प्रहरीको जागिर छाडेर पशुपालन व्यवसायमा, वार्षिक १५ लाखसम्म आम्दानी
कृषि र पशुपालनमा युवाले क्रान्ति ल्याउने विश्वास

काठमाडौँ : स्कुल पढ्दा धेरैको सपना हुन्छ, देशको सेवा गर्ने । देशका लागि लड्ने । देशको नाम चिनाउने । आफ्नो नाम सारा संसारमा फैलाउने ।
सपना जति मीठो हुन्छ । प्रिय हुन्छ । त्यसलाई प्राप्त गर्न त्यत्तिकै कठिन संघर्ष पनि गर्नुपर्छ । रामेछापको लालबहादुर माझीको सपना पनि यस्तै प्रिय थियो । त्यसमाथि बुवा ‘इन्डियन’ लाहुरे । रगतमै देशका लागि लड्ने बुवाको ‘जीन’ छदैँ थियो । अब सपना, सपना मात्रै रहेन ।
२०६३ सालमा नेपाल फिरेपछि लालबहादुर नेपाल प्रहरीमा भर्ना भए । त्यो समयमा सशस्त्र द्वन्द्वका कारण प्रहरीमा भर्ना खुल्थ्यो । भर्ना हुन सजिलो पनि थियो । हुन त लालबहादुरमा कमी नै के थियो र ?
खाइलाग्दो ज्यान देशको सेवामा समर्पण गर्ने उनको सपना विपनामा परिणत भयो । सशस्त्र द्वन्द्व पनि सकिएको थियो । ढुक्कले देशको सेवा गर्ने लालबहादुरले प्रण गरे । सकेको गरे पनि ।
देश र जनताको सुरक्षाका लागि ज्यान फाले । तर सुरक्षाकर्मीको पीडा कहाँ कम छ र ? कसले बुझिदिन्छ ? त्यसमाथि ज्याँदै न्यून तलब । महिनाभरको तलबले राम्रोसँग परिवार पाल्न पनि हम्मेहम्मे ।
त्यसपछि लालबहादुरको देशको सेवा गर्ने प्रण कमजोर बन्यो । रहर भए पनि पेट पाल्न गाह्रो भएपछि उनको मनमा निराशा छायो । बन्दुक बोकेर देशको सेवा गरे पनि परिवारको सेवा गर्न गाह्रो थियो । त्यसमाथि महंगी । अचाक्ली महंगी । परिवार बढ्दै गयो । आवश्यकता थपिदै गयो ।
एकदिन लालबहादुरलाई लाग्यो, यसरी जिन्दगी चल्दैन । चलोस् पनि कसरी ? २०/२५ हजारको तलबले ३० दिनको छाक मात्रै टारिन्थ्यो । जीउमा च्यातिएको कपडा टाल्न गाह्रो ।
लालबहादुरले राजीनामा पत्र लेखे । दुई चार दिन त गोजीमै राखे । बुझाउने कि नबुझाउने ? दुःखले खाएको जागिर फेरि पाइने हो कि नाई ?
अलमलमै बित्यो सात दिन । त्यसपछि उनले हिम्मत गरे । राजीनामा पत्र गोजीबाट निकाले । हाकिमको टेबलुमा राखे । नेपाल प्रहरीको बर्दी खोले । बन्दुक बिसाए । घरतिर लागे ।
२०७१ सालमा प्रहरीको जागिर छाडेका लालबहादुरलाई सुरुमा अलमलै थियो । केही वर्ष अलमलमै बिते । विस्तारै सोचे, गाउँघर प्यारो लाग्नेलाई कृषि र पशुपालन व्यवसाय राम्रै होला ।
‘दुःख धेरै, पैसा थोरै । त्यही भएर जागिर छाडेको थिए’ उनले भने, ‘तर के गर्ने ? भनेर सुरुमा अलमलमा परे । पछि बंगुर पाल्ने आइडियो आयो ।’
जागिर छाड्दा उनको गोजी गरम थियो । अलिकति पैसा जोगाएकै थिए । १० वटा बंगुर किने । त्यसका लागि पहिल्यै खोर बनाएका थिए । रामेछाप घर भएका उनी बंगुरपालनका लागि सिन्धुलीको खुर्कोट पुगे । उसो त उनी पहिल्यैदेखि खुर्कोट बस्थे ।
खोरमा बंगुर हाले । दाना किने । यो उनका लागि विशुद्ध नौलो व्यवसाय थियो । अनुभव नभएको व्यवसाय गरे जोखिम हुन्छ । क्षति पनि व्यहोर्नुपर्छ । यो उनले थाहा पाएका थिएनन् ।
तर आफैले भोगे । बंगुरपालन सुरु गरेको दुई महिनामै दुई वटा मरे । एउटा बिरामी परेर । एउटा हावापानी नमिलेर । झण्डै १० लाखमा बंगुर किनेर सुरु गरेको व्यवसायमा पहिलो गासमै ढुंगा लाग्यो । दाना ल्याउन धरान पुग्नुपर्थ्यो । बंगुर बिरामी भए छटपटी हुन्थ्यो ।
