असार अन्तिममा इजरायल जाने विज्ञापन खुल्दै
'कामदार पठाउन सके कोटा बढ्ने थियो'

काठमाडौँ : कोभिड-१९ को कारण निषेधाज्ञाको अवस्था परिवर्तन भएमा एक दशकपछि नेपाली कामदारलाई इजरायल पठाउनका लागि वैदेशिक रोजगार बोर्डले असार अन्तिमसम्ममा विज्ञापन गर्ने भएको छ । मन्त्रिपरिषदबाट इजरायल कामदार पठाउन निर्देशिका स्वीकृत भएपछि कोभिड-१९ को दोस्रो लहर सुरु भएसँगै निषेधाज्ञा जारी भएकाले कामदार पठाउने प्रक्रिया रोकिएको हो ।
मन्त्रिपरिषदबाट इजरायल पठाउन निर्देशिका ढिला जारी भएकाले कामदार समयमा पठाउन नसकिए पनि असार मसान्तसम्ममा विज्ञापन गरिने वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इकागजलाई बताए । 'निषेधाज्ञाको अवस्था लुज भएमा एक महिनाभित्रमा इजरायलका लागि विज्ञापन खुलाउँछौ,' उनले भने ।
दवाडीले इजरायली पक्षसँग विभिन्न माध्यमबाट छलफल भइरहेको पनि बताए । उनीहरूले कसरी कामदार लैजान सकिन्छ त्यसको 'मोडालिटी' बनाइरहेको बताए । रोजगार विभागले कामदारसँग परीक्षा लिन पाठयक्रम तयारी गरिरहेको जानकारी दिए ।
'भाषा परीक्षा र कामदारको सीपको परीक्षण गरिन्छ,' महानिर्देशक दवाडीले भने,' कोभिडका कारण अनलाइनबाट कामदारको परीक्षा लिन सकिन्छ । निर्देशिका समितिले कुन 'मोडालिटी'को स्वीकृत हुन्छ त्यसैको आधारमा परीक्षा लिने व्यवस्था हुन्छ ।' माग अनुसारको कामदार पठाउन सकेको भए कामदारको कोटा बढेर आउन सक्ने उनले बताए ।
दवाडीले मन्त्रिपरिषदले निर्देशिका पास गर्न ढिला गरेकाले विभागले कामदार पठाउने प्रक्रिया अगाडि बढाउन समस्या भएको उनले बताए । सरकारले विभागमा निर्देशिका पास गरेर पठाउँदा निषेधाज्ञा सुरु भइसकेकाले कामदारको विषयमा केही गर्न नसकिएको उनको भनाइ छ ।
विभागले मस्यौदा गत माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले थप परिमार्जन गरी कानुन, परराष्ट्र र अर्थ मन्त्रालयबाट राय लिई स्वीकृतिका लागि मन्त्रिपरिषद् लगेको थियो ।
परीक्षा मोडालिटीका लागि इजरायल पक्षसँग छलफल भएकाले जस्तो मोडालिटीमा परीक्षा लिने भन्ने सुझाव आउँछ त्यहीँ अनुसार अगाडि बढ्ने उनले जनाए। 'केयर गिभर'का लागि घर र अस्पतालमा कामदार लाने गरी सम्झौता भएको उनले जानकारी दिए । ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष पठाउन सकिने उनले बताए ।
नेपालका लागि इजरायलका राजदूत हनान गाेडेरले पनि कामदार लैजाने प्रक्रिया अघि बढेको बताए । 'हामीले पहिलेदेखि नै सरकारी तहमा लैजान प्रयास गरेको हो । बाहिरबाट लैजादा निकै धेरै रकम लिएको लिखित उजुरी नै कामदारबाट आएपछि निजी क्षेत्रबाट कामदार लिने कार्य रोकेका हौँ,' राजदूतले भने, 'हामी नेपाली कामदारको पासपाेर्ट बनाउने, टिकट र बिमा खर्चबाहेकको कल्पना समेत गर्न सक्दैनौँ । इजरायल पुग्ने कामदारलाई त्यहाँको नागरिक सरह व्यवहार गर्ने छौँ ।'
रोजगारदाताले जाने शुल्क नव्यहोरेमा कामदार आफैँले व्यहोर्नुपर्ने अवस्था आउन सक्ने दवाडीले बताए । वैदेशिक रोजगार बोर्डमा बिमाको सम्पूर्ण रकम कामदार आफैँले तिर्नुपर्ने उनलेब बताए । करिब सात महिना अघि ५ सय कामदारको माग आए पनि अहिलेसम्म पठाउन सकेको छैन ।
कामदार पठाउने निर्देशिका जारी भएपछि कोभिडको दोस्रो लहर सुरू हुँदा नेपाली कामदार पठाउन नसकिएको उनको भनाइ छ । इजरायल सरकारको तर्फबाट श्रममन्त्री र नेपाली दूतावासले असोज १४ उक्त मागप्रति सम्झौता गरेका थिए । नेपालमा इजरायली राजदूत र श्रम तथा रोजगार मन्त्रालयमा सम्झौता भएको थियो ।
को-को जान पाउनेछन् ?
सरकार-सरकार (जीटूजी) मार्फत कामदार इजरायल जान पाउनेछन् । इजरायलमा जाने नेपाली २५ देखि ४५ वर्ष उमेर समूहको हुनुपर्छ । 'प्लस टु' पास गरेर तीन महिनाको 'केयर-गिभर' तालिम लिएकाहरू प्राथमिकतामा पर्नेछन् ।
इजरायल जान हिब्रु र अंग्रेजी भाषाको सामान्य ज्ञान हुनुपर्छ । ४.९ फिट र ४५ केजी भन्दा बढी भएका व्यक्ति मात्रै इजरायल जान पाउने छन् । शारीरिक तथा मानसिक रूपमा स्वस्थ, असल चरित्र भएको व्यक्ति मात्र छनोटमा पर्नेछन् ।
योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन आवेदन दिनुपर्नेछ । वैदेशिक रोजगार विभागले सूचना जारी गरी सक्कल कागजातसहित समय तोकेर उपस्थिति गर्न अनुरोध गर्छ ।
विभागले आवेदकको उचाइ र तौल परीक्षण गरी अनलाइनमा प्रविष्ट गर्छ । त्यसपछि मात्रै अंग्रेजी भाषा परीक्षणमा सामेल हुन पाइन्छ । भाषा परीक्षणपछि परीक्षार्थीले प्राप्त गरेको अंक अनलाइन प्रोफाइलमा प्रविष्ट हुन्छ ।
छनोट समितिले २५ प्रतिशत बढी उम्मेदवारको नामावली तयार गर्छ । उक्त नामावली इजरायलको पीआईबीएलाई पठाई सोको विवरण विभागको वेबसाइटमा राख्नुपर्नेछ । विभागले पठाएको सूचीका आधारमा पीआईबीएले अन्तिम उम्मेदवार छनोट गर्छ ।
अन्तिम छनोटमा परेका उम्मेदवारको करारनामामा हस्ताक्षर गरी इजरायलले विभागमा पठाउने छ । विभागले सम्बन्धित व्यक्तिको हस्ताक्षर गराएर श्रमिकलाई इजरायल पठाउनेछ । न्यूनतम मासिक १५ सय डलर (डेढ लाख नेपाली) पारिश्रमिक पाउनेछन् ।
इजरायल वैदेशिक रोजगारीका गन्तव्य मुलुकमध्ये आकर्षक मानिन्छ । सन् २०१२ देखि कामदार जान राेकिएको तर सन २०१५ मा पुन: निजी क्षेत्रबाट नै कामदार लैजाने गरी सम्झौता भए पनि सरकारी तवरबमा नै लैजाने निर्णय भएको हो । सरकारी तहमा लैजाने भनेर सम्झौता भए पनि कामदार इजरायल जान पाएका थिएनन् । तीन वर्ष अघि एक सय को हाराहारीमा कामदार गए पनि थप कामदार जान पाएका छैनन् ।
नेपालका कर्मचारीतन्त्रले नै निजीलाई दिने वा आफ्नो शैलीमा कामदार छान्न सक्ने प्रकारको प्रावधान राख्न खोज्दा यसमा ढिलाई भएको मन्त्रालयका एक कर्मचारीले बताए । 'केयर गिभर', 'नर्सिङ क्षेत्र', अस्पताल, 'नर्सिङ होम', दिवा सेवा केन्द्रलगायत नेपाली श्रमिक लैजानेछ ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया