पेट्रोल पम्प पुगेका अपांगता भएका चालक 'शौच' थामेर फर्कन्छन्
'धाराको टुटी चोर्नेदेखि प्यानमा प्याड हाल्ने सेवाग्राही'

काठमाडौँ- सर्वसाधारणको पहुँच पुर्याउँन काठमाडौँ महानगरले पेट्रोल पम्पका शौचालयलाई सार्वजनिक शौचालय बनाउने निर्णय गर्यो । पम्पमा विभिन्न खालका सेवाग्राहीहरू पुग्ने गरेका छन् ।
पेट्रोल पम्पमा सबैभन्दा बढी समस्यामा शारीरिक रुपमा असक्षम वा अपांगता भएका चालकहरू पर्ने गरेका छन् । महानगरभित्रका अधिकांश पेट्रोल पम्पमा सार्वजनिक शौचालय भए पनि अपांगमैत्री नभएको पाइएको छ ।
काठमाडौँ महानगरपालिकाले सम्बन्धित पेट्रोल पम्पलाई अपांगमैत्री शौचालय बनाउन निर्देशन दिइसकेको छ । पम्प सञ्चालकले पुराना संरचना भएका शौचालयलाई निरन्तरता दिँदा अपांगमैत्री हुन सकेको छैन । भएका शौचालय अपांगमैत्री, अशक्त तथा शारीरिक रुपमा कमजोर भएका सवारी चालकहरू पेट्रोल पम्प पुग्दा शौच गर्न गाह्रो हुने उनीहरूले बताउन थालेका छन् ।
अहिले महानगर भित्रका पम्पमा अपांगमैत्री शौचालय भेट्न गाह्रो छ । अपांगमैत्री शौचालय बनाउन सञ्चालकले समेत ध्यान दिएको देखिँदैन ।
पेट्रोल पम्पमा तेल हाल्न पुग्दा शौच आएमा आफूलाई सहज नहुने बताउँछन रमेश केसी । उनको चार चक्के स्कुटर छ । पम्पमा भएको शौचालयमा तत्कालै पुग्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।
‘शौचालय गर्न अप्ठ्यारो हुने भएकाले स्कुटरबाट झर्न नपरे हुन्थ्यो जस्तो लाग्छ । पेट्रोल हालेर म गइहाल्छु । पम्पमा भएका शौचालयको अवस्थालाई सम्झन्छु,’ केसीले भने, ‘पेट्रोल पम्पमा भएको शौचालय अपांगमैत्री छैनन् । त्यसैले घर नपुन्जेलसम्म दिसापिसाब लागे रोक्नबाहेक अरु उपाय छैन ।’
धेरै पम्पमा तेल हाल्न पुग्दा अपांगमैत्री शौचालय नभेटेको केसीको भनाइ छ ।
त्यसैगरी, अर्का चार चक्के स्कुटर प्रयोगकर्ता अपांग महासंघमा कार्यरत कर्मचारी नवीन बस्नेत महानगरपालिका भित्रका पेट्रोल पम्पहरूमा शौचालय प्रयोग गर्ने खालको नभएको बताउँछन् । पम्पमा पुग्दा हामीलाई अन्य सामान्य मानिसको जस्तो नहुने उनले बताए ।
पेट्रोल पम्प सञ्चालकले अपांगमैत्री शौचालय बनाउनुपर्ने उनले धारणा राखे । उनी भन्छन्,’ पम्पमा तेल हाल्न पुग्दा कतिपय अवस्थामा शौचालय नगरी फर्केको छु । धेरै पटक शौच थामेर फर्केको छु । सामान्य व्यक्तिले जस्तोसुकै शौचालयमा गरे पनि हुने तर हाम्रो लागि धेरै गाह्रो छ ।‘
पम्पका शौचालय अगाडि देखिने स्थानमा राख्न उनले सुझाव दिए । पम्पको निर्माण थोरै स्थानमा भएकाले शौचालय केही पर तथा भवन पछाडि राखिएको उनले उल्लेख गरे ।
काठमाडौँ महानगरका नगर प्रहरी बद्रीमान नगरकोटीले महानगरपालिकाभित्र सञ्चालित पम्पमा शौचालय अपांगमैत्री नभएको बताए । धेरै ठाउँमा अपांगमैत्री शौचालय नभएको उनले जानकारी दिए ।
पुराना-पुराना शौचालय भएकाले नयाँ अपांगमैत्री शौचालय बनाउन नसकेको नगरकोटीको भनाइ छ । पम्पमा शौचालय छ । अपांगमैत्री शौचालय छैन,’ उनले भने,’ नयाँ बनेको पम्प र शौचालयमा अपांगमैत्री संरचना बनेका छन् ।‘
उनका अनुसार मकालु र सीता पेट्रोल पम्पले अपांगमैत्री संरचना बनाएका छन् । अन्य केही पम्पले पनि अपांगमैत्री बनाउन थालेका छन् । काठमाडौंमा ४८ वटा पेट्रोल पम्प सञ्चालनमा छन् । महानगरको डाटामा भने ५० वटा पम्प छन् ।
पेट्रोल पम्प सञ्चालकलाई अपांगमैत्री शौचालय निर्माण गर्न निर्देशन दिएको उनको भनाइ छ । ‘सञ्चालकले विस्तारै बनाएर लैजानुहुन्छ भन्ने आशा गरेका छौ,’ उनले अगाडि थपे ,'अधिकांश शौचालयको अनुगमन गर्दा सफाइको अवस्था सन्तोषजनक रहेको थियो । पानी नभएको र केही ठाउँमा शौचालय निर्माण हुँदै गइरहेको छ ।'
अनुगमनको क्रममा तीन ठाउँको शौचालय फोहोर रहेको पाइएको उनले जानकारी दिए । बल्खुको साझा पेट्रोल पम्प, सानो भर्याङको बंगलामुखी पेट्रोल पम्प र ढल्कुको नेवा फ्युल सेन्टरको शौचालयमा फोहोर भेटिएको उनले उल्लेख गरे ।
तीनकुनेस्थित भ्यालीबाबा पेट्रोलपम्पका सञ्चालक राजकुमार साहले पेट्रोल पम्पको जग्गा साँघुरिदै गएकाले शौचालयको आवश्यक संरचना निर्माण गर्न नसकिएको बताए । उनका अनुसार ठाउँ अभाव हुँदा अपांगमैत्री बनाउन नसकिएको उनको ठहर छ । आजसम्म पम्पमा अपांगता भएका व्यक्तिहरू तेल हाल्न आएको थाहा छैन ।
अपांगमैत्री शौचालय बनाउनु पर्ने अवस्था आएमा पम्प तयार रहेको उनको भनाइ छ । ‘महानगरले भने अनुसार शौचालय बनाएका छौ,’ उनले भने,’ महानगरले भने बमोजिम शौचालय खुला राखिन्छ । ढोकामा चाबी लगाइएको छैन । ‘
शौचालयमा पानी र भाँडा राख्दा पनि सेवाग्राहीले सफा नगरेकोमा उनले गुनासो गरे । कुनै सेवाग्राहीले फोहोर गर्यो त्यसलाई हामीले सिसी क्यामेराबाट हेर्न नमिल्ने उनले प्रस्ट पारे ।
अर्का पम्प सञ्चालकले सेवाग्राहीले शौचालय प्रयोग गरेर त्यसको संरक्षण गर्न नसकेको गुनासो गरे । सेवाग्राहीले धाराको टुटी चोरेर लैजाने गरेको उनले बताए ।
महिला सेवाग्राहीले प्याड शौचालयको प्यानमा हालिदिने गरेको उनले गुनासो गरे । अनावश्यक पानी प्रयोग गरेर र पानीको धाराहरू खुला गरेर जाँदा शौचालयको अभाव हुने गरेको उनले सुनाए ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया