म्याग्दी जिल्ला अदालतमा स्वचालित पेसी लागू

म्याग्दी - यहाँको जिल्ला अदालतमा स्वचालित पेसी प्रणाली लागू गरिएको छ । गत साउन १ गतेदेखि लागू भएको सो प्रणालीबाट मुद्दाको पेसी तोक्न थालेपछि सेवाग्राहीलाई सहज भएको हो ।
स्वचालित पेसी लागू भएपछि कार्यसम्पादन छिटो, छरितो हुनाका साथै पेसी तोक्न सहज भएको अदालतका स्रेस्तेदार भोलाराज रेग्मीले बताए । उनका अनुसार अदालतमा दर्ता भएर अंश पुगेका मुद्दाहरू प्रणालीमा राखेपछि स्वचालित रूपमा पेसी चढ्ने भएकाले मुद्दाका पक्षविपक्षबीचमा पेसी तोक्दा हुने विवादको समस्यासमेत निरुपण भएको छ ।
अदातलले सुरु गरेको स्वचालित पेसी तोक्ने व्यवस्थाले न्यायलयप्रतिको विश्वास बढ्ने, कार्यसम्पादन र प्रगतिमा सुधार हुने, वार्षिक लक्ष्यप्राप्तिमा सहज हुने अपेक्षा गरिएको अदालतका स्रेस्तेदार रेग्मीले उल्लेख गरे । अदालतले मुद्दाको विषय, प्रकृति र सम्पादन गर्नुपर्ने अवधिअनुसार वर्गीकरण गरेर पेसी हुने दिनसमेत निर्धारण गरेको छ ।
आइतबार बालबालिकासम्बन्धी, सोमबार र मङ्गलबार छ महिनाभित्र टुङ्ग्याउनुपर्ने, बुधबार एक वर्षभित्र र बिहीबार दुई वर्षभित्र टुङ्गो लगाउनुपर्ने मुद्दाहरु हेरिने जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले जानकारी दिए । बालबालिकासँग सम्बन्धित र १८ महिना काटेका मुद्दाको हकमा प्राथमिकता दिएर काम गर्नुपर्ने भएकाले प्रणालीले सोहीअनुसार पेसी चढाउने गरेको उनले बताए ।
एक वर्षअघि सर्वोच्च अदालतले अभ्यास थालेको स्वचालित पेसी म्याग्दी जिल्ला अदालतमा पनि लागू गरिएको हो । न्यायपालिकाको रणनीतिक योजनाले सरल, सामान्य र विशेष गरेर मुद्दाको वर्गीकरण गरी सोअनुसार प्रणालीले मुद्दाको पेसी चढाउने गरेको न्यायाधीश पण्डितले बताए । यसअघि अदालतमा मुद्दा दर्ता भएपछि कर्मचारीद्वारा तारेख र पेसी तोक्ने गरिएको थियो ।
रासस

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया