सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

ओलीका गलत कदमलाई सर्वोच्चले सच्याउनु स्वागतयोग्य : पौडेल

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको जथाभावी निर्णय रोक्दै संविधानको बाटोमा डोर्‍याउने काम गरेको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशले संविधानमाथिको प्रहारलाई  सही बाटोमा लौजान ओलीलाई ‘करेक्सन’ गरेको बताए ।

मन्त्रिपरिषद् विस्तारको आदेश बदर गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशबारे उनले भने, ‘ओलीका गलत कदमलाई सर्वोच्चले सच्याउनु स्वागतयोग्य छ । चुनाव घोषणा गरेको प्रधानमन्त्रीले सरकार विस्तार गर्ने कार्य कही कतै हुँदैन ।’ 

प्रधानमन्त्री ओलीले संविधानलाई नै कुल्चेर हिँडेकाले उनलाई सच्याउने काम भएको भन्दै यो आदेशलाई स्वागतयोग्य भन्दै उनले थपे, ‘सर्वोच्चले नेपाली जनताले बनाएको संविधानको पक्षमा निर्णय गरेको छ । यो राम्रो कुरा हो । प्रधानमन्त्रीले संसद् बाहिर रहेर निकास खोज्ने काम गरेकाले पनि त्यसलाई सच्याउन यो आदेश आवश्यक थियो । जुन आयो ।’

संविधान र लोकतन्त्रका पक्षमा नेपाली कांग्रेसले उठाउँदै आएको धारणा पनि यही हो, जुन सर्वोच्चले सावित  गरिदिएको छ भन्दै उनले अन्तरिम आदेशप्रति खुसी व्यक्त गरे ।