सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।
आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि पेस गरिएको प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा निर्णायार्थ पेस गरिँदा मुख्यमन्त्री शाहको प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो ।
सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले पेस गरेको प्रस्तावको पक्षमा ३६ मत परेको र यो सङ्ख्या प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण सङ्ख्याको बहुमत भएकाले मुख्यमन्त्रीले पेस गरेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
आजको बैठकमा प्रदेशसभा ४५ सदस्य सहभागी रहेकोमा मुख्यमन्त्रीको प्रस्तावको पक्षमा ३६, विपक्षमा आठ र तटस्थमा एक मत परेको थियो । स्वतन्त्र सदस्य डा तारा जोशीले तटस्थमा मत दिएका थिए ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीको प्रस्तावको पक्षमा र नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले विपक्षमा मत दिएका थिए ।
विपक्षी दल नेकपा (माओवादी केन्द्र) का ६ सदस्य र राप्रपाका एक सदस्य आजको बैठकमा अनुपस्थित थिए । यसअघि विश्वासको प्रस्ताव पेस गर्दै मुख्यमन्त्रीले प्रदेशको समृद्धि र विकासका लागि अब धेरै पर्खिने समय नभएको भन्दै प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिका दल र प्रदेशसभा सदस्यलाई सहकार्यका लागि आह्वान गरे ।
मुख्यमन्त्रीले भने, “दलगत सोचभन्दा माथि उठेर राजनीतिक स्थायित्व र समृद्धिका लागि विश्वासको मतका लागि आग्रह गर्दछु ।” प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता मानबहादुर धामीले प्रतिपक्षमा बसेर रचनात्मक काम गर्ने बताए ।
धामीले मुख्यमन्त्री शाहकै नेतृत्वको यसअघिको सरकारले विकासका योजना समानुपातिक रुपमा सञ्चालन नभएको भन्दै अबको कार्यकालमा प्रदेशमा समानुपातिक रुपमा विकासका योजना सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
प्रस्तावमाथि भएको छलफलमा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, नेकपा (एकीकृत समाजावदी) का प्रकाश रावल र स्वतन्त्र सदस्य डा तारा जोशीले बोलेका थिए ।
नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाह कांग्रेससहित एमाले, नागरिक उन्मुक्ति पार्टीका सदस्यको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यही साउन २० गते नियुक्त हुनुभएको थियो । सोही धाराको उपधारा (४) बमोजिम मुख्यमन्त्रीले आज विश्वासको मत लिएका हुन् । शाह दोस्रो पटक प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
यसअघि विसं २०७९ माघ २७ गते माओवादी केन्द्र नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समेत समर्थनमा उहाँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
केन्द्रमा फेरिएको समीकरणसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहले गत चैत २२ गते पदबाट राजीनामा दिएका थिए । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रको सभामुखबाहेक १०, एमालेको ११, नागरिक उन्मुक्ति पार्टीको सात, एकीकृत समाजवादी पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

प्रतिक्रिया