विद्युत् प्राधिकरणको चरम लापरबाही : 'चार्जिङ स्टेसन' मर्मत नहुँदा सेवाग्राही समस्यामा [तस्बिरसहित]

काठमाडौँ- मधेश प्रदेशको सर्लाहीस्थित हरिवनमा रहेको विद्युतीय सवारी साधनको ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही मर्कामा परेका छन् । झण्डै पन्ध्र दिनदेखि चार्जिङ स्टेसन बिग्रिएको हो । सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्जिङ’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डिसी चार्जर बिग्रिएको छ ।
चार्जिङ स्टेसनमा ‘जीबीटी’ र ‘सीसीएस’ गरी दुई प्रकारका चार्जिङ मेसिन जडान गरिएको छ । ‘जीबीटी’ मेसिनबाट ठूला र व्यावसायिक गाडी तथा ‘सीसीएस’ मेसिनबाट साना गाडी चार्ज गर्न मिल्छ । यहाँ राखिएका दुइटै चार्जिङ स्टेसन बिग्रिएर समस्या उत्पन्न भएको छ । एउटा बीटीएको चार्जर बिग्रिएर १५/२० दिनपछि बनेको तर पनि चार्ज राम्रोसँग नहुने समस्या त थियो नै अहिले सिसिएसटुएको चार्जर पनि एक सातादेखि बिग्रिएको छ ।
गाडी चार्ज गर्न आएका सर्लाहीका स्थानीयवासी तथा सेवाग्राही ईश्वर महतले चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको गुनासो गरेका छन् ।
उनले चार्ज गर्न आउँदा घन्टौं कुरेर पनि चार्ज गर्न नपाएको भन्दै गुनासो गरे । ‘पहिला पनि १५/२० दिन जति स्टेसन बिग्रिएको थियो । अहिले पनि सिसिएसटुको लिक्विड पूरै झरेर चार्ज नै हुँदैन,’ उनले भने, ‘चार्ज गर्ने स्टेसनको पाइपमा प्वाल परेर लिक्विड चुहिएको छ ।’
उनले सरकारले विद्युतीय सवारी साधन प्रयोगमा जोड दिए पनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रिएका स्टेसनको समयमै निर्माण गर्ने कुरामा ध्यान नदिएको गुनासो गरे । उनले धेरै चार्जिङ स्टेसन नहुँदा भएका स्टेसनमा धेरै समय लाइन लगाएर मात्रै चार्ज गर्न पाइने गरेको जिकिर गरे । तर, आज त्यो पनि नभएको हुँदा दुखी छन् उनी ।
यसरी वर्षदिन पनि नबित्दै स्टेसनका उपकरणहरू बिग्रिँदै जानुले प्राधिकरणले खरिद गरेका उपकरणहरूको गुणस्तरीयतामा गम्भीर आशंका उत्पन्न भएको छ ।
सेवाग्राही महतका अनुसार चार्जिङ स्टेसनसँग सम्बन्धित व्यक्तिसँग कुरा गर्न खोज्दा चार्जिङ स्टेसनमा फेर्नुपर्ने सामान मगाइसकेको र एक/दुई दिनमै आउने आश्वासन दिएका थिए । उनले नेपाल विद्युत् प्राधिकरणका आयोजना प्रमुख सागरमणी ज्ञवालीलाई फोन गरेर समस्याबारे जानकारी पनि गराएका थिए । तर, आयोजना प्रमुख ज्ञवालीले भने आफूहरूको कुरा नसुनी बेवास्ता गरेको महतको भनाइ छ ।
उनले आक्रोशित हुँदै भने , ‘उहाँले आजभन्दा १०/१२ दिन अगाडि फोन गरेको थिएँ । ठीक छ मलाई थाहा थिएन सबै हेर्ने मैले नै हो तर हामीले ठेक्का दिएको त्यसको आयल छैन म डाइरेक्ट गर्न लाइदिन्छु भन्नुभयो त्यतिबेला । तर, आजभोलि भने फोन नै रिसिभ गर्नु हुन्न ।’
चार्जिङ स्टेसन बिग्रिएपछि बालबच्चा बोकेका यात्रुहरू अलपत्र परेका छन् । सयौँ सेवाग्रहीहरू चार्जिङ स्टेसनबाट चार्ज होला अनि आफ्नो गन्तव्यमा जान पाइएला भनेर स्टेसनमै कुरेर बसेका छन् । चर्को गर्मीमा बालबच्चा लिएर बिग्रिएको चार्जिङ स्टेसन बनि पो हाल्छ कि भनेर बिहानैदेखि सेवाग्राहीहरू बसेको महतले बताए ।
‘आज बिहानदेखि बालबालिकासहितका यात्रुहरू बिचल्ली भएर बसेका छन् । फोन गर्यो भने कुनै रेस्पोन्स छैन,’ उनले भने, ‘सागर सरले फोन नै नउठाइदिने खाली मेसेज मात्र गर्ने । उहाँले पठाएको नम्बरमा फोन गर्दा फोन लाग्दैन । कसैले रेस्पोन्स नगर्ने । प्राधिकरणको हेड अफिसमा फोन गर्दा सबै नम्बर बिजीका बिजी अब यहाँ पूरै बिचल्ली छ मान्छेहरूको ।’
