सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

सम्पूर्ण बैंकिङ क्षेत्रलाई नकारात्मक असर पार्ने कामलाई बैंकिङ कसूर मान्‍नुपर्ने गभर्नर अधिकारीको सुझाव

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पूर्ण बैंकिङ क्षेत्रलाई नकारात्मक असर पार्ने कामलाई बैंकिङ कसूर मान्नुपर्ने सुझाव दिएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बैंकिङ कसूर तथा सजाय दोस्रो संशोधन विधेयकमाथि भएको छलफलमा क्रममा उनले बैंकिङ क्षेत्रलाई नकारात्मक रूपमा प्रचारबाजी गर्दा यस क्षेत्रमा धेरै समस्याहरू देखिने गरेको भन्दै यस क्षेत्रलाई नकारात्मक असर पार्ने कामलाई समेत बैंकिङ कसूर मान्नुपर्ने सुझाव दिएका हुन् ।

केही समयअघि ऋण तिर्नु हुँदैन भन्ने प्रचारका कारण बैंकलाई अप्ठ्यारो परेको देखिएको भन्दै यस कार्यको नियन्त्रण हुने गरी कानुन बन्नुपर्ने उनले बताए । अधिकारीले चेक अनादर विषय आफैँमा फौजदारी अभियोग भएकाले बैंकिङ कसूरको रूपमा परिभाषित गरिरहनु नपर्ने धारणा राखे । त्यस्तै उनले अहिलेको अवस्थामा उक्त विधेयकलाई पुनर्लेखन गर्न समेत सुझाव दिए ।

अधिकारीले बैंकिङ क्षेत्र असफल भए यसले सबै क्षेत्रमा ठूलो असर पार्ने भएकाले कानुनलाई समयसापेक्ष र बलियो बनाउनुपर्ने पनि बताए ।