनामा रहेका तीन वटा जात्रा चलाउने तीन वटा गुठीहरुले एकएक वटा राँगो दिन्छन् । यसरी दिएका राँगाको बली दिइ आलो रगत सिकाली मन्दिरमा चढाउन लगिन्छ । शुक्ल तृतीयाका दिन गरिने नित्य पूजा कसैले पनि हेर्न नमिल्ने बताउँछन् श्रेष्ठ । “पूजा अवधिमा चराचुरुङ्गी वा मानिस केहीले देख्यो भने असफल हुन्छ भन्ने किम्बदन्ती छ । त्यसैले हेर्न दिँदैनन्”, उनले भने ।
यो ललितपुर महानगरपालिका–२१ मा पर्ने खोकनामा मनाइने सबैभन्दा ठूलो जात्रा हो । स्कन्दपुराणको माघ महात्म्यमा उल्लेख भएअनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्रलगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई तितरवितर पारेको कथाको आधारमा गरिने जात्रामा आज बिहानै सिकाली चौरमा यज्ञ मण्डप बनाएर यज्ञ लगाइएको थियो । सोही यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएको विश्वास गरिन्छ ।
महानगर वडा नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार मआज रुद्रायणि स्कुलअघि राँगाको बली दिएर कुमार केटाहरूले सिकाली मन्दिर रहेको सिकाली चौरमा पूजा सामग्री लिएर गएका हुन् । आज सामूहिक भोजसँगै जात्रा सम्पन्न हुन्छ । रासस
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया