'व्यक्तिवादी अभ्यासले महासंघमा समस्या देखिएको हो, अब समाधान हुन्छ'

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा बिहीबार (आज)देखि सुरु भएको छ । साधारण सभाले वरिष्ठ उपाध्यक्षदेखि कार्यसमिति सदस्यहरु सम्मको चयन गर्नेछ । वरिष्ठ उपाध्यक्ष अर्को कार्यकाल स्वतः अध्यक्ष हुने प्रावधान रहेको महासंघमा वरिष्ठ उपाध्यक्षबाहेक जिल्ला तथा नगर, वस्तुगत र एसोसिएट गरी तीन जना उपाध्यक्षहरु हुन्छन् । महासंघको कार्यकारिणी समितिमा सदस्य रहेर उद्योग समितिको सभापतिका रुपमा काम गरेका व्यवसायी अन्जन श्रेष्ठ वस्तुगततर्फबाट उपाध्यक्षका उम्मेद्वार छन् । वस्तुगत समूहबाट यसपटक १०१ जनाले मतदान गर्ने भएका छन् । वस्तुगत समूहबाट महासंघको उपाध्यक्षका उम्मेद्वार एवं लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठसँग इकागजले गरेको कुराकानी :
महासंघमा वस्तुगत समूहबाट उपाध्यक्षमा उम्मेद्वारी दिनुभएको छ । मतदाताले यहाँलाई मत दिनुपर्ने आधारहरु (एजेण्डाहरु) के छन् ?
सबैभन्दा पहिले त हामीले मुलुकको सामाजिक-आर्थिक रुपान्तरणका लागि काम गर्ने हो । आर्थिक समृध्दि हासिल गर्नका लागि निजी क्षेत्रको प्रमुख र नेतृत्वदायी भूमिका छ । सरकारले अभिभावकत्व लिएर सहजीकरण, अनुगमन र नियमनबाहेक पूर्वाधार विकासदेखि सार्वजनिक सेवा प्रवाहमा सम्म निजी क्षेत्रसहितको भूमिका अर्थात् सार्वजनिक-निजी साझेदारी (पीपीपी) मा अघि बढ्न चाहिरहेको छ । सरकार निजी क्षेत्रको भूमिका अझै वृहत्तर होस् भन्ने चाहान्छ ।
अहिले कोभिड-१९ महामारीका कारण अर्थतन्त्र शिथिल भएको छ । आर्थिक वृद्धिदर अत्यन्त न्यून छ । यो अवस्थामा उत्पादन विकास, सेवा प्रवाह र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका अझै बढेको छ । हामीले तीनओटा मूलभूत विषयलाई लक्षित गरेर काम गर्छौं । अहिले शून्य प्रतिशत हाराहारीको आर्थिक वृद्धिबाट दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्नेतर्फ हामी अघि बढ्छौं ।
कोभिड-१९ का कारण प्रभावित जनजीवन महामारीकै बीच सुरक्षा उपाय अपनाएर जीवनपद्धति सामान्य बनाउनेतर्फ उन्मुख छ । आर्थिक गतिविधि विस्तारै बढ्दै छन् । त्यसकारण अब हामीले केही वर्षभित्रै १० प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्नेगरी प्रस्थानबिन्दू शुरु गर्नुपर्छ । दोस्रो, कोभिड-१९ महामारीले ठूलो संख्यामा रोजगारी गुमेको छ । हरेक वर्ष श्रम बजारमा आउने ५ लाख जनशक्तिलाई व्यवस्थापन गर्ने र वैदेशिक श्रम गन्तव्यहरुबाट फर्कनेहरुलाई मुलुकमा रोजगारीको अवसर सिर्जना गर्नुपर्नेछ । सरकारसँगको समन्वय र सहजीकरणमा निजी क्षेत्रले रोजगारी सिर्जनालाई मुख्य ध्येय बनाउनेछ ।
तेश्रो, व्यापारघाटा न्यूनीकरणमा हामी काम गर्छौं । मुलुकमा उत्पादन र रोजगारी सिर्जनाले हाम्रो क्षमता भएका क्षेत्रमा (खासगरी कृषि उत्पादन) आत्मनिर्भर हुने, तुलनात्मक र प्रतिस्पर्धी लाभका क्षेत्रमा लगानी बढाएर त्यस्ता उत्पादन निर्यातमा हाम्रो जोड रहन्छ । हाम्रो जलस्रोत, वनजंगल, खनिज, जडिबुटी र पर्यटनलाई हामीले बढावा दिनुपर्छ ।
यसअघि महासंघमा उद्योग समितिको सभापतिका रुपमा काम गर्नुभयो । त्यसले अहिले उपाध्यक्षको उम्मेद्वारीका लागि आधार बनाएको हो ?
पक्कै पनि हो । नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगत समूहले सिंगो देशको अर्थतन्त्रको प्रतिनिधित्व गरेको हुन्छ । यसमा कृषि, पर्यटन, उद्योग, सञ्चार, आयात-निर्यात लगायत थुप्रै क्षेत्र पर्छन् । म आफैं व्यवसायमा व्यापारमा, कृषि प्रशोधन, उत्पादन र सेवा क्षेत्रमा सहभागी भएर काम गरेकोले मलाई यी सबै क्षेत्रका समस्या, चुनौती र अवसरहरुको ज्ञान छ । उद्योग समितिको सभापतिका रुपमा मैंले सरकारसँग पनि निकट रहेर विशेष आर्थिक क्षेत्र प्राधिकरणको सञ्चालक समितिमा रहेर काम गरें ।
औद्योगिक र लगानीसम्बन्धि कानुन तथा नीति निर्माणमा मैंले भूमिका खेलेको छु । निजी क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिका, सरकारको सहजकर्ताको भूमिका, निजी क्षेत्र र सरकारबीचको समन्वयका लागि मैंले यसअघि गरेका कामले मेरो अहिलेको उम्मेद्वारीलाई थप पुष्टी गर्छ । महासंघमा एउटै पदमा एकै व्यक्तिले बारम्बार उम्मेद्वारी दिने चलन छ । संस्था भनेको व्यक्तिगत र पुस्ता हस्तान्तरण गर्ने विषय पनि होइन । नेतृत्वले संस्थालाई न्याय गर्न सक्ने व्यक्तिलाई ल्याएर उत्तराधिकारी बनाउने हो । नयाँ पुस्तालाई नेतृत्वउन्मुख बनाउनुपर्छ । नेतृत्व लिने व्यक्तिले आफूपछि सफल नेतृत्व जन्माउनु नेतृत्वको प्रमुख गुणमा पर्छ । पछिल्लो कालखण्डमा महासंघमा नेतृत्व विकास गर्ने कार्यहरु कम भई व्यक्तिवादी सोच हावी भएको छ । व्यक्तिवादी सोच, संगठन र संस्थागत सोचभन्दा अगाडि जाने स्थिति घातक हुन्छ । यो गलत कार्य हो । नयाँ व्यक्तिहरु नेतृत्वमा आउनुपर्छ र संस्थागत विकासका लागि नयाँ व्यक्तिहरुमा नेतृत्वमा विकास गर्नेमा म विश्वास राख्छु ।
मुख्यतः कोरोना महामारीपछि अर्थतन्त्रलाई गति दिनुपर्नेछ । रोजगारी सिर्जना गर्नुपर्नेछ । यसका लागि अनुकुल वातावरण तयार गर्नुपर्नेछ । तर पछिल्लो समय महासंघ आफैं राजनीतिक खिचातानीले सही हस्तक्षेप पुगेन भन्ने छ । यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने ठान्नुहुन्छ ?
नेपाल उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको आस्थाको धरोहर हो । यसको मूल्य-मान्यता, ओज र तेज र इतिहास छन् । यसले काम गर्न सक्ने छुट्टै क्षमता छ । महासंघमा कहिलेकाहीं संस्थागत भन्दा पनि व्यक्तिवादी चरित्र हावी हुँदा केही कमी कमजोरी भए होलान् । अब भोलिको दिनमा नयाँ नेतृत्व आउँदैछ ।
वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा १४ गतेदेखि महासंघको नेतृत्व लिदैँ हुनुहुन्छ । हामीजस्ता नेतृत्व उन्मुख हुन खोजेका व्यक्तिहरुले हिजोको कमी कमजोरीलाई अन्त्य गर्छौं । निजी क्षेत्रको विकासका लागि सहज ऐन कानुनका लागि हामी पैरवी गर्छौं । नीति नियम आउँदा नै त्यो लगानीमैत्री छ कि नियन्त्रणकारी छ कि भनेर एउटा अनुमान गर्न सक्ने क्षमता महासंघमा विकास गर्नुपर्छ । लगानीमैत्री र सार्वजनिक निजी साझेदारीका लागि हामी सरकारसँग काम गर्छौं । हाम्रो देशमा पूर्वाधारको खाडल छ । भएका पूर्वाधारको स्तरोन्नति र कार्यदक्षता विकास गरेर व्यवसायको लागत घटाउने वातावरण निर्माण गर्नुपर्नेछ । पूर्वपश्चिम रेलमार्ग सँगै पहाडी बाटोहरुको स्तरोन्नति र उत्तर र दक्षिण जोड्ने करिडोरहरुको निर्माण तीव्र गरिनुपर्छ ।
व्यवसायिक वातावरण सुधार गर्न बैंकको ब्याजदरमा पनि ठूलो उथलपुथल भैराख्ने र व्यवसायमा अनिश्चितता हुने अवस्था अन्त्य गर्नुपर्छ । रोजगारीका सिर्जनाका लागि हामीले सबैभन्दा पहिले तथ्यांकको राम्रो व्यवस्थापन गर्नुपर्छ । हामीकहाँ कस्तो श्रमशक्तिको माग छ र हाम्रा शिक्षण संस्था र सीप विकासमा काम गर्ने संस्थाले श्रम बजारको माग अनुसार उत्पादन गराउनेतर्फ अघि बढ्नुपर्छ । यसका अतिरिक्त, बाह्य श्रम बजारमा जान इच्छुकहरुले कस्तो सीप विकास गरेर जाँदा बढी आर्जन गर्न सक्छन् भन्ने आधारमा हामी तथ्यांकहरुको व्यवस्थापन गर्छौं । अहिलेको जमानामा तथ्यांकको ठूलो महत्व छ । तथ्यांक व्यवस्थापनमा सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ ।
त्यस्तै, सरकारसँग मिलेर कार्यान्वयनयोग्य आत्मनिर्भरताका कार्यक्रम बनाउनुपर्छ । केही वर्षयता हामी सिमेन्टमा आत्मनिर्भर भएर निर्यात नै गर्न सक्ने अवस्थामा पुगिसकेका छौं । यस्ता उदाहरण अन्य उत्पादन र सेवामा पनि अनुकरण गर्न सकिने अवस्था छ भने त्यसको विश्लेषण गर्नुपर्छ । कम्तीमा धेरैजसो कृषि उत्पादनमा हामी आत्मनिर्भर हुन भूमि बैंकको अवधारणा कार्यान्वयन, करार खेती प्रणाली, नियमित सिंचाई सुविधा, कृषि प्रसार सेवा, मलखाद तथा उन्नत बीउबीजन र कृषि उत्पादन र प्रशोधनमा व्यवसायीकरणमा जानुपर्छ । यदि सरकारले पीपीपी मोडलमा रसायनिक मल कारखाना खोल्ने प्रस्ताव ल्याउँछ भने हामी तयार छौं । जुनसुकै देशपनि आफूसँग भएको कच्चा वस्तु, तुलनात्मक लाभ र सम्भावनाको उपयोग गरेर नै धनी भएका हुन् । त्यसलाई हामीले मनन गर्न अब पनि ढिला गर्न हुन्न ।
यहाँले जतिपनि व्यवसायका समस्या, आर्थिक विस्तारको सोच अघि सार्नुभयो । तर महासंघले स्थानीय तहका साना मझौला उद्यमीको समस्यालाई प्राथमिकता दिएन भन्ने गुनासो बारम्बार आउने गर्छ ?
स्थानीय र तृणमूल तहका व्यवसायीको समस्या महासंघले उठाएन भन्ने मलाई लाग्दैन । म चेम्बर अभियानमा लागेको १६ वर्ष भयो । १२ वर्षदेखि त म प्रत्यक्ष रुपमा महासंघको कार्यसमितिहरुमा बसेर विभिन्न समितिको सहसभापति र सभापति भएर काम गरेको छु । हामीले सधैं साना र मझौला व्यवसायीलाई प्राथमिकता दिएका छौं । कोरोना भाइरस महामारी सुरु भएपछि सरकारलाई महासंघले दिएको सुझावमा पनि लघु, साना र मझौला उद्यमलाई सहुलियत दिनुपर्छ भनेका हौं ।
मौद्रिक नीति पनि त्यही हिसाबले आएको छ । यसका अतिरिक्त हामीले सरकारलाई पुँजीगत खर्च बढाइदिनुस्, त्यसले अर्थतन्त्रमा पुँजी प्रवाह हुन्छ र अर्थतन्त्र क्रमशः पुनर्स्थापना हुन सहज हुन्छ भनेका हौं । तर सरकारले त्यसमा ध्यान दिन सकेन । विकास बजेट खर्चमा ध्यान नदिएका कारण समस्या अझै बढेर गएको छ । सरकारबाट न्यून पुँजीगत खर्च हुने अवस्थामा सुधार गर्न सकियो भने साना, मझौला व्यवसायहरुलाई सहज हुन्छ । उनीहरुको उत्पादन र सेवाको माग हुन थाल्छ । अहिले त लघु, साना र मझौला व्यवसायको सञ्चालनको निरन्तरतामा समस्या आएको छ । उनीहरुको स्वपुँजी लगानी (इक्विटी) नै क्षय भएको अवस्था छ । लघु, साना र मझौला उद्यमलाई राहत दिइनुपर्छ भन्ने मागमा हामी दृढ छौं र यो निरन्तर रहन्छ । लघु, साना र मझौला उद्यमको निरन्तता भएन, उनीहरु बाँचेनन् भने ठूला व्यवसाय पनि धराशयी हुन्छ । ‘चेन अफ इकोनोमी’मा साना र ठूला सबै व्यवसाय अन्तरआवद्ध छन् र लघु तथा साना र मझौला उद्यमको अझै ठूलो भूमिका छ । यी सवाललाई हामी सशक्त ढंगले अघि बढाउँछौं ।
र, यो पनि
- शेखरजीहरूलाई अप्ठेरो नलागोस् भन्ने मेरो कामना छ :चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्षको उम्मेद्वार
- कसैलाई दोष लगाउनुअघि आफ्नो अनुहार ऐनामा हेर्नुपर्छ : किशोर प्रधान, वरिष्ठ उपाध्यक्षको उम्मेद्वार

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

प्रतिक्रिया