२४ दिनमै २४ जनाको ज्यानै लिनेगरी किन सल्कदैछ आगो ?
१ अर्ब ४० करोड बराबरको क्षति

काठमाडौँ- सिन्धुपाल्चोक बलेफीका रामप्रसाद पराजुली राति मस्त निद्रामा थिए । दिनभरको भागदौडले थाकेका उनको मोबाइलमा घण्टी बज्यो । राति २ बजे आएको फोनले उनी आत्तिए । किन फोन आयो भनेर एकछिन अलमल्ल परे ।
‘तपाईंको गोठ डढ्न लाग्यो छिटो आउनुहोस्,’ फोन उठाउनसाथ आवाज आयो । उनको मन एकैपटक खङ्ग्रङ्ग भयो । हतार-हतार उनी टर्च बालेर गोठतिर दौडिए । आगो गोठै छेउमा पुग्न लागिसकेको थियो । सबै मिलेर राति नै नियन्त्रणमा लिए ।
जिलौटो पोलेर त्यतिकै छाडेको आगोले भिर पाखा हुँदै बस्ती पसेको उनले बताए । ‘जिलौटोमा आगो सल्काएर बारी धनी घर फर्किए,’ केशवले भने, ‘हावाहुरीले पातपतिङ्गर हुँदै आगो बस्तीमै पुग्यो ।’ समयमै थाहा पाएर कुनै क्षति नभएको उनले बताए । तर पशुपंक्षी किरा फट्याङ्ग्राको बासै उडेको उनको भनाइ छ ।
गाउँ वरिपरिका भिर र पाखामा आगलागी घटना दैनिक हुने उनले बताए । ‘कहिले गिदेडाँडा भिर, कहिले बुकेडाँडामा डढेलो दैनिकजसो लाग्ने गरेको छ’, उनले भने ‘मानिसले हेलचेक्य्राइँ गरेर चुरोट खाएर ठुटो फाल्दा डढेलो लाग्ने गरेको छ ।’
वसन्त ऋतु लागेसँगै हरियाली हुनुपर्ने बस्ती वरिपरि रहेका भिर र पाखो कालै भएको छ । डढेलो लगाउने गिरोह नै सक्रिय भएको उनले बताए । डढेलोले वातावरण प्रदूषित बनेको छ । ‘खै विश्वको पहिलो प्रदूषित शहर भनेर काठमाडौँको नाम टिभिमा देखाइरहन्छ’, के हुन लाग्यो उनले प्रश्न गरे ।
साँझ परेपछि पारि हेर्दा जताततै डढेलो मात्रै देखिने बलेफीकी मनमाया तामाङ बताउँछिन् । ‘बस्ती छेउ लामो आकारमा डढेलो लागेको दृश्य मात्रै देखिन्छ’ उनले भनिन् ‘पहिला यति धेरै डढेलो लागेको थिएन ।’ यो साल निकै वन जंगल सखाप भएको उनले सुनाइन् । ‘डढेलोको धुवाँले ढाकेर होला मौसम पनि खुल्न सकेन उनले भनिन् ।’
आगलागीमा कति क्षति भयो ?
आगलागीका घटना दिनानुदिन बढिरहेका छन् । भूक्षयविद्हरू पानी नपरेका कारण आगलागीका घटना बढेको बताउँछन् । अहिलेको अवस्थाले पछि वर्षायाममा बाढी र पहिरोको जोखिम उतिकै रहेको उनीहरूको भनाइ छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत तीन वर्ष (२०७८ देखि हालसम्म) मा १६ हजार ७४ वटा आगलागीका घटना भएका छन् । १ हजार ८ सय १६ वटा वन डढेलोका र १४ हजार २ सय ५८ आगलागीका घटना भएका छन् । जसमा परेर ४ सय ८१ जनाले ज्यान गुमाएका छन् भने १ हजार ९ सय १६ जना घाइते भएका छन् ।
प्राधिकरणले दिएको जानकारी अनुसार सो आगलागीका घटनामा १ अर्ब ४० करोड बराबरको क्षति भएको छ । यस्तै २ हजार ८ सय ८० पूर्वाधारमा क्षति पुगेको छ भने ८ हजार ३ सय ८६ पशुचौपायले ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष २०७८ वैशाख १ देखि २०७९ चैत ३० सम्ममा १० हजार २ सय १९ आगलागी र डढेलोका घटना भएका छन् । वन डढेलोका ७ सय ७४ वटा र आगलागीका ९ हजार ४ सय ४५ वटा घटना घटेका छन् ।
प्राधिकरणले दिएको तथ्यांक अनुसार ३ सय ३२ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय ७ जना घाइते भएका छन् । ५ हजार ३ सय ५८ पशुचौपायाको मृत्यु भएको छ भने पूर्वाधार क्षति २ हजार ८ सय ८० भएको छ । सो आगलागीबाट ७३५ करोडको अनुमानित आर्थिक क्षति भएको छ ।
आर्थिक वर्ष २०८० वैशाख १ देखि चैत ३० सम्ममा ४ हजार ५ सय ३९ आगलागीका घटना हुँदा १ सय २७ जनाले ज्यान गुमाएका छन् भने ५ सय २८ जना घाइते भएका छन् । २ हजार २ सय १६ पशुचौपायले ज्यान गुमाएका छन् । २५५ करोडको आर्थिक क्षति हुँदा १ हजार १ सय १४ पूर्वाधारमा क्षति पुगेको छ ।