यहाँको चार्जिङ स्टेसनमा सधैंजसो समस्या आइरहने भएकाले अहिले सार्वजनिक सवारी साधनहरू आउन छाडेका छन् । महतले भने, ‘बिग्रिएको धेरै दिन भएकाले पब्लिक गाडीहरू आउनै छाडे । थाहा भएकाहरू आउँदैनन् तर जो नयाँ छ त्यो आउँछ जस्तै प्राइभेट गाडीहरूलाई थाहा हुँदैन उनीहरू आउँछन् तर चार्ज हुँदैन र अलपत्र पर्छन् ।’
चार्ज गर्ने पाइपमा प्वाल परेका कारण लिक्विड चुहिएको छ । त्यसको मर्मत गर्नेतर्फ पनि प्राधिकरण र सम्बन्धित निकायको ध्यान जान नसकेको भन्दै यहाँका सेवाग्राहीहरू यतिबेला रुष्ट छन् ।
समस्या हरिवनको मात्र होइन चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको चार्जिङ स्टेसन पनि मर्मत नहुँदा सेवाग्राहीहरू मर्कामा छन् । त्यस्तै मकवानपुरको हेटौंडास्थित रातामाटेमा दुइटा चार्जिङ सेन्टर निर्माण भएका छन् । त्यहाँको समस्या पनि उस्तै हो ।
नेपाल विद्युत् प्राधिकरणले ५१ स्थानमा विद्युतीय सवारी साधन चार्जिङ स्टेसन सञ्चालन गरिरहेको छ । विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूका ५१ स्थानमा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण भएका हुन् ।
छोटो समयमा नै चार्जिङ स्टेसनहरूको अवस्था नाजुक बन्दै गएको छ । यसरी वर्षदिन पनि नबित्दै स्टेसनका उपकरणहरू बिग्रिँदै जानुले प्राधिकरणले खरिद गरेका उपकरणहरूको गुणस्तरीयतामा गम्भीर रूपले प्रश्न चिह्न खडा भएको छ ।
सधैं चार्जिङ स्टेसनका कारण दु:ख पाइरहने सेवाग्राही तथा यात्रुहरूको मर्म नेपाल विद्युत् प्राधिकरणले कहिले बुझ्ने ?
प्राधिकरणले यात्रु तथा सेवाग्राहीहरूको सहजताका लागि विद्युतीय चार्जिङ स्टेसनको निर्माण गरे पनि पछिल्लो समय यसैका कारण यात्रुहरूले तनावको स्थितिको सामना गरिरहनु परेको छ ।
कहिले स्टेसनहरूमा शौचालयको समस्या हुन्छ त कहिले चार्ज नै नहुने । समस्यै समस्या भएका कारण लाग्छ प्राधिकरण तथा सरोकारवाला निकायले काठमाडौँ उपत्यका बाहिरका चार्जिङ स्टेसन दीर्घकालीन चलाउन खासै चासो दिएनन् । उपत्यका बाहिरका अधिकांश चार्जिङ स्टेसनसम्म पुग्ने यात्रुहरूले सास्ती नै पाएका छन् ।
प्राधिकरणले विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको मापदण्ड पालना र दीर्घकालीन योजनाबिनै झारो टार्ने काम गरिरहेको जस्तो देखिएको छ ।
सरकारले २०३० सम्ममा पेट्रोलियमबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति अघि सारेको छ । त्यस्तै सन् २०२५ सम्ममा निजी विद्युतीय सवारी साधनको व्यापार २५ प्रतिशत र सार्वजनिक सवारी साधनको व्यापार २० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । तर, अन्तर मन्त्रालय समन्वय हुन नसक्ने एवं विद्युतीय सवारीका लागि भरपर्दो पूर्वाधार विकास हुन नसक्दा सरकारी लक्ष्य प्रभावविहीन देखिएको छ । साथै चार्जिङ स्टेसन वरपरका स्थानहरूमा सरसफाइ गर्ने र वातावरणको सौन्दर्यता बढाउने कुनै पनि योजना प्राधिकरणसँग छ जस्तो देखिँदैन ।
यस्तै चार्जिङ स्टेसनमा यात्रुहरूको सुरक्षा पनि चुनौतीको विषय बनेको छ । यात्रुहरूले भोगेका सास्तीको जिम्मेवारी को ? भन्ने प्रश्नको जवाफ खोज्ने बेला आएको छ । प्राधिकरणले चार्जिङ स्टेसन बनाएर मात्र पन्छिन मिल्दैन ।
प्राधिकरणले चार्जिङ स्टेसन र त्यस वरपर रहेका पसल र शौचालयतिर पनि अनुगमन तथा निगरानी गर्नु आवश्यक छ । पूर्वाधार बनाएर मात्र विकासको काम भएको मानिँदैन जबसम्म त्यसलाई उपयोग गर्ने प्रयोगकर्ता तथा सेवाग्राहीलाई सहज र सुरक्षित महसुस हुँदैन । सधैं चार्जिङ स्टेसनका कारण दु:ख पाइरहने सेवाग्राही तथा यात्रुहरूको मर्म नेपाल विद्युत् प्राधिकरणले कहिले बुझ्ने ?
र, यो पनि
प्राधिकरणले बनाएको विद्युतीय चार्जिङ स्टेशनले बढायो दुर्गन्ध [तस्बिरसहित]

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

यस्तो छ आजको मौसम

आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित

प्रतिक्रिया