सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन सुरु

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत पहिलो बैठक कारबाही आजदेखि सुरु भएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) लगायतका दलले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले आज दिउँसो २ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका थिए ।
बैठकको कारबाही प्रारम्भ गर्दै सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा वाचन गरेर अर्को सूचना प्रकाशित नभएसम्म आजको बैठक स्थगित गरिएको जानकारी दिए ।
प्रदेशसभा सचिवालयका उपसचिव तेजप्रकाश जोशीले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वनसम्बन्धी प्राप्त पत्रमा अधिवेशन बोलाउनुपर्ने कारण नखुलाइएकाले आज पहिलो बैठक सुरु भए पनि थप कारबाहीअघि नबढेको बताए ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णय बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वान गर्नुको कारण खुलेर आएपछि सोही बमोजिम बैठकका कारबाहीअघि बढ्ने जोशीले बताए । केन्द्रमा समीकरण फेरिएसँगै गत असार २३ गते नेकपा (एमाले) प्रदेश सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) का नेता दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
योसँगै गत असार १ गते प्रदेशसभामा प्रस्तुत आव २०८१/८२ को बजेट पारित हुन सकेको छैन । कामचलाउ सरकारले अध्यादेशमार्फत बजेट ल्याउने प्रयास गर्दा कांग्रेस, एमालेसहितका दलले प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष निवेदन दिएका थिए ।
सरकारको सिफारिसमा प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरिएको दोस्रो दिन यही साउन ४ गते प्रदेशसभाका सदस्यको माग बमोजिम प्रदेश प्रमुखले अर्को अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेशसभामा प्रस्तुत बजेटमाथि छलफल गरी समयमै पारित गर्न ढिलाइ गरिएको, अध्यादेशमार्फत पनि बजेट नल्याइएपछि आव २०८१/८२ सुरु भएको दिनदेखि प्रदेश सरकार मातहतका निकायको राजस्व सङ्कलन र खर्च गर्ने कार्य ठप्प छ ।
कांग्रेस, एमालेलगायत दलले प्रदेशलाई बजेट शून्यताको अवस्थामा पुर्याइएको भन्दै विरोध गर्दै आएका छन् । कूल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, नेकपा (एमाले) का ११, नेकपा (माओवादी केन्द्र) का सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

प्रतिक्रिया