आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

दलीय अनुशासन उल्लंघन गर्ने छुट कुनै सांसदलाई छैन : प्रधानमन्‍त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय अनुशासन उल्लघन गर्ने छुट कुनै सांसदलाई नभएको जिकिर गरेका छन् । संवैधानिक इजलासको आदेश अनुसार प्रधानमन्त्रीले बिहीबार अदालतलाई लिखित जवाफ पेश गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले दलको सदस्यलाई दलको निर्णय विपरीत काम कारबाही गर्न सक्ने छुट नदिइएको दाबी गरेका छन् । जनताबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले जनअभिमत विपरीत स्वतन्त्र हैसियत हुन्छ भन्ने कुराको दलीय व्यवस्थामा कल्पनासम्म नसकिने उनको दाबी छ ।

'संविधानको धारा २६९ मा राजनीतिक दलको गठन, दर्ता र सञ्चालनसम्बन्धी व्यवस्था रहेको छ,' जवाफमा उनले भनेका छन्, 'संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा कहीँकतै पनि दलको सदस्यलाई दलको निर्णय विपरीत काम कारबाही गर्न सक्ने छुट दिइएको छैन । दलको सिद्धान्त, बिचार, नीति तथा घोषणापत्रको आधारमा जनताबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले जनअभिमत विपरीत स्वतन्त्र हैसियत हुन्छ भन्ने कुराको दलीय व्यवस्थामा कल्पनासम्म गरिँदैन । आफ्नो दलको नेताले प्रधानमन्त्रीको रुपमा आफ्नो दाबी पेश गरेको अवस्थामा दलका केही प्रतिनिधि सभाका सदस्यले विपक्षी दलको नेतालाई प्रधानमन्त्रीको रुपमा समर्थन गर्ने र सो कार्य संविधान अनुकुल छ भन्ने कुरा संसदीय शासन प्रणालीमा कसैले कल्पना पनि गर्न सक्दैन ।'