मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

न्यायाधीश र प्रहरीसम्म सेटिङ मिलाउँछु भनी ४५ लाख ठगी गर्ने सिंह पक्राउ

काठमाडौँ- थुनामा रहेको व्यक्तिलाई छुटाइदिन्छु भनी ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ ।

कार्यालयका अनुसार ४५ वर्षीय मुन्ना सिंह भन्ने सुजितकुमार सिंहलाई पक्राउ गरिएको हो । सर्लाही मलंगवा ४ का सिंहलाई प्रहरीले शुक्रबार ललितपुरको ललितपुर महानगरपालिका २३ धापाखेलबाट पक्राउ परेका हुन् ।

गत चैतमा अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको सन्जय शाहलाई छुटाइदिने भन्दै निजका आफन्तसँग उनले पैसा असुलेको कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले बताए ।  

'शाहले उच्च पदस्थ व्यक्तिहरूसँग नजिकको चिनजान छ । मैले आफैँ सरकारी वकिल, न्यायाधीश, प्रहरी समेतलाई तलदेखि माथिसम्म सेटिङ मिलाउँछु भनी थुनामा रहेका आफन्तसँग पैसा लिएका थिए,' कार्यालयका प्रवक्ता रेग्मीले भने, 'उनले काठमाडौँका विभिन्न स्थानमा बोलाइ आफन्तसँग नगद २० लाख र चेकमार्फत २५ लाख रुपैयाँ लिएका थिए ।'

शाहलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको उनले जानकारी दिए ।