जब महिला मानवअधिकार रक्षक विभेदमा परिन्...
'अझै कति भोग्नुपर्ने हो जातीय विभेद र अपमान ?'

सोलुखुम्बु- महिला मानवअधिकार रक्षकहरूको जिल्ला सञ्जाल सोलुखुम्बुकी अध्यक्ष बिना विक जातीय विभेदको सिकार हुनुपरेको तीतो यथार्थ सुनाउँदै एक सार्वजनिक कार्यक्रममा नै भक्कानिइन् । राष्ट्रिय मानवअधिकार आयोग शाखा कार्यालय खोटाङले सदरमुकाम सल्लेरीमा केही दिनअघि आयोजना गरेको ‘सोलुखुम्बुको मानवअधिकारको अवस्था’ विषयक अन्तरक्रियामा अध्यक्ष विकले आफू समाजमा शिक्षित भनिएकाहरूबाटै विभेदमा परेको अनुभव सुनाउँदै भक्कानिएकी थिइन् ।
केही समय पहिले एउटा कार्यक्रममा जिल्लाको पञ्चन क्षेत्र पुग्दा आफूलाई दलित भएका कारण रातभर घर बाहिर राखिएको अनुभव सुनाउँदै उनले भनिन्, ' मानवअधिकारको क्षेत्रमा कार्यरत म आफैँ शिक्षित भनिएकाबाटै विभेदमा परे, त्यो दिन अरु सबैलाई घरभित्र बसाए पनि मलाई प्रवेश दिइएन । मलाई त्यो रात दलानमै बसेको पीडाले अहिले पनि पोलिरहेको छ ।'
नेचासल्यान घर भएकी उनले गाउँमा हुने हरेक विवाह, ब्रतबन्ध, पूजापाठमा टीका लगाउँदासमेत विभेद हुने गरेको सुनाइन् । 'समाज सभ्य र शिक्षित हुँदैछ भनिन्छ, त्यो सहरमा होला तर हामीकहाँ त अहिले पनि उस्तै अवस्था छ,' विकले प्रश्न गरिन्, 'अझै कति भोग्नुपर्ने हो जातीय विभेद र अपमान ?'
सोलुदूधकुण्ड नगर कार्यपालिका सदस्यसमेत रहेका दलित अधिकारकर्मी निरकुमार नेपालीले संविधान र मुलुकमा छुवाछुत मुक्तिको कुरा गरिए पनि अझै व्यवहार लागू नभएको गुनासो गर्छन् । नेपालीले भन्छन्, 'संविधान र कानुनले त धेरै कुरा बोलेको छ । जातीय विभेदलाई कानुनी तथा सामाजिक अपराधसमेत भनिएको छ तर हामीले सहजरूपमा बाटोमा समेत हिँड्न पाउँदैनौँ । झन् घरमा मात्रै होइन, सार्वजनिक ठाउँमा पनि विभेद भोग्नुपरेको छ ।'
राष्ट्रिय मानव अधिकार आयोग खोटाङका प्रमुख उपसचिव गीता दाहालले सर्वोच्च शिखर सगरमाथा भएको जिल्लाका शिक्षित ठाउँमै जातीय विभेद हुनु लज्जास्पद भएको बताउँछिन् । 'सोलुखुम्बु सर्वोच्च शिखर सगरमाथा भएको जिल्ला हो, यहाँ विश्वका विकसित भनिएका देशहरूबाट समेत सयौँ मान्छे आउँछन्, त्यसैले पुरातनवादी सोच र सामाजिक विकृतिहरू कायमै हुनु दुःखद कुरा हो । यसलाई परिवर्तन गर्न जरुरी छ,' उनले भनिन् ।
जातीय, लैङ्गिक र अन्य गलत सामाजिक प्रथा परम्पराका कारण जिल्लामा समग्र मानवअधिकारको अवस्थामाथि नै प्रश्न खडा भएको दाहालको भनाइ छ । 'छुवाछुतजस्ता सामाजिक तथा कानुनी अपराधका कारण मानवअधिकार संरक्षणमा चुनौती छ । कुनै एक व्यक्ति वा निकायले नभई सबै तहतप्काबाट विभेदविरुद्ध सामाजिक जागरणका लागि योगदान गर्न जरुरी छ । यस्ता कार्यमा मानवअधिकार आयोग सहकार्य गर्न तयार छ,' उनले अगाडि भनिन्, 'अहिलेको अवस्थामा कुनै पनि प्रकार सामाजिक विभेद कानुनले वर्जित गरेका छन् । त्यसको परिपालना नभए कानुनी कारबाहीको दायरा उभ्याउन पनि सबै जागरूक बन्नुपर्छ ।'
नेपालमा कानुनतः छुवाछुतको अन्त्य भएको करिब छ दशक भइसकेको छ । छुवाछुतलाई दण्डनीय फौजदारी अपराधका रूपमा परिभाषित गरी जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ प्रचलनमा आएको पनि १३ वर्ष भइसकेको छ । २०६३ को अन्तरिम संविधानको धारा १४ ले गरेको जातीय विभेदविरुद्धको मौलिक हकलाई नेपालको संविधान, २०७२ ले अझै परिष्कृत रूपमा परिभाषित गरेको छ ।
संयुक्त दलित एकता समाजका अध्यक्ष कान्छाबहादुर विश्वकर्मा कानुनले अपराध र राज्यले छुवाछुत मुक्त राष्ट्र घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेकामा खेद प्रकट गर्छन् ।
राजनीतिकर्मी नरेन्द्र थापा मगर पनि छुवाछुत मानव सभ्यताका लागि कलङ्क भएकाले यसको अन्त्यका लागि सामूहिक रूपमा पहल गर्नुपर्नेमा जोड दिन्छन् ।
जिल्लाका धेरै अधिकारकर्मीहरू छुवाछुत अन्त्यका लागि स्थानीय प्रहरी प्रशासनबाट समेत पर्याप्त सहयोग नपाएको गुनासो गर्छन् । खड्गबहादुर हिङ्माङ अब राज्यका निकायसहित सरोकार भएका सबै मिलेर सामाजिक तथा सबै प्रकारका जातीय विभेद अन्त्यका लागि एकसाथ अगाडि बढ्नुपर्ने धारणा राख्छन् ।
'विभेद अपराध हो भन्ने विषय कानुनमा उल्लेख भएपनि यसको कार्यान्वयनमा सबै लागेमा समाज विभेदमुक्त हुन सक्छ । त्यसैले राष्ट्रिय मानवअधिकार आयोग सबैसँग मिलेर कानुन परिपालनाका लागि सहकार्य गर्न तयार छ,' खोटाङका मानवअधिकार अधिकृत दिपेश बस्नेत भन्छन् । रासस

आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारी वार्ता टोलीबीच १४ बुँदे सहमति

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका विजेता थाइल्याण्ड जाँदै

अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर ८१ करोडको जुवा, ललितपुरबाट १७ जना पक्राउ

यातायात व्यवसायीको आन्दोलन फिर्ता, भोलिदेखि देशभर सार्वजनिक यातायात सञ्चालन …

नेपाल शेर्पा संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै वर्तमान तेन्जी शेर्पाको उ…

काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित

डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ

प्रतिक्रिया