शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

फिस सुट गेममा पैसाको हारजित हुने गरी जुवा खेल्ने खेलाउने सात जना पक्राउ

काठमाडौँ- फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा चीनको तिब्बतस्थित आम्दो घर भई हाल काठमाडौँ महानगरपालिका-६ बौद्ध फुलबारी बस्ने २४ वर्षीय सोनाम तामाङ भन्ने सोनाम, भारत बिहार प्रदेश बेङलोरू घर भई हाल काठमाडौँ बौद्ध टुसाल बस्ने जाम्पा खेदुप, चीनको तिब्बतस्थित ल्हासा घर भई हाल काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने ३० वर्षीय नोर्बु साम्देन, चीनको तिब्बतस्थित सिगाचे घर भई हाल काठमाडौँ बौद्ध टुसाल बस्ने २७ वर्षीय दासाङ, चीन सिचुवान प्रोभिन्सम शिनिउ टाउन घर भई हाल काठमाडौँ महानगरपालिका-२७ बस्ने ४५ वर्षीय चिनियाँ नागरिक विई चुनलिन, काठमाडौँ महानगरपालिका-६ सिमलटार बस्ने २८ वर्षीय तेन्जिङ नोर्बु शर्पा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-४ घर भई हाल काठमाडौँ महानगरपालिका-६ तिनचुली बस्ने ३५ वर्षीय लोप्साङ लामा रहेका छन् । 

काठमाडौँ महानगरपालिका-६ बौद्ध तिनचुली फुलबारी मार्गस्थित घरमा सोनम तामाङ समेतले सञ्‍चालन गरेको गेम जोन लेखिएको सटरमा फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने/खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेलाउने उपकरणसहित पक्राउ गरेको हो ।

उनीहरूको साथबाट फिस सुट गेम खेलाउने उपकरण १ थान, नेपाली नगद १२ लाख १ हजार रूपैयाँ, चाइनिज युआन ३ हजार १ सय, अमेरिकन डलर २ हजार र विभिन्न कम्पनीको मोबाइल ७ थान प्रहरीले बरामद गरेको छ । 

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको जनाएको छ ।