सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

आठ विद्यार्थी संगठनद्वारा भारतीय हस्तक्षेपको विरोध

काठमाडौँ : आठ विद्यार्थी संगठनले नेपाली भूमिमा भारतीय पक्षले गर्दै आएको हस्‍तक्षेप रोक्‍न चेतावनी दिएका छन् । आठ विद्यार्थी संगठनका सुदूरपश्‍चिममा क्रियाशील नेताहरूले बिहीबार विज्ञप्‍ति जारी गर्दै त्रिदेशीय बिन्दुभन्दा वर नेपाल तर्फको भू-भाग (लिपुलेक, कालापानी र लिम्पियाधुरा) हुँदै मानसरोवर पुग्‍ने सडक निर्माण गरिरहेको, दार्चुला , कैलाली र कंचनपुरको सीमा क्षेत्रमा भारतीय अतिक्रमण र हस्तक्षेपको निन्‍दा गर्दै उक्‍त कार्य रोक्‍न चेतावनी दिएका हुन् ।  

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी  संगठन, अखिल ( क्रान्तिकारी ) , सु. प.  प्रदेश, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन, अखिल ( छैटौं ) र समाजवादी विद्यार्थी युनियनका नेताहरूले विज्ञप्‍तिमार्फत भारतीय हस्तक्षेप र अतिक्रमणविरुद्ध प्रतिरोध र संघर्षमा उत्रिनसमेत अपिल गरेका छन् ।