बागमती प्रदेशको बजेट खर्चै हुन सकेन

हेटौंडाः बागमती प्रदेशले चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा ४६.०५ प्रतिशत बजेट खर्च गरेको छ । ४८.६५प्रतिशत चालू खर्च र ४२ प्रतिशत मात्रै पुँजिगत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालू वर्षमा ५१ अर्ब ४३ करोड बजेट ल्याएको प्रदेश सरकारको जेष्ठ मसान्तसम्म बजेट खर्च २३ अर्ब ६८ करोड ३३ लाख ३१ हजार ४९ रुपैयाँ पुगेको हो । बागमती प्रदेशले असार महिनामा मात्र २८ अर्बभन्दा बढी खर्च गर्नुपर्ने देखिन्छ । तर यो सम्भव छैन ।
प्रदेश सरकारले चालू वर्षको पहिलो चौमासिकमा ८.११ प्रतिशत अर्थात ४ अर्ब १६ करोड बजेट खर्च गरेको थियो । यस्तै दोस्रो चौमासिकमा २५.३५ प्रतिशत बजेट खर्च गरेको थियो । ११ महिनाको अवधिमा समेत प्रदेश सरकारको खर्च बजेटको आधा पनि नभएको प्रदेश लेखा नियन्त्रक कार्यालय बागमती प्रदेशको सुचना अधिकारी राजेन्द्र पाण्डेले बताए । उनका अनुसार यो वर्ष मात्र नभएर यसअघिका वर्षहरुमा प्रदेश सरकारको पुरा बजेट खर्च हुन सकेकोे छैन ।
अघिल्लो आव ०७६/७७ मा प्रदेशले ५९.८ प्रतिशत बजेट खर्च गरेको थियो । यो वर्षमा ६० प्रतिशत बजेट खर्च हुनसक्ने अनुमान गरिएको छ । यसअघिका वर्षहरुमा ६० प्रतिशत भन्दा बढी खर्च हुन सकेको छैन । आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारले ५७ अर्ब ७२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेश सरकारले वषैपिच्छे बजेटको आकार बढाउँदै लगेको छ ।
तर बजेट खर्च भने बढाउन सकेको छैन । बागमती प्रदेशले पहिलो बजेट १ अर्ब २ करोडको ल्याएको थियो । कुल बजेटको २६.४१ प्रतिशत मात्रै खर्च भयो । जुनबेला प्रदेश सरकार जन्मिएको थियो । त्यसबेला प्रदेशले बजेट खर्च गर्न आवश्यक कुनै कानुन बनाएको थिएन । कर्मचारी पनि अपूग थियो । तर आजको अवस्थामा प्रदेशमा कर्मचारी अपूग छैनन् । कर्मचारी आवश्यकता पूर्ति गर्न प्रदेश लोक सेवा आयोग छ । बजेट खर्च गर्न आवश्यक ऐन बनिसकेका छन् । तर पनि प्रदेश सरकारले ल्याउने बजेटको आधा मात्रै खर्च हुँदै आएको छ । सरकारले एक वर्षको लागि ल्याएको बजेट समयमा खर्च गर्न नसक्दा थुप्रै योजनामा छुट्टाइएको बजेटहरु फ्रिज हुने गरेका छन् ।
थोरै बजेट पाउने मन्त्रालयको खर्च
बागमती प्रदेशको मन्त्रालयगत खर्च सन्तोषजनक छैन । प्रदेशमा थोरै बजेट ३ मन्त्रालयलाई विनियोजन हुने गरेको छ । चालू वर्षको जेष्ठ मसान्तसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १७.९५ प्रतिशत मात्रै खर्च गरेको छ । मुख्यमन्त्री कार्यालयलाई विनियोजन भएको ७७ करोड ३० लाख मध्ये हालसम्म १३ करोड ८७ लाख रुपैयाँ मात्रै खर्च भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयलले हालसम्म ३० प्रतिशत बजेट खर्च गरेको छ ।
१६ करोड ५ लाख बजेट विनियोजन भएको मन्त्रालयले हालसम्म ४ करोड ९० लाख मात्र खर्च गरेको छ । यसैगरी आन्तरिक मामिला तथा योजना मन्त्रालयले ३६.४१ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयलाई विनियोजन भएको ८८ करोड मध्ये ३१ करोड ८२ लाख मात्र खर्च भएको हो । मन्त्रालयको मातहतमा कुनै कार्यालय नभएपनि प्रदेश प्रहरीको पूर्वाधार लगायतको क्षेत्रमा मन्त्रालयले खर्च गर्दै आएको छ ।
बढी बजेट छुट्टाइएको ४ मन्त्रालयको खर्च
बागमती प्रदेशको ४ मन्त्रालयलाई सबैभन्दा बढी बजेट छुट्टाइदै आएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई प्रत्येक वर्ष बढी बजेट छुट्टाइने गरेको छ । मन्त्रालयलाई चालू वर्षमा १९ अर्ब ७५ करोड बजेट विनियोजन भएको थियो । तर मन्त्रालयले त्यसको ४९.०३ प्रतिशत अर्थात ९ अर्ब ६८ करोड रुपैयाँ जेष्ठ मसान्तसम्म खर्च गरेको छ । यो मन्त्रालयले प्रदेशको सबै मन्त्रालयभन्दा बढी खर्च गरेको छ ।
यस्तै सामाजिक विकास मन्त्रालयले ४२.६४ प्रतिशत बजेट खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब ९५ करोड विनियोजन भएकोमा २ अर्ब ९६ करोड मात्रै हालसम्म खर्च गरेको छ । यस्तै भूमि व्यवस्था तथा कृषि मन्त्रालयले ११ महिनामा ३१.१५ प्रतिशत मात्रै खर्च गरेको छ । ३ अर्ब ७७ करोड बजेट विनियोजन भएको उक्त मन्त्रालयले १ अर्ब १७ करोड मात्रै खर्च गरेको हो । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले भने ३२.२ प्रतिशत खर्च गरेको छ । ३ अर्ब ८९ करोड बजेट विनियोजन भएको मन्त्रालयको १ अर्ब २५ करोड मात्र खर्च भएको छ ।

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

प्रतिक्रिया