उनले हार खाएनन् । बाँकी आठ वटाले बच्चा जन्माए । माउ र पाठापाठीको राम्रोसँग हेरचाह गरे । उनको व्यवसाय फस्टायो । काम थपियो । एक्लैलाई हम्मे हम्मे नै परेपछि मान्छे राखे । २०७५ सालदेखि थालेको उनको व्यवसायबाट अहिले तीन जनाले रोजगारी पाएका छन् । वार्षिक खर्च कटाएर १५ लाख बराबर आम्दानी हुन्छ । अहिले उनी बंगुरपालन व्यवसायबाट खुशी मात्रै छैनन् । मनग्य आम्दानी हुँदा दंग पनि छन् ।
‘जागिर छाडेपछि के कसो हुने हो ? अन्यौल थियो’ व्यवसाय फस्टाएपछिको खुशी बाँड्दै उनले भने, ‘गरेपछि राम्रो हुने रहेछ । गरेको लगानी खेर गएको छैन । बरु फाइदै भएको छ । काम गरे राम्रै हुन्छ । पैसो कमाइन्छ भन्ने कुरा सिकेको छु ।’
अनुदानले प्रोत्साहन, व्यवसायमा सफलता
उनी आफ्नो साहसले व्यवसायमा जोडिए । सुरु पनि गरे । तर सफल हुने नहुने उनको हातमा थियो । भाग्यमा थिएन । उनले कर्म गर्ने हातलाई विश्वास गरे । त्यसमा सही थाप्ने काम सरकारले पनि गरिदियो ।
उनले अनुदान पाइन्छ भन्ने सुनेका थिए । लिएका थिएनन् । व्यवसाय सुरु गरेपछि बागमती प्रदेश सरकारसँग अनुरोध गरे । बागमती प्रदेश सरकारको कृषि मन्त्रालय अन्तर्गतको बंगुरपालन विकास तथा विस्तार कार्यक्रमबाट पाँच लाख अनुदान पाए ।
उनले सजिलै पाउँछु भन्नेमा विश्वास गरेका थिएनन् । तर व्यवसाय गरेको सबै कागजात पेश गरेपछि पाए । धेरै भनसुन गर्नुपरेन । उनलाई व्यवसायमा आँट मिल्यो । परिश्रम गर्न बल पुग्यो । बंगुरपालन फस्टायो । त्यही व्यवसायबाट उनले भैँसी व्यवसाय पनि सुरु गरे ।
बंगुरकै नजिक फार्म बनाएर बाख्रा पाल्न पनि थाले । हाँस पनि थपे । व्यवसाय झन् फस्टायो । कृषि अनुदानले व्यवसाय गर्न आँट पलाउने उनको विश्वास छ । तर यसका लागि सही किसानले अनुदान पाउनुपर्छ ।
‘अनुदान पाइन्छ भन्ने सुनेको थिए । तर पाएको थिएन । एकपटक प्रयास गरेपछि मिल्यो’ उनले भने, ‘धेरै आलोचित र विवादित बनेको भएपनि अनुदान पाएपछि मलाई व्यवसाय गर्न आँट मिल्यो । यो राम्रो कुरा रहेछ । तर सही किसानले अनुदान पाउनुपर्छ ।’
खुर्कोटमा राम्रो व्यवसाय गरिरहेका माझीले अहिले होटल पनि सुरु गरेका छन् । लकडाउनले गर्दा होटल व्यवसाय राम्रो नचले पनि यसले विस्तारै गति लिने उनको विश्वास छ । बंगुर, बाख्रा, भैँसी, केही हाँस तथा कुखुरा पालन व्यवसायबाट उनको आम्दानी अहिले लाखौ हुन्छ । त्यसमाथि होटल पनि थापेका छन् । होटल राम्रोसँग चलेमा उनी वार्षिक आधा करोड बराबरको कारोबार गर्ने सुरमा छन् ।
जागिरको भर पर्नुभन्दा व्यवसाय गरेमा आम्दानी मात्रै नभई आफ्नो आवश्यकता र अरुलाई रोजगारी दिन सकिने पाठ पनि माझीले सिकेका छन् । तर यसका लागि सरकारले अनुदान वितरण प्रक्रिया पारदर्शी गर्नुपर्ने उनको सुझाव छ ।
‘जागिरभन्दा व्यवसाय राम्रो । तर सुरुमा गाह्रो पर्छ’ व्यवसाय गर्दाका चुनौति र अवसरबारे सारमा उनले भने, ‘सरकारले अनुदान दिएर सहज गर्नुपर्छ । तर त्यसका लागि पारदर्शी र सहज प्रक्रिया चाहिन्छ । भनसुन गर्नुपर्ने, कमिसन खुवाउनुपर्ने, नाताको हुनुपर्ने प्रवृत्तिको अन्त्य गरेपछि युवाहरु कृषि तथा पशुपालन व्यवसायमा क्रान्ति ल्याउन सक्छन् ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया