मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

नागरिकता प्राप्तिसम्बन्धी जटिलता फुकाउने कोसिस भइरहेको छ : उपप्रधानमन्त्री लामिछाने

फाइल तस्बिर

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकता प्राप्तिमा देखिएका जलिटता समाधान गर्न सरकारले कोसिस गरिरहेको बताएका छन् ।

गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘नागरिकता र नागरिकतासँग सम्बन्धित विषयवस्तुमाथिको छलफल’ कार्यक्रमको शुभारम्भ गर्दै उपप्रधानमन्त्री लामिछानेले नागरिकता प्राप्तिसम्बन्धी नागरिकको संवैधानिक अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयासरत रहेको बताए । 

'नागरिकता प्राप्त गर्ने संविधानप्रदत्त अधिकारबाट नागरिकलाई वञ्चित गराउन हुँदैन, कार्यविधि बनाएर नागरिकता प्राप्तिसँग जोडिएका जटिलतालाई फुकाउने कोसिस भइरहेको छ', उनले भने, 'नागरिकता प्राप्तिसम्बन्धी जटिलतालाई सम्बोधन गर्ने गरी नागरिकतासम्बन्धी कानुन निर्माण गर्नु सरकारको दायित्व र जिम्मेवारी हो ।' 

नागरिकप्रतिको दायित्व र जिम्मेवारीको बोध गरेरै मन्त्रालयले सरोकारवालासँग नागरिकता प्राप्तिका विविध विषयमा छलफल थालेको जानकारी दिँदै उनले सरोकारवालासँगको छलफलबाट आएको निचोडलाई कार्यविधिमा समावेश गर्न सक्दा नागरिकतासम्बन्धी समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे । 

'नागरिकतासम्बन्धी कानुनमा रहेका जटिलतालाई सम्बोधन गर्न सकियोस्, प्रत्येक नागरिकलाई राज्यले प्रदान गर्नुपर्ने नागरिकतासम्बन्धी अधिकारमा कुनै बाधा नहोस् भनेर छलफल आयोजना गरिएको हो', उपप्रधानमन्त्री लामिछानेले भने, 'नागरिकता प्राप्तिका जटिलता तथा प्राविधिक पक्ष, नागरिकतासम्बन्धी निर्णय तथा फैसलाका आधारमा पनि नागरिकता प्राप्त गर्न नसकेका नागरिकका भोगाइका आधारमा कार्यविधि बनाइनुपर्छ ।'

कानुनले बर्जित गरेकाबाहेक संविधान, प्रचलित कानुन र विधिबाट नागरिकता प्राप्त गर्न सक्ने नागरिकको अधिकारलाई सङ्कुचित होइन, संरक्षण र सहज गर्न गृह मन्त्रालयले सहजीकरण गर्दै आएको उपप्रधानमन्त्री लामिछानेको भनाइ थियो ।

आमनागरिकले नागरिकता प्राप्त गर्ने विद्यमान कानुनी अवस्थामा देखिएका कमिकमजोरी, व्याख्या, पुनःव्याख्या तथा अभ्यासबाट वास्तविक रुपमा के–कस्ता समस्या सामाना गरिरहनुपरेको छ भन्ने बारेमा आफूले कार्यभार सम्हालेदेखि नै गम्भीर चासोका साथ हेरिरहेको उनको भनाइ छ । 

उपप्रधानमन्त्री एवं गृहमन्त्रीका रुपमा रहँदा मात्र नभइ त्यसअघि सञ्चारकर्मीको भूमिकामा रहँदा पनि आफूले नागरिकता प्राप्तिमा नागरिकले भोग्नु परेका समस्याका बारेमा आवाज उठाउँदै आएको उनले स्मरण गरे । 'नागरिकता प्राप्तिका जटिलता, कानुनी पक्ष र व्यवहारिक पाटो तथा विभेदकारी क्रियाकलापलाई लिएर दर्जनौं कार्यक्रम चलाएको छु', उपप्रधानमन्त्री लामिछानेले भने, 'मैले जुन जगमा उभिएर राजनीतिमा सफलता प्राप्त गरेँ, त्यो जग विगतमा आमनागरिकले उठाएका आशा र उनीहरुलाई जगाउन गरेको प्रयास नै हो ।'

गृहमन्त्री लामिछानेले सरोकारलासँगको छलफल, कानुनी आधार र कयौँ अनुभवलाई समेटेर नागरिकतासम्बन्धी विषयलाई व्यावहारिक रुपमा सम्बोधन गर्न लागिएको बताए । विज्ञ तथा सरोकारवालासँगको छलफलबाट प्राप्त सुझाव सरकारका लागि महत्वपूर्ण आधार हुने भन्दै उहाँले कार्यान्वयन प्रणालीमा गर्नुपर्ने सुधार सरकारका लागि मार्गदर्शन बन्ने अपेक्षा गरे । 

'छलफलबाट प्राप्त सुझाव समावेश गरी नागरिकतासम्बन्धी कानुन तथा कार्यविधिको परिमार्जन गरिनेछ', उनले भने । 

कार्यक्रममा चार सत्रमा नागरिकतासँग सम्बन्धित सवालमा छलफल गरिने गृह मन्त्रालयले जनाएको छ । जन्मका आधारमा नागरिकता प्राप्ति, गैरआवासीय नेपाली नागरिकता, आमाको नाममा नागरिकता जारी र पहिचानसहितको नागरिकता, लिङ्ग परिवर्तन गरी नागरिकता प्राप्ति, नागरिकता परित्याग र पुनःप्राप्तिमा रहेका जटिलता, समाधानका उपाय तथा कानुनी सुधारका पक्षमा छलफल हुनेछ । 

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उपराष्ट्रपति यादव

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य १५ निर्णय

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे