गण्डकीका विनाविभागीय मन्त्रीको जिम्मेवारी आज टुङ्गो लाग्दै
भौतिक मन्त्रालय पाउनुपर्ने दीपक मनाङेको अडान

पोखरा : गण्डकी प्रदेश सरकारका ४ विना विभागीय मन्त्रीहरुले आज जिम्मेवारी पाउँदैछन् । शुक्रबार नै जिम्मेवारी टुङ्गो लागेको भएपनि आइतबार मात्र उनीहरुलाई जिम्मेवारी दिन लागिएको हो । ‘शुक्रबारको बैठकले नै मन्त्रीको टुङ्गो लागेको हो, आइतबार पारेर गरौं भनेर आज गर्न लागेका हौं,’ सरकारका प्रवक्ता कुमार खड्काले भने ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री कुमार खड्काका अनुसार बजेटमाथि छलफल नसकिँदासम्मका लागि लक्षित गरी मन्त्रालय टुंग्याइएको छ । मुख्यमन्त्री नियुक्त भएकै दिन २९ जेठमा मुख्यमन्त्री पोखरेलले ४ मन्त्रीसहित सपथ लिएका थिए ।
कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात दीपक मनाङे मन्त्री बनेका छन् । तर अहिलेसम्म उनहरुको मन्त्रालय टुंगो लाग्न सकेको छैन । मन्त्रीहरुको विभाग टुंगो नलागेपछि बजेटमाथिको छलफल पनि अन्योलमा छ ।
स्रोतका अनुसार विवादित बनेका अर्थ र भौतिक मन्त्रालय बजेटमाथिको छलफलसम्मका लागि मुख्यमन्त्री आफैं राख्ने भएका छन् । अर्थ र भौतिक मन्त्रालयमा लामो समय किचलो भएको छ ।
अर्थ मन्त्रालय जनता समाजवादीलाई दिन मुख्यमन्त्रीले लिखित सहमति गरेका थिए । भौतिकमा माओवादीको दाबी छ । तर कांग्रेसले अर्थ जनता समाजवादीलाई दिन नचाहेपछि विवाद भएको हो ।
अरु मन्त्रीको पनि शुक्रबार कार्यविभाजन भएको छ । स्रोतका अनुसार मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने भएकी छन् । कांग्रेसका कुमार खड्काले तत्कालका लागि सामाजिक विकास मन्त्रालय लिनेछन् ।
स्वतन्त्र सांसद दीपक मनाङेलाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्रालय दिने भएका छन् । यद्यपि मनाङे त्यसमा असहमत छन् । आफूलाई सरकार गठनका बेला भौतिक दिने भनिएकाले भौतिक मन्त्रालय नै दिनुपर्ने उनको अडान छ । भौतिक नपाए सरकारमै नजाने उनको टिप्पणी छ । जनता समाजवादीका हरिशरण आचार्यले ऊर्जा तथा सिँचाई मन्त्रालय लिने भएका छन् ।
मुख्यमन्त्री पोखरेलले ४ गते विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका थिए । तर दलहरुबीच विवाद भएपछि उनले विना विभागीय मन्त्रीलाई जिम्मेवारी तोक्न र मन्त्रिपरिषद विस्तार गर्न सकेका थिएनन् ।
कांग्रेस, माओवादीले भौतिक तथा अर्थ र जनता समाजवादीले अर्थ दाबी गरेपछि गठबन्धनमा सहमति हुन सकेको थियो । कांग्रेसका १५, माओवादीका ११, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका दुई दुई सांसदको साथमा पोखरेल मुख्यमन्त्री बनेका थिए ।
मन्त्रालय भागवण्डामा किचलो आएपछि मुख्यमन्त्री तथा कांग्रेस सांसदहरु शीर्ष नेता भेट्न काठमाडौं गएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई लगायतका नेतालाई मुख्यमन्त्रीले भेटेका थिए । पाँच दलीय गठबन्धनका नेता भेटेर पोखरा फर्केपछि मन्त्रालय भागवण्डा गरिएको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया