थारू भाषाको लिपिको विषयमा एउटा निष्कर्ष निकाल्न आवश्यक छ : मन्त्री चौधरी

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले थारू भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताएकी छन् । थारू कल्याणकारी सभा केन्द्रीय समितिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आज काठमाडौँमा आयोजना गरेको थारू भाषा संस्कृतिसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् ।
संस्कार संस्कृतिको रक्षा गर्नु सबैभन्दा पहिले सोही समुदायको दायित्व बढी हुने भन्दै उनले त्यसपछि राज्य र समाजको हुने बताइन् ।
थारू जाति भाषा, संस्कृति, संस्कारले सम्पन्न तराईको आदिवासी भएको भन्दै उनले ती कुराको संरक्षण गर्नु आवश्यक रहेको जिकिर गरिन् । ठाउँअनुसार केही केही शब्दहरू फरक रहने गरेको भन्दै मन्त्री चौधरीले भाषाको संरक्षणका निम्ति ती कुराहरूमा एकरूपता ल्याउन मानक भाषा बनाउनै पर्ने बताइन् ।
'भाषा नरहेमा त्यो जातिको अन्य कुराहरू बिस्तारै हराउँदै जान्छन् । त्यसैले हामीले भाषाको संरक्षणलाई प्राथमिकता दिनुपर्छ । थारू भाषाको लिपिको विषयमा पनि एउटा निष्कर्ष निकाल्न आवश्यक छ,' मन्त्री चौधरीले भनिन्, 'भाषा संरक्षण गर्न सबैको भूमिका उत्तिकै हुनुपर्छ । ठाउँअनुसार भाषामा केही केही कुरामा भिन्नता छन् । तथापि हामीले त्यसलाई मानक भाषाका रूपमा एकरूपता ल्याउन आवश्यक छ । त्यो एकदमै जरुरी छ ।'
उनले थारू जातिभित्रको भाषा, संस्कार, संस्कृतिभित्रको विविधतालाई पनि कसरी एकरूपता खोज्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताइन् । सोझो जातिको रूपमा चिनिने थारू जातिलाई विगतमा सोझोपनको फाइदा उठाएर जमिनदारबाट सुकुम्बासी बनाएको उदाहरण दिँदै उनले आर्थिक गतिविधि पनि बढाउनुपर्ने बताइन् । 'हामी अब आर्थिक गतिविधिमा बढीभन्दा बढी सहभागी हुनै पर्छ । किनभने जो आर्थिक गतिविधिमा सहभागी नै हुँदैन त्यो कसरी सम्पन्न बन्न सक्छ ?' उनले भनिन्, 'अन्य समुदायसँग घुलमिल नहुँदासम्म आर्थिक गतिविधिमा वृद्धि हुँदैन । जसले गर्दा गरिबी न्यूनीकरण पनि हुन सक्दैन ।'
मन्त्री चौधरीले जन्मदेखि मृत्युपछिसम्मको संस्कारको संरक्षण गर्न सबैले विशेष ध्यान दिनुपर्ने भनाइ राखिन् ।
त्यस्तै उनले विभिन्न बहानामा थारू जातिलाई फुटाउने कोसिस भइरहेको भन्दै फुटलाई रोक्नुपर्ने उल्लेख गरिन् । 'हिजो राना थारू छुट्टिन खोज्दा हामीले छलफल गरेर नछुट्टिन आग्रह गर्यौँ । तर, उहाँहरू छुट्टिएर जानुभयो । अहिले खवास थारूले निवेदन दिएको कुरा आएको छ,' मन्त्री चौधरीले भनिन्, 'यसरी त थारू जातिको जनसङ्ख्या न्यून हुँदै जान्छ । जनसङ्ख्या कम हुनु भनेको समग्रतामा शक्ति कम हुनु हो । यो कुरा सबैले बुझ्न आवश्यक छ ।'

महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति या…

राजावादी आन्दोलन आज पनि, प्रसाईं समुहको अलग्गै प्रदर्शन हुने

चार वटा संसदीय समितिको बैठक बस्दै

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरिने

वित्तिय अनुशासनले सकरात्मक परिणाम ल्याउँनेः डा. महत

बजेट विगतको निरन्तरतामै सीमितः प्रमुख प्रतिपक्ष

बजेटमा नयाँ के छ ?

प्रतिक्रिया