मेयरले एकलौटी गरेको भन्दै बौधीमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार
कार्यक्रममै मेयर र उपमेयर समर्थकबीच धक्कामुक्की

रौतहट- रौतहटको बौधीमाई नगरपालिकाकी उपमेयर प्रमिला देवी जयसवालले पाँच जना वडा अध्यक्षसहित बहुमतका साथ नगर अधिवेशन बहिष्कार गरेकी छन् ।
मेयर प्रदिप यादवले एकलौटी रूपमा नगर अधिवेशन गर्न खोजेको भन्दै उपमेयर प्रमिला देवी जयसवाल बहुमत कार्यपालिका सदस्यसहित नगर अधिवेशन बहिष्कार गरेकी हुन् ।
मेयर यादव र उपमेयर जयसवाल एउटै दल नेकपा एकीकृत समाजवादी पार्टीको टिकटबाट निर्वाचित भए पनि मेयरले मनोमानी गर्न खोजेको आरोप लगाउँदै उपमेयरसहितले नारा जुलुस प्रदर्शन गर्दै नगर अधिवेशन बहिष्कार गरेका थिए ।
मेयर यादवले सोमबार नगरपालिकाको सभाकक्षमा ९ औं नगर अधिवेशनका लागि आयोजना गरेको कार्यक्रममा उपमेयर जयसवालसहित ३३ जना बहुमत कार्यपालिका सदस्यहरूले मेयरसँग प्रतिवाद गरेका थिए । सो क्रममा मेयर यादवले बोलाएको बाउन्सर कार्यपालिका सदस्यका साथ दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।
नगरसभा बहिष्कार गर्न पुगेको बेला कार्यक्रममा केहीबेर मेयर यादव र उपमेयर जयसवालका समर्थकबीच धक्कामुक्की समेत भएको थियो ।
उपमेयर जयसवालका समर्थकहरूले नगर अधिवेशन लेखिएको ब्यानर समेत च्यातिदिएका छन् । मेयर यादवले बहुमत सदस्यलाई पेलेरै नगर सभा गर्न खोज्दा उपमेयर जयसवालका समर्थक र मेयर यादवका समर्थकबीच कुटाकुटको स्थिति सृजना भएको थियो ।
आफूहरूसँग कुनै सरसल्लाह नै नगरी नगर प्रमुख यादवले आफ्ना मनोपोली ढंगले नगर अधिवेशन गर्न खोज्दा आफूहरूले नगर अधिवेशन बहिष्कार गरेको नगर उपप्रमुख प्रमिला देवीले आरोप लगाइन् । नगरको सभाहल बाहिर निक्लेर उपमेयरसहितको जनप्रतिनिधिले विवादबारे सम्बोधन गरेका थिए । वडा ३ का अध्यक्ष मणिभुषण साहले कार्यपालिका बोर्डको बैठकमा नगरसभाबारे छलफल नभएको आफूहरूलाई सञ्चार माध्यमबाट जानकारी हुँदा ३२ जना कार्यपालिका सदस्यको हस्ताक्षरसहित आइतबार नै नगरसभा स्थगन गर्न निवेदन दर्ता गराएको बताएका थिए ।
मेयर यादवले मनोमानी तथा बदनियत पूर्ण अधिवेशन गर्न खोजेको बताउँदै अध्यक्ष साहले हालसम्म राजश्व परामर्श समितिको बैठक नबसेको, आव २०८०/०८१ को बजेट प्रस्तुत नभएको, संघ र प्रदेशबाट आएको रकमबारे जानकारी नदिइएको, वडा र नगरको विकास बजेटको सिलिङ वितरण नभएको, २०७९/०८० को आय व्यय माग गर्दा पनि नपाएको, मनोमानी ढंगले दैनिक ज्यालादारी र करारका कर्मचारी भर्ना गरेको, नगरेको आन्तरिक आय बारे जानकारी नदिएको उपमेयरसहित बहिष्कार गर्ने पक्षले बताएका थिए ।
नगर अधिवेशन बहिष्कार गर्नेहरूमा उपमेयर प्रमिला देवी जयसवाल, वडा १ का अध्यक्ष रामाजोधी राउत, २ का धर्मेन्द्र पटेल, ३ का मणि भुषण साह, ७ का नरेन्द्र कुशवाहा, ९ का अध्यक्ष मुक्ति नारायण मिश्रा संगै वडा सदस्य, कार्यपालिका सदस्य समेत गरी ३३ जना रहेका छन् ।
बहिष्कारबारे बौधीमाई नगरप्रमुख प्रदीपकुमार यादवको प्रतिक्रिया लिन फोन गर्दा उनको मोबाइलको स्विच अफ रहेको थियो भने सभा हलमा पत्रकारलाई प्रवेश निषेध गरिएको थियो ।

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

प्रतिक्रिया