यस्तै २०८० वैशाख २ गतेदेखि २५ (आजसम्म) सम्ममा १ हजार ३ सय १६ वन डढेलो र आगलागीका घटना भएका छन् । ५ सय ५० वन डढेलो लाग्दा ७ सय ६६ आगलागीका घटना भएका छन् । यस अवधिमा २४ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । यस अवधिमा ८ सय १२ पशुचौपायले ज्यान गुमाएका छन् भने ९ सय १८ भौतिक पूर्वाधारमा क्षति पुगेको छ । यी घटनामा ५० करोड आर्थिक क्षति भएको छ ।
राज्य संयन्त्र गम्भीर छैन
वातावरण पत्रकार समूहकी अध्यक्ष रोशनी अधिकारीले पानी नपरेर सुक्खा भएका कारण डढेलो र आगलागीका घटना फैलिएको बताइन् । इकागजसँग कुरा गर्दै उनले यसलाई नियन्त्रण गर्न राज्यको पूर्व तयारी नदेखिएको बताएकी छन् । ‘आगलागी नियन्त्रण गर्न राज्यका संयन्त्रहरू बलियो देखिएनन् ’ उनले भनिन् ‘ वर्षेनी हुने यस्ता घटना नियन्त्रणका लागि उपकरणहरू पनि भएन ।’
डढेलोका कारण वातावरण प्रदूषण बढेको उनको भनाइ छ । प्रदूषणमा नयाँ-नयाँ रेकर्ड ब्रेक गरिरहेको उनले सुनाइन् । ‘प्रदूषणका कारण अहिले श्वास फेर्दा पनि धुवाँ नै फेरिरहेका छौँ जस्तो लाग्छ’, उनले भनिन् ।
अब डढेलो नियन्त्रणका लागि राज्यका सबै संरचना लगाएर आपतकालीन अवस्था घोषणा गर्नुपर्ने उनले बताइन् । त्यस्तै उनले राज्यले विभिन्न योजना बनाएर लागू गर्न सुझाव दिइन् ।
के छ कानुनी व्यवस्था
वन ऐन, २०७६ को दफा ५० को उपदफा (४) अनुसार डढेलो लगाउनेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद र ६० हजार जरिवानाको व्यवस्था छ । आवश्यक परेका दुवै सजाय हुने व्यवस्था छ ।
डढेलो लगाउनेको सुराकी दिनेलाई ५० हजार पुरस्कार
आगलागीका घटना बढ्न थालेपछि विभिन्न स्थानीय तहहरूले डढेलो लगाउनेहरूको खोजबिन सुरु गरेका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले वनमा डढेलो लगाउनेबारे सुराकी गर्नेलाई ५० हजार पुरस्कारको व्यवस्था गरेको छ ।
हेलम्बु गाउँपालिकाले एक सूचना जारी गरी वन डढेलोमा संलग्न व्यक्तिको बारे सप्रमाण जानकारी गराएमा सूचनादाताको नाम गोप्य राखी ५० हजार पुरस्कार प्रदान गरिने जनाएको छ ।
आम नागरिकलाई असर गर्ने र कानुनले समेत वर्जित गरेको विषयमा दिनप्रतिदिन आगलागीको घटना घटेकाले यसलाई नियन्त्रणमा लिन पुरस्कारको व्यवस्था गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
‘दैनिक आगलागी र वन डढेलोको घटनाहरू बढिरहेकाले त्यसलाई न्यूनीकरण गर्न डढेलो लगाउनेको सूचना दिनेलाई पुरस्कारको घोषणा गरिएको हो’, शेर्पाले भने, ‘गैरकानुनी काम गर्नेलाई कारबाही गर्ने र त्यस्ता कार्यको न्यूनीकरण गर्न प्रयत्न गर्ने हाम्रो प्रयास हो ।’
आगलागी पीडितका लागि क्षतिपूर्ति के छ ?
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्नि पीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया प्रारम्भ भएको जानकारी दिए । गत वैशाख १७ बाट सो प्रक्रिया सुरु भएको उनले जानकारी दिए ।
बैठकले अग्नि पीडितलाई दुई किस्तामा ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । ‘विपद् प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८१’ अनुसार उक्त रकम प्रदान गरिनेछ ।
कार्यविधिअनुसार आगलागी, डढेलो, भूकम्प, बाढी, पहिरो, चट्याङ, हुरीबतासबाट घरवास गुमाएका परिवारलाई अस्थायी आवास बनाउन २५ हजारका दरले दुई किस्तामा रकम प्रदान गरिने छ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया