देशभर फैलियो हैजा, के-के हुन् लक्षण र रोकथामका उपाय ?

काठमाडौँ- यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिए ।
उनले सहरी क्षेत्रमा बढ्दो जनधनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने नकारात्मक असरका कारण नेपालमा हैजाको सङ्क्रमण देखिने गरेको बताए ।
अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने, वान्ता हुने र कडा जलवियोजन हुने गर्दछ ।
सङ्क्रमणले गम्भीर अवस्थामा पुर्याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ्ग पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए ।
'हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपुर्याए ५० प्रतिशतको मृत्यु हुने सम्भावना हुन्छ । हैजा सङ्क्रमितमध्ये ८० प्रतिशतमा कुनै लक्षण विकसित हुँदैन तर उनीहरूको दिसामा पहिलादेखि १० दिनसम्म भिब्रियो कोलेरा ब्याक्टेरिया रहन सक्छ र लक्षण देखिएकामा पनि ८० प्रतिशतलाई मन्ददेखि मध्यमस्तरको लक्षण देखिन्छ । २० प्रतिशतलाई चौलानी जस्तै दिशा हुने र पानीको अभावजस्ता तीव्र लक्षण देखिन्छन्', उनले भने ।
झिगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुलास्थानका खाद्यपदार्थ नखान, पानीलाई उमालेर वा क्लेरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुका साथै दिशापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात हुन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
हैजा के हो, कसरी लाग्छ ?
यो गम्भीर प्रकृतिको झाडापखाला हो । यो भिब्रियो कलेरा नामक जीवाणुका कारण लाग्छ । हैजा लागेमा निरन्तर पातलो चौलानीजस्तो दिसा लाग्छ । जसकारण शरीरमा सोडियम, क्लोराइड (इलेक्ट्रोलाइट्स) जस्ता तत्वहरूको अभाव हुन्छ । समयमै उपचार नभएमा बिरामीको ज्यानै पनि जान सक्छ ।
यसमा पेट दुख्ने र ज्वरो आउने जस्ता लक्षणहरू देखिँदैन । हैजा लागेका प्रत्येक १० व्यक्तिमध्य एक जनामा गम्भीर प्रकृतिको लक्ष्यण देखिने गर्दछ । लक्षण बिनै संक्रमण भएको व्यक्तिमा दिसामार्फत निरन्तर जीवाणु बाहिर निस्किन्छ ।
लक्षणहरू
संक्रमण भएको केही घण्टादेखि पाँच दिन भित्र यसका लक्ष्यणहरू देखिन्छन् । हैजा लागेका व्यक्तिमा यस्ता लक्षणहरू देखिन्छन् :
– निरन्तर अधिक पातालो दिसा लाग्नु
– पटकपटक वान्ता आउनु
– पेट वा खुट्टाको मासपेशी बाउडिनु
– आँखा गढ्नु, छाला चाउरी पर्नु
– धेरै तिर्खा र थाकान लाग्नु
– धेरै कमजोरीका कारण वेहोस हुनु
रोकथामका उपाय
– सरसफाइमा ध्यान दिने
– संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा सावधानी अपनाउने
– फोहोरमैलाको व्यवस्थापनमा ध्यान दिने
– खाना खानु अघि र शौचालयको प्रयोग गरेपछि साबुन पानीले हात धुने
– सकेसम्म उमालेको पानी पिउने
– फलफुल तथा तरकारीको प्रयोग गर्नु अघि सफा पानीले पखाल्ने
– पानीको मुहान सफा राख्ने
– शौचालयमा मात्र दिसापिसाब गर्ने
उपचार
– पुनर्जलीय झोलको सेवन गर्ने
– चिकित्सकको परामर्श लिने
हैजा फैलिएको स्थानमा जो कोहीमा संक्रमणको जोखिम उच्च हुन्छ । यस्तो अवस्थामा समुदायस्तरमै हैजाविरुद्धको खोप दिएर स्थितिलाई नियन्त्रण गर्न सकिन्छ ।

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया