१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी

बरहथवा (सर्लाही)- सर्लाहीको चुरेक्षेत्रमा पर्ने अत्रौलीका स्थानीयले डेढ दशकको प्रतीक्षापछि खानेपानीको सुविधा पाएका छन् । निर्माण आरम्भ भएको १५ वर्षपछि हरिवन नगरपालिका–२, अत्रौलीका झण्डै पौने तीन सय घरधुरीले खानेपानी सुविधा पाएका हुन् ।
चुरेको काखमा रहेको साविक अत्रौली गाविसका आधा दर्जन गाउँका स्थानीय पानीको चरम अभाव झेल्न बाध्य थिए । खानेपानीको सुविधा नहुँदा खोलाको पानी पिउनु परेको स्थानीय नवराज मैनालीले बताए ।
'पानीको कुनै विकल्प थिएन, १५ वर्षदेखि पानी खान पाइन्छ कि भन्ने आशामा थियौँ, घरघरमै धाराबाट पानी आउन थालेपछि भने सुविधा भएको छ,' उनले भने ।
यसभन्दा पहिले वर्षामा खहरे खोलाको धमिलो पानी पिउने गरेको अर्का स्थानीय पशुपति शर्माले सुनाए । हिउँदमा खोला समेत सुक्दा पानीको चरम अभाव भएको उनले बताए ।
तर, अहिले भने घरघरमै खानेपानीको धाराबाट पानी झरेपछि स्थानीय हर्षित भएका छन् । सङ्घीय सरकारको लगानीमा २०६६ साल देखि खानेपानी आयोजना सुरु भएको थियो । तर, पर्याप्त बजेट नपाउँदा अलपत्र पर्दै आएको आयोजना १५ वर्षपछि सम्पन्न भएको हो । यहाँका नागरिकलाई पानी खुवाउन सुरु भएको आयोजना ढिलोगरी पूरा भएको वडाध्यक्ष अर्जुनकुमार योञ्जनले जानकारी दिए ।
जनप्रतिनिधिको पहलमा नयाँ बोरिङ र पाइप लाइन विस्तार भएपछि करिब पौने तीन सय घरधुरीले तत्काल पानी उपभोग गर्न सुरु गरेका छन् । हरिवन नगरपालिका–२, का वडाध्यक्ष योञ्जनका अनुसार यस आयोजनालाई आर्थिक वर्ष २०७९/८० मा डिभिजन खानेपानी कार्यालय मलङ्गवाबाट नयाँ बोरिङका लागि बजेट प्राप्त भएको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा वडाको रु २० लाख र नगर उपप्रमुख हरिमाया घलानको योजनाबाट रु १० लाख बजेट विनियोजन गरी पाइप लाइन विस्तार गरिएको वडाध्यक्ष योञ्जनले बताए । आयोजनाअन्तर्गत दुई हजार लिटर बढी क्षमताको खानेपानी ओभरहेड ट्याङ्की यसअघि नै सङ्घीय सरकारको बजेटबाटै निर्माण सम्पन्न भएको छ ।
समयमै आयोजना निर्माण सम्पन्न नहुँदा एउटा बोरिङ निर्माण भएर काम नलाग्ने भएर खेर गएको थियो । पुनः नयाँ बोरिङ बनाएर पानी वितरण गरेको अत्रौली खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवजी महतोले बताए । हाल धमाधम घर–घरमा धारा जडान गरिरहेका उनले जानकारी दिए ।
यस आयोजनाबाट हरिवन नगरपालिका–२ का मिलनचोक, नयाँबस्ती, जिम्दार टोल, चिसापानी, थाङसिङ्गे टोल र तिनतले गाउँमा खानेपानीको सुविधा पुगेको छ । खानेपानीको समस्याबाट मुक्ति पाउँदा सारा गाउँलेले खुसी भएका स्थानीय हरि बहादुर क्याप्छाकीले बताए ।
हरिवन नगरपालिका–२, अन्तरगतको चुरेगाउँ खोरगाउँ र लालिभत्ती क्षेत्रमा समेत वडा कार्यालयले पाइप लाइन विस्तार गरिदिएपछि लालबन्दी खानेपानी तथा सरसफाइ संस्थाबाट करिब डेढ सय घरधुरीमा खानेपानी सुविधा पुगेको छ । खानेपानीको दिगो व्यवस्थापन हुँदा खानेपानीको समस्याबाट मुक्ति पाएको खोरगाउँ र लालभित्तीका स्थानीयको भनाइ छ ।

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

प्रतिक्रिया