शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

अमेरिकन डलर देखाई ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ- अमेरिकन डलर देखाई ठगी गर्ने तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही बागमती नगरपालिका-१ घर भई हाल भक्तपुर जगाते भातेढिकुरे बस्ने ३० वर्षीय साजन भन्ने लाल बहादुर घिसिङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-३ घर भई हाल भक्तपुर ठिमी बस्ने २० वर्षीय सुनबहादुर तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई हाल भक्तपुर सुर्यविनायक कटुन्जे बस्ने २९ वर्षीय भिम बहादुर तामाङ रहेका छन् । 

भक्तपुर चाँगुनारायणबाट एक जना पीडिलाई गत भदौ २८ गते अमेरिकन डलर देखाई नेपाली नगद साट्दा फाइदा हुने भनि प्रलोभनमा पारी नगद ४० लाख रूपैयाँ ठगी गरी फरार रहेको घटनाको अनुसन्धानको क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुसमेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौँ जडिबुटीबाट पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले अमेरिकन डलर साट्ने भन्दै गत असोज २ गते धादिङ घर भई काठमाडौँ कलंकी बस्ने एक जना पीडितलाई काठमाडौँ स्युचार बोलाई नगद ७ लाख रूपैयाँ, काठमाडौँ नागार्जुन नगरपालिका-६ टौखेलबाट गत भदौ ३१ गते चितवन घर भएका एक जना पीडितबाट नगद ५ लाख रूपैयाँ, भक्तपुर सुर्यविनायकबाट गत साउन २० गते काठमाडौँ बागबजार बस्ने एक जना पीडितबाट नगद १० लाख रूपैयाँ र भक्तपुर गठ्ठाघरबाट गत चैत १३ गते काठमाडौँ तार्केश्वर नगरपालिका-२ बस्ने एक जना पीडितबाट नगद २ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । 

उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको जनाएको छ ।