आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

१४ लाख विरुवा रोप्ने अभियान

जनकपुरधाम : हरित अभियान अन्तर्गत प्रदेश २ मा साढे १४ लाख रुख विरुवा रोपिने भएको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा एक हप्ते अभियान अन्तर्गत प्रदेशका आठ वटै जिल्लाका १ हजार १ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ रुख विरुवा रोपिने उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कँडेलले जानकारी दिएका छन ।

प्रदेश हरित अभियान २०७८ को मुख्यमन्त्री लालबाबु राउतले धनुषाको मिथिला नगरपालिका ४ पुष्पवलपुरमा एक कार्यक्रमका बीच वर पिपलको रुख रोपेर शुभारम्भ गरेका छन् । 

डिभिजन वन कार्यालय धनुषा आयोजित हरित अभियान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने, ‘हामी मानिसलाई बाच्न पाउने प्रमुख आधार आक्सीजन यसै रुख विरुवाबाट पाउने भएकाले प्रदेश सरकारले प्रदेशलाई हरित बनाउन थालिसकेको छ ।’

दिनदिने चुरे वन जंगल लगायतका मासिदै गएपछि आउने दिनमा प्रदेशवासीलाई आक्सीजनको समस्या मात्र होइन सिचाईका जलको समस्या उत्पन्न हुने र बाढी भूक्षय लगायतका समस्या आउने भएकोले प्रदेशलाई हरित बनाउन अभियान थालिएको उनले बताए । 

अभियानको सुभारम्भ लागि आठवटै जिल्लामा एक साथ गरिएको छ । धनुषामा मुख्यमन्त्री राउत, सप्तरीमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, सिरहामा अर्थमन्त्री विजय कुमार यादव, महोत्तरीमा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहले शुभारम्भ गरेका छन ।

त्यसैगरी सर्लाहीमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय र महिला बालवालिका तथा खेलकुद मन्त्री विरेन्द्र कुमार सिंह, रौतहटमा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, बारामा अर्थराज्यमन्त्री उषाकुमारी यादव र पर्सामा उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले अभियानको शुभारम्भ गरेका छन ।