सर्लाहीका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून, पठनपाठन प्रभावित

बरहथवा (सर्लाही)- सर्लाहीका अधिकांश विद्यालयमा न्यूनतम शिक्षक दरबन्दी अभावले पठनपाठन प्रभावित भएको छ । जिल्लाका अधिकांश विद्यालयमा न्यूनतमभन्दा पनि धेरै कम शिक्षक दरबन्दी छ । हाल जिल्लामा एक शिक्षक बराबर एक सय १७ जना विद्यार्थी छन् ।
शिक्षक दरबन्दी पर्याप्त नभएका कारण कक्षा ५ सम्मका विद्यार्थीलाई दुई जना मात्रै शिक्षकले पढाउनुपरेको गोडैता नगरपालिका–२ जयपुरमा रहेको जनता आधारभूत विद्यालयका प्रधानाध्यापक गर्बु महतोले गुनासो गरे । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार शिक्षकको दरबन्दी न्यूनतम आवश्यकताको पनि आधाभन्दा कम छ ।
जिल्लामा चार सय ४७ वटा सामुदायिक, एक सय ९८ वटा संस्थागत र ७२ वटा धार्मिक विद्यालय सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्रमुख तारापति खरेलले जानकारी दिए । शिक्षा समन्वयको तथ्याङ्कअनुसार प्राथमिकदेखि उच्च माध्यमिक तहसम्म एक हजार सात सय १० वटा स्वीकृत शिक्षकको दरबन्दी र छ सय ९३ वटा अनुदान राहत शिक्षक गरी कूल दुई हजार तीन सय ८८ वटा मात्र दरबन्दी कायम छ ।
विद्यार्थी र विद्यालयको अनुपातमा कम्तीमा जिल्लामा दुवै प्रक्रियाबाट न्यूनतम पाँच हजार तीन सय २७ वटा शिक्षक दरबन्दी आवश्यक रहेको कार्यालय प्रमुख खरेलले बताए । शिक्षक दरबन्दी अभावका कारण जिल्लामा अधिकांश विद्यालय सङ्कटमा परेका उनको भनाइ छ । 'आन्तरिक स्रोत जुटाउन सक्ने केही पालिकाले शिक्षक राखेका छन्, उनीहरूको अवस्था राम्रो छ । बाँकीको अवस्था नाजुक छ,' उनले भने ।
शिक्षक पर्याप्त नभएका कारण पठनपाठन प्रभावित भएको हरिपुर्वा नगरपालिकास्थित केशवर गरिब जनता माध्यमिक विद्यालयका छात्र राम विश्वास रायले गुनासो गरे । 'विद्यालयमा सधैं शिक्षकको अभाव छ । किताब पढ्नै नपाइ परीक्षा दिनुपरिरहेको छ,' उनले भने ।
जिल्लामा प्राविधिक धारतर्फ भने शिक्षक दरबन्दी न्यूनतम आवश्यकताअनुसार नै रहेको उनले बताए । पशु विज्ञान, बाली विज्ञान, कम्प्युटर, सिभिल इञ्जिनियरिङ गरेर जिल्लामा नौ वटा प्राविधिक धारतर्फ विद्यालय छन् । त्यसका लागि न्यूनतम आवश्यकताअनुसार ७३ वटा शिक्षक दरबन्दी छन् ।
त्यस्तै सुस्त श्रवणका लागि लक्षित विद्यालय पाँच, बौद्धिक अपाङ्गता भएकाका लक्षित तीन र न्यून दृष्टियुक्तका लागि एक विद्यालय सञ्चालन भइरहेका हुन् । १० वटा माध्यमिक विद्यालयमा नमूना कार्यक्रम सञ्चालन भइरहेको शिक्षा समन्वय कार्यालय मलङ्गवाका प्राविधिक सहायक सुनीलप्रसाद कुशवाहले जानकारी दिए ।
विसं २०५८ मा कायम भएको स्वीकृत शिक्षक दरबन्दी र विसं २०६७ मा कायम राहत अनुदान शिक्षक दरबन्दीकै भरमा विद्यालयमा पठनपाठन गराउनु परिरहेको बागमती नगरपालिका–२, घरहरामा रहेको जनबाल कल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाशबहादुर जिम्बाको भनाइ छ । त्यसयता विद्यालयको स्तरोन्नति तथा विद्यार्थीको अनुपातमा भएको वृद्धिका कारण थोरै दरबन्दीमा पठनपाठन सकसपूर्ण भएको उनले बताए ।
तीन वटै सरकार शिक्षा क्षेत्रमा भएको समस्या समाधानमा उदासीन देखिएको शिक्षासेवी तथा नागरिक समाजका अगुवा उग्रकान्त मिश्रले टिप्पणी गरे । नागरिकबाट बालबालिकाले न्यूनतम मात्रामा शिक्षक नपाउनु विडम्बना भएको उनको भनाइ छ ।
जिल्लामा सबै तहका गरी एक लाख ३४ हजार सात सय ९९ छात्रा र एक लाख ४२ हजार पाँच सय ६१ जना छात्र गरी कूल दुई लाख ७७ हजार तीन सय ६० जना छात्रछात्रा अध्ययनरत छन् । तराईका जिल्लामा प्रावि तहमा प्रतिशिक्षक ५० जना र मावि तहमा प्रतिशिक्षक अधिकतम ४० जना विद्यार्थी रहने सङ्घीय शिक्षा ऐनमा उल्लेख छ । रासस

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

प्रतिक्रिया