महानगरको सार्वजनिक सुनुवाइमा स्थानीयको माग : ढल निकास र पार्किङ व्यवस्थापन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको वडा नं. १ का स्थानीयवासीले ढल निकास र व्यापारीले पार्किङ व्यवस्थापनलाई प्राथमिकतामा राखेर योजना माग गरेका छन् ।
वडाले आयोजना गरेको चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ र आर्थिक वर्ष २०८१/८२ को योजना माग कार्यक्रममा स्थानीयहरूले सामुदायिक विद्यालय जोडेर सुविधा बढाउन, साहित्यकार, संगीतकार र कलाकारहरूको क्रियाकलाप हुने ठाउँ बनाउन, विज्ञ समूह बनाएर आवश्यकता पहिचान गरेर योजना सिफारिस संयन्त्र बनाउन माग गरेका छन् ।
पढ्ने संस्कृति बढाउन पुस्तकसहितको पुस्तकालयलाई निरन्तरता दिन, ठूलो ध्वनी उत्पन्न हुने व्यावसायिक क्रियाकलापबाट बस्ती जोगाउने क्रियाकलापको माग गरेका छन् ।
'पिचमाथि पिच भएपछि पुराना घरहरू सडक सतहभन्दा तल भए । बर्खाको पानीले घर डुबान हुने भयो । यसकारण सडकमा पिचको सतह घटाउनु पर्यो । ढलको आकार बढाउनु पर्यो । नन्दी केशर बगैँचा र नारायण चौर फरक हो । यी चौरहरूलाई नामअनुसारको स्वरुप र प्रयोगमा ल्याउनु पर्यो । स्थानीयले आफ्ना विकास माग सहित वडा नं. १ ले बनाउन लागेको सम्पदा मार्ग कस्तो हो, योजनाको विवरण माग गरेका थिए । यसमा सवारी साधन प्रवेश हुन्छ कि हुँदैन, व्यावसायिक क्रियाकलाप कसरी व्यवस्थापन हुन्छन् ? स्थानीयवासीका सवारी साधन कसरी व्यवस्थापन हुन्छन् ?' उनीहरूको प्रश्न थियो ।
मूर्त अमूर्त सम्पदा संरक्षण, सम्वर्द्धन, अभिलेखीकरण र प्रवर्द्धनमा वडाले काम गर्नु पर्ने स्थानीयको माग थियो ।
यस्तै व्यवसायीहरूले पार्किङ व्यवस्थापनको अपेक्षा गरेका थिए । 'हामीले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेका होइनौँ । हाम्रो भनाइ यति मात्र हो कि, वैकल्पिक स्थानका विषयमा जानकारी हुनुपर्यो,' उनीहरूले भने ।
व्यापारीहरूले समस्या समाधानका लागि नारायण हिटी संग्रहालयको क्षेत्र, वाणिज्य बैंक अगाडिको ठाउँमा पार्किङ गर्ने व्यवस्था मिलाउन सकियो भने दरबारमार्गको समस्या समाधान हुने विकल्प दिए ।
दरबार मार्गको हरियालीका विषयमा कुरा गर्दै उनीहरूले, ठूला रुख भएका ठाउँमा साना विरुवा रोपिएको बताउँदै ठूला रुख र साना विरुवा कसरी व्यवस्थापन हुन्छन् । यसको योजना बनाउनुपर्छ ।
उनीहरूले बहाल कर नतिरी केन्द्रीय सरकारले व्यवसायीलाई भन्सार छुट नदिएको गुनासो गर्दै भने, ‘जहाँ भए पनि हामीले कर तिर्ने नै हो, तिर्छौँ । यसमा आफूलाई कर नतिरेको भनेर कुनै पनि तहका सरकारले अप्ठ्यारो बनाइदिनु भएन ।’
यसरी धारणा राख्नेमा दरबारमार्ग विकास बोर्डका पदाधिकारीसहित थिए । सबैको कुरा सुनिसकेपछि वडाध्यक्ष भरतलाल श्रेष्ठले भने, ‘कानुन, नीति, योजना र बजेटको सीमाभित्र गर्न सकिने नागरिकको अपेक्षा पूरा गराउने बताए ।’
सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी र जनसहभागितामूलक बनाएर यसबाट प्राप्त भएको लाभ सर्वसाधारणलाई उपलब्ध गराउने असल शासनका सूचकका आधारमा महानगरपालिकाले काम गरिरहेको छ । कार्यक्रममा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले भने, ‘स्वच्छ, वस्तुनिष्ठ र पारदर्शी प्रशासन सञ्चालन भएको छ । कुनै गुनासो भए फोनबाट टिपाउने व्यवस्था समेत मिलाइएको छ ।’
कार्यक्रममा राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले, सानो भइकन पनि वडाबाट राजस्वमा ठूलो योगदान रहेको उल्लेख गरे । कार्यक्रममा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले महानगरपालिकाको सहयोगमा नेपाल प्रहरीले सहरका ठाउँ ठाउँमा सिसिटिभीसहित शान्ति सुरक्षाका लागि प्रविधि जडान गरिरहेको बताए । यसबाट अपराध अनुसन्धान र नियन्त्रणमा सघाउ पुगेको उनको भनाइ थियो ।
वडा सचिव सर्वज्ञराज पौडेलका अनुसार वडा नं. १ क्षेत्रमा विकास निर्माण गर्न भन्दा विकास व्यवस्थापन गर्नमा ध्यान दिनु पर्नेछ । ‘वडाको प्रशासनिक भवन बनाउने कार्यलाई हामीले जोड दिएका छौँ । सबैको प्रयत्नबाट यो काम सम्भव हुने हाम्रो अपेक्षा छ,’ उनले भने ।
सार्वजनिक स्थलमा सेवा प्रदायक र सेवाग्राही भेला हुने, नागरिकले सोधेका प्रश्नको सेवा प्रदायकले उत्तर दिने तथा माग गरेका कुरालाई टिपोट गरेर सम्बोधन गर्ने सार्वजनिक सुनुवाइको उद्देश्य हो । आर्थिक वर्ष २०८१/८२ का लागि योजना छनोट गर्ने समय पनि एकैपटक परेकोले सुनुवाइ कार्यक्रमबाट योजना छनोट पनि गरिएको वडा सचिव पौडेलको भनाइ छ ।

काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित
रत्ननगर पूर्ण खोप सुनिश्चितता घोषणा

मण्डनदेउपुरका चार उद्योग बन्द गरियो

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि
४७ व्यापारीविरुद्ध मुद्दा दायर
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

प्रतिक्रिया