सोमबार १९ साउन, २०८२
Monday, August 04, 2025

विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्‍न कार्यक्रम गरी मनाइयो

काठमाडौँ- विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजाति संघसंस्थाहरूले संयुक्त रूपमा काठमाडौँमा सांस्कृतिक भेषभूषा, बाजागाजासहितको र्याली निकालेका थिए । काठमाडौँको भृकुटीमण्डपबाट सुरु भएको र्याली विभिन्न स्थानको परिक्रमा गर्दै कमलादी पुगेर समापन भएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघले यो वर्ष संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर भन्ने मूल नारासहित दिवस मनाएको हो । संयुक्त राष्ट्रसङ्घले भने स्वैच्छिक रूपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ ।

प्रत्येक वर्षको ९ अगस्टमा विश्व आदिवासी दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९४ मा विश्व आदिवासी दिवस मनाउने घोषणा गरेपछि संसारभरमा आदिवासी जनजातिले यो दिवस मनाउँदै आएका छन् । संयुक्त राष्ट्रसंघको महासभाले आदिवासी जनजातिको आधारभूत मानवअधिकार संरक्षण र सम्वर्द्धनका लागि सन् १९९५ देखि २००४ सम्म प्रथम आदिवासी दशक मनाउने निर्णय समेत गरेको थियो ।