बारेकोटको लक्ष्य : सबै घरमा खानेपानी, सुत्केरीलाई निःशुल्क यातायात

काँक्रेविहार (सुर्खेत)- जाजरकोटको बारेकोट गाउँपालिकाले मानव र पशु घर अलग बनाउनेदेखि गर्भवती तथा सुत्केरीलाई निःशुल्क यातायात सेवासम्मका नीति कार्यान्वयनलाई तीव्रता दिएको छ । ‘मानव, पशु अलग घर’ कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा यी कार्यलाई निरन्तरता दिएको हो ।
मानव र पशुचौपाया एकै घरमा रहँदा मानव स्वास्थ्यमा समस्या पर्न सक्ने भन्दै गाउँपालिकाले यो नीति लिई काम थालेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए ।
वर्षौँदेखि पशुचौपाया र मानिसहरू एकै घरमा रहँदै आएकामा यसले स्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै अब पशुघर (गोठ) अलग बनाउनुपर्ने नीति कार्यान्वयनमा ल्याइएको उनले बताए । स्वास्थ्य तथा सरसफाइका हिसाबले पनि यो सकारात्मक पहल रहेको उनको भनाइ छ ।
आर्थिक अवस्था कमजोर भएका, गोठ अलग बनाएर पशुपालन गर्न नसक्ने स्थानीय पालिकाले सहयोग गर्ने जनाएको छ । विद्यार्थीलाई सुरक्षित रूपमा बस्नका लागि ५१ वटा सामुदायिक विद्यालयमा फर्निचर उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।
सडक निर्माणमा सक्रियता
पालिकाले आर्थिक वर्ष २०८०/८१ मा दुई हजार तीन सय ५० मिटर नयाँ सडक निर्माण गरेको प्रगति विवरणमा उल्लेख छ । दुई हजार पाँच सय मिटर सडक स्तरोन्नति, एक सय ५० मिटर सडक आरसिसी ढलान गरिएको अध्यक्ष गिरीले जानकारी दिए । उनका अनुसार ५० मिटर सडकमा मेसिनरीवाल र एक हजार पाँच सय ७० ठाउँमा ग्याविन जाली लगाइएको छ ।
'पालिकामा विद्युतीकरण गर्न ५० ठाउँका सडकको छेउछाउमा फलामे पोल गाडेर विद्युत् सेवा सञ्चालन गरिएको छ । भेरी करिडोरबाट नलगाड नगरपालिका हुँदै आउने खण्डले बारेकोटलाई जोड्दछ,' अध्यक्ष गिरीले भने, 'खलङ्गा हुँदै कुशे गाउँपालिकाको पाँचकाटियाँबाट नलगाडका केही वडा जोड्दै बारेकोटको रामीडाडाँबाट अर्को सडक जोडिन्छ । बारेकोटको सबै पालिकामा यातायातको पहुँच विस्तार भएको छ ।'
सुत्केरीलाई निःशुल्क यातायात सेवा
गाउँपालिकाले यहाँका सबै सुत्केरीलाई सही समयमा स्वास्थ्य संस्था पुग्नका लागि एकतर्फी यातायात सेवा निःशुल्क गरेको छ । एक ठाउँबाट अर्को ठाउँमा जान धेरै समय लाग्ने, असहज परिस्थितिलगायत कारणलाई ध्यान दिँदै पालिकाले सुत्केरीलाई स्वास्थ्य चौकी पुग्न समस्या नहोस् भन्ने उद्देश्यले निःशुल्क यातायातको व्यवस्था गरिएको अध्यक्ष गिरीले जानकारी दिए । सुत्केरीलाई पालिका बाहिर लिएर उपचार गर्नुपरेमा एकतर्फी यातायात दर्च पालिकाले व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
पालिकाले मातृ तथा नवशिशु मृत्युलाई शून्यमा झार्ने उद्देश्यसहित सुत्केरी ओसारपसार गर्न निःशुल्क प्रसूति सेवा एम्बुलेन्स प्रदान गर्ने नीति लिएको छ ।
सुत्केरीलाई न्यानो कपडा र पोसिलो खाना उपलब्ध गराउन पालिकाले यस्तो व्यवस्था गरेको स्वास्थ्यकर्मी राममाया गिरीले बताइन् । प्रदेश सरकारसँगको समन्वयमा पालिकाले गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी नागरिकको स्वास्थ्य अवस्था जाँच्ने नीति लिएको छ ।
दीर्घरोगी र जटिल प्रकृतिका रोग लागेर उपचार गर्न नसक्नेलाई आर्थिक सहायता उपलब्ध गराउने नीति लिइएको बताउँदै अध्यक्ष गिरीले पालिकाको कार्यविधिमा भएको व्यवस्थाअनुसार सहयोग गरिने उल्लेख गरे । यातायातको सहज पहुँच वृद्धिसँगै नागरिकको उपचारमा पहुँच पुर्याउन यस्तो नीति लिइएको उनको भनाइ छ ।
खानेपानीका मुहान संरक्षणमा जोड
बारेकोट–१, २, ५ र ७ मा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत चार सय ६५ घरमा धारा जडान गरेको तथ्याङ्क पालिकाले प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ । चालु आवमा पालिकाका सबै ठाउँमा खानेपानीका धारा पुर्याउने योजना सफल बनाइने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले पानीका मुहान संरक्षण गर्ने नीतिसमेत अवलम्बन गरेको छ । ठाउँठाउँमा सडक निर्माण तथा जङ्गल फँडानी भएपछि पिउने पानीका मुहानमा समस्या परेको भन्दै पालिकाले मुहान संरक्षणका लागि नीति बनाई काम थालेको अध्यक्ष गिरीले जानकारी दिए । 'जल उत्पन्न प्रकोप व्यवस्थापन नीति पालिकाले निर्माण गरेको छ । पालिकाले सबैका घरमा शुद्ध पानी पिउने वातावरण सिर्जना गर्न लागेका छौँ,' उनले भने ।
प्रथम पञ्च वर्षीया योजना पूरा भएको जनाउँदै अध्यक्ष गिरीले अधुरा काम कार्यान्वयन गर्न नयाँ योजना निर्माण गरिने बताए । बारेकोटमा नलगाड जलविद्युत् आयोजना निर्माण स्थलका साथै नलगाड नदीको उद्गम स्थल पर्दछ । जङ्गल, जमिन र जडीबुटीको सम्भावना रहेको बारेकोट जिल्लाकै उत्कृष्ट पर्यटकीय स्थलमा रूपमा परिचय बनाउँदै आएको छ ।
कुल ४९ करोड २३ लाख रकम बजेट विनियोजन गरेको बारेकोट गाउँपालिकाले हालसम्म २१ ऐन, एउटा नियमावली, ३४ कार्यविधि, १४ निर्देशिका र तीनवटा नीति निर्माण गरेको जानकारी दिएको छ । अन्य कानुन निर्माण जारी रहेको अध्यक्ष गिरीले जानकारी दिए । रासस

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया