सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

धेरैभन्दा धेरै युवाहरूलाई आफ्ना उद्योगमा रोजगारी दिन उद्योमीहरूलाई आग्रह : मन्त्री अर्याल

फाइल फोटो

काठमाडौँ - श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले धेरैभन्दा धेरै युवाहरूलाई आफ्ना उद्योगमा रोजगारी दिन उद्योमीहरूलाई आग्रह गरेका छन् । 

शनिबार जनकपुरमा मधेश प्रदेश श्रमाधान रोजगार मेला उद्घाटन गर्दै मन्त्री अर्यालले मधेशमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र मधेशबाट ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको भन्दै धेरैभन्दा धेरै युवाहरूलाई आफ्ना उद्योगमा रोजगारी दिन उद्योगीहरूलाई आग्रह गरेका हुन् । 

स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका धेरै समस्याहरू  एउटै माध्यमबाट समस्या संकलन र समाधान गर्न श्रमाधान सुरू गरिएको उनले बताउ । 

उनले श्रमिक र रोजगारदाताका समस्या आवश्यकता बारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । मधेश प्रदेशका सबै नागरिकलाई मेलाबारे जानकारी गराइ सकेसम्म देशको श्रमबजारको आवश्यकता अनुसार सीप सिकेर अवसरको सदुपयोग गर्न पनि मन्त्री अर्यालले आग्रह गरे । 

उनले नेपालबाट भारत जाने श्रमिकहरूको तथ्यांक संकलनको काम पनि सरकारले गरिरहेको जानकारी दिए । दुई दिनसम्म चल्ने मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी, विभिन्न सामाजिक संस्थाहरू लगायतका स्टल रहेका छन् ।