विदेश छाडेर गाउँमै रोजगार

सुर्खेत : गुराँस गाउँपालिकाका नरेन्द्र थापा तीन वर्षयता गाउँमै रोजगार गर्ने अवसर पाएका छन् । थापा गाउँमै सडक खन्ने र मर्मतको काम गर्छन् । आर्थिक अभावका कारण भारतमा काम खोज्दै जाने गर्थे । चाड-पर्व र खेतीबालीको सिजनबाहेकका समयमा उनी भारतमा जाने गर्थे । वर्षमा ६ महिनाभन्दा भन्दा बढी समय भारतमै बिताउन बाध्य उनी गाउँमै रोजगारी पाएकामा खुशी छन् । ‘गाउँमा रोजगारी मिलेको छ, यसमा हामी खुशी छौँ’ उनी भन्छन्, ‘आफ्नै ठाउँमा रोजगार मिलेपछि किन जानु अर्काको ठाउँमा ।’
थापा महिनामा २२ दिन काम गर्छन् । दैनिक पाँच सयका दरले मासिक ११ हजार रुपियाँ पाउँछन् । जसले घरखर्च चलाउन सहज भएको छ । त्यतिमात्र होइन, गाउँमै रोजगारी मिलेपछि खेतीपातीको काम समेत गर्न भ्याएका छन् । उनले भैँसी र बाख्राहरू समेत पालेका छन्, यसबाट उनको आम्दानी बढेको छ । उनले भैँसीको दूध र खसी बाख्रा बिक्री गरेर आम्दानी बढाएका छन् । ‘भारत भन्दा त गाउँमै काम गरेको फाइदा हुँदो रहेछ’ थापा भन्छन्, ‘घरको धन्दा पनि गर्न भ्याइएको छ, सबै आफन्तहरूसँगै बसेर काम गर्दा रमाइलो भएको छ ।’
त्यही गाउँका नरबहादुर भण्डारी पनि तीन वर्षयता गाउँ छोड्नु परेको छैन । गाउँमा सुरु भएको सडक निर्माणको काममा लागेपछि विदेश जान छाडेका हुन् । घर छोडेर भारतमा रोजगार गर्दा घरपरिवारलाई नरबहादुरको र नरबहादुरलाई पनि घरको विषयमा तनाव हुन्थ्यो । तर, आजभोलि गाउँमै रोजगार गर्ने र घरपरिवारसँग बस्न पाएकोमा उनले खुशी प्रकट गर्छन् । ‘घर-नजिकै काम मिलेपछि इण्डिया जान छोडको छु’ उनी भन्छिन्, ‘घरबाटै रोजगारी मिलेपछि घरको व्यवसायहरू गर्न पनि सजिलो भएको छ ।’
उनी हरेक दिन १० बजेदेखि चार बजेसम्म काम गर्छन् । त्यसबाहेकको समय घरको खेतीपाती र अन्य धन्दामा लागेका छन् । नरेन्द्र र नरबहादुर जस्तै गुराँस गाउँपालिकाका अधिकांश स्थानीयहरूलाई विदेश जान छोडेका छन् । उनीहरू गाउँमै हुने खानेपानी, सडकजस्ता विकास निर्माणका काममा संलग्न छन् । पालिकाले सडक कार्यदल र सिँचाइ कार्यदल गठन गरेर स्थानीय युवाहरूलाई विकास निर्माणको काममा लगाएपछि स्थानीयहरू विदेश जान छोडेका हुन् ।
गाउँपालिकाले तीन वर्ष अघि गाउँपालिकामा रहेका बेरोजगार भएका युवाहरूको लगत संकलन गरेर कार्यक्रम अघि बढाएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए । लगत संकलन गर्दा दुई हजार आठ सय जना युवाहरू भेटिए उनीहरूमध्ये पनि काम गर्न सक्ने र आर्थिक अवस्था कमजोर भएका मापदण्ड अनुसार काममा लगाइएको छ ।
गुराँस कार्यदल अन्तर्गतको सडक र सिँचाइको काममा एक सय ६० जनाले रोजगारी पाइरहेका छन् । अन्य बाँकीलाई मुख्यमन्त्री रोजगार र प्रधानमन्त्री रोजगार कार्यक्रममा राखिएको छ । हरेक वडामा १० भन्दा बढी योजनाहरू सञ्चालन भएको र त्यसमा स्थानीयहरूले नै रोजगारी पाइरहेको अध्यक्ष वलीले बताए । गाउँपालिकाले कार्यक्रम सुरुवात गरेपछि विभिन्न स्थानीय तहहरूले र प्रदेश सरकारले समेत यही कामको अनुसरण गरेको अध्यक्ष वली बताउँछन् ।गाउँमै रोजगार मिलेपछि स्थानीयहरूलाई विदेश जाने बाध्यता हटेको गाउँपालिकाका उपाध्यक्ष दिपा विसीले बताइन् । ‘स्थानीय स्तरमै बेरोजगार युवाहरूलाई रोजगार दिनु हाम्रो कार्यक्रमको उद्देश्य हो’ उनी भन्छिन्, ‘यसरी काम गर्दा विकास निर्माण र गाउँमै रोजगारी पनि सिर्जना भएको छ ।’
कार्यदलमार्फत विकास निर्माणका कामहरू गर्दा कम लागतमा निर्माण भएको वडा नम्वर पाँचका वडा अध्यक्ष सुरेन्द्रकुमार महतरा बताउँछन् । ‘यसरी कार्यदलमार्फत नै काम गराएपछि विकास निर्माणका कामहरू गुणस्तर देखिएका छन्’ उनी भन्छन्, ‘ठूला मेसिन लगाउनु भन्दै यसरी स्थानीयमार्फत काम गराउँदा काम प्रभावकारी पनि देखिएको छ ।’
यसरी कार्यदल बनाएर काम गरेपछि विकास निर्माणका काम प्रभावकारी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यले बताए । उनका अनुसार, यसरी काम गराउँदा स्थानीयलाई गाउँमै रोजगारी मिलेको छ ।

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

प्रतिक्रिया