सोमबार १९ साउन, २०८२
Monday, August 04, 2025

बागमती, विष्णुमती, धोबीखोलामा बहाब बढ्दै, उच्च सतर्कता रहन आग्रह

तस्विरः फाइल फोटो

काठमाडौँ-  काठमाडौँ महानगरपालिकाले नदीहरूमा बहाव बढेकाले उच्च सतर्कता रहन आग्रह गरेको छ । गए रातीदेखि परेको अविरल वर्षाका कारण बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते खोला तथा बागमतीका सहायक नदीमा पानीको बहाव बढ्दै गएपछि सचेत रहन आग्रह गरेको हो ।

‘निरन्तर वर्षाका कारण आज काठमाडौं भएर बग्ने वागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते खोला तथा बागमतीका सहायक नदीमा पानीको बहाव बढ्दैछ, आकस्मिक बहावको उच्च जोखिम छ, यसकारण उच्च सतर्कता आवश्यक रहन अनुरोध छ,' सूचनामा भनिएको छ ।

मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले विभिन्न ठाउँमा यतिखेर ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम बुधबारसम्म नै चल्ने भन्दै महाशाखाले ३४ जिल्लामा खतराको चेतावनी अर्थात् ‘रेड अलर्ट’ जारी गरेको छ। काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा भारी वर्षा भइरहेको छ ।