मंगलबार १३ साउन, २०८२
Tuesday, July 29, 2025

बजेटलाई सन्तुलनमा ल्याउने काम भइरहेको छ : मुख्यमन्त्री कार्की

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटलाई सन्तुलनमा ल्याउने काम भइरहेको बताएका छन् ।

बिहीबार प्रदेशको सामाजिक विकास मन्त्रालयले विराटनगरमा आयोजना गरेको लैङ्गिक रुपान्तरणकारी दृष्टिकोण तथा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी कार्यक्रममा बोल्दै उनले यसअघि बजेट निर्माण गर्दा जानेर वा नजानेर गल्ती भएको भन्दै अहिले सन्तुलनमा ल्याउने काम भइरहेको बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको संरचना र पूर्वाधार निर्माणमा अत्यधिक समय र साधन श्रोत खर्चिनुपर्ने अवस्था भएकाले लैङ्गिक उत्तरदायी बजेट निर्माण हुन नसकेको बताए ।

लैङ्गिक रुपान्तरणका लागि लैङ्गिक उत्तरदायी बजेट ल्याउने कुरामा प्रदेश सरकार सचेत रहेको उनले बताए ।

त्यस्तै कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले महिला अधिकार सुनिश्चित गर्न महिलाको नेतृत्व अपरिहार्य रहेको धारणा राखिन् । पूर्वसचिव कृष्णहरी बास्कोटाले लैङ्गिक उत्तरदायी बजेट ल्याउने कार्य २०६४ सालको बजेटबाट सुरु भएको र यसबाट मुलुकको दिगो विकास सूचकांक सुधार गर्न प्रभावकारी भूमिका खेल्ने बताए ।