दशैंअघि नै उखु किसानको रकम भुक्तानी हुन्छ : कृषिमन्त्री अधिकारी

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दशैंअघि नै उखु किसानको रकम भुक्तानी हुने बताएका छन् ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले उखु किसानहरूको दशैंअघि नै रकम उपलब्ध गराउन मन्त्रालयले गृहकार्य थालेको बताए । उखु किसानको १ अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी रहेको उनले जानकारी दिए ।
त्यस्तै दुग्ध किसानले पाउनु पर्ने बक्यौता रकम उपलब्ध गराउन सुरु भएको र भाद्र ८ सम्म मसान्तसम्म ३३ करोड ५७ लाख भुक्तानी भइसकेको बताए । बाँकी १ अर्ब २७ करोड ४३ रकम पनि छिट्टै सबै किसानको हात हातमा पुर्याइने र यसको दीर्घकालीन समाधान गरिने उनले जानकारी दिए ।
उनले स्थानीय उत्पादन नलिने तर बाहिरबाट उखु र उखुजन्य कुरा खरिदलाई निरुत्साहित गर्ने गरी कार्य गरिने जानकारी दिए । मन्त्री अधिकारीले व्यक्तिले उत्पादन गरेको वस्तु स्थानीय बजार र स्थानीय तहलाई, बढी भएको प्रदेश हुँदै संघीय सरकारले उत्पादित वस्तु खरिद गर्ने गरी बजारको अभावमा किसान आहत हुनुपर्ने अवस्थाको अन्त्य गर्न मन्त्रालय लागि परेको उल्लेख गरे ।
कृषकको वर्गीकरण गरी किसान कार्ड वितरण गरिनेछ । साथै किसानलाई प्रोत्साहन गर्न अनुदानलाई किसान सूचीकरणसँग जोडी प्रभावकारी बनाइने उनले बताए ।
त्यस्तै उनले कृषि विधेयक, संक्रामक पशु रोग विधेयक, पशु कल्याण विधेयक तथा बीउबीजन नियमावली मन्त्रालयबाट अगाडि बढाइने, साथै कृषि लगानी दशक फ्रेमवर्क कृषि विकास रणनीति तर्जुमान गर्ने धारणा राखे । रासायनिक मल खरिद प्रक्रियालाई छिटो र छरितो बनाउनुको साथै निजी क्षेत्रलाई पनि मल खरिद र वितरणमा सहभागी गराउने विषयमा आवश्यक गृहकार्य भइरहेको उनको भनाइ छ ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया