सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

कांग्रेसको भ्रातृ संघहरूको महाधिवेशन गर्न निर्देशक समिति

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले भ्रातृ संघहरूको महाधिवेशन गर्न निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ । कांग्रेसले भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक—फरक निर्देशक समिति गठन गर्ने निर्णय गरेको हो ।

निर्देशक समितिले भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्ने/गराउने छन् भने विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरुको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्नेछन् ।

सभापति शेरबहादुर देउवाले निर्देशक समितिहरूलाई २०८१ चैत्र मसान्तसम्म अनिवार्य रुपमा महाधिवेशन सम्पन्न गर्ने गरी कार्यादेश दिएका छन् भने सो अवधिसम्मका लागि संघका तदर्थ कार्यसमितिहरूको समयावधि थप गरिएको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको आगामी बैठकमा अनुमोदनका लागि पेश गर्ने गरी  यो निर्णय नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारु संघको हकमा लागू हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।