एचआइभी सङ्क्रमितलाई मासिक भत्ता

कैलाली - कैलालीको चुरे गाउँपालिकाले पालिकाभित्रका एचआइभी सङ्क्रमितलाई मासिक भत्ता वितरण गरेको छ । पालिकाले सङ्क्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताका रूपमा मासिक रु एक हजारका दरले भत्ता वितरण गरेको हो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र विष्टले सामाजिक रुपमा अपहेलना हुने डरले खुल्न नसकेका एचआइभी सङ्क्रमितको पहिचान गर्न पालिकाको स्वास्थ्य शाखाको पहलमा सेती प्रादेशिक र मालाखेती अस्पतालमा एआरटी औषधि सेवन गरिरहेका व्यक्तिको खोजपड्ताल गरिएको जानकारी दिए ।
उनका अनुसार खोजपड्तालका क्रममा पालिकाभित्र २७ जना एचआइभी सङ्क्रमित रहेका फेला परेका छन् । सङ्क्रमितमध्ये १५ पुरुष र १२ जना महिला रहेका छन् । गाउँपालिकाभित्र रहेका एचआइभी सङ्क्रमितको पहिचान गरी उनीहरुलाई पोषणको कमी हुन नदिन मासिक भत्ता वितरण गरिएको उनले बताए ।
स्वास्थ्य शाखामार्फत पोषणका लागि भत्ता वितरण गरिएको सङ्क्रमित कोही पनि सामाजिकरूपमा बाहिर खुलेका छैनन् । सङ्क्रमितहरूको आवश्यक कागजात जुटाइ बैंक खातामा एकमुष्ट छ महिनाको भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
बाँकी ६ महिनाको भत्ता एकमुष्ट बैंकमा जम्मा गरिने पालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । पालिकामा पहिचान भएका सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा गरिने उनको भनाइ छ ।
साथै पहिचान भएका सङ्क्रमितका बालबालिकालाई पालिकाभित्र रहेका विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको अध्यक्ष बोगटीले बताए । रासस

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया