झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

झापा - झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले रोग नियन्त्रणका लागि औषधि खुवाउने अन्तिम पटकको अभियान आज सुरु हुँदैछ ।
कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा हात्तीपाइलेको समस्या छ । झापाका १५ वटै पालिकाको एक सय ३१ वडामा नौ लाख ६१ हजार आठ सय ६१ जनालाई वैशाख १६ देखि ३० गतेसम्ममा औषधि खुवाउने अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले बताए । कोशी प्रदेशका झापाबाहेकका १३ जिल्लामा हात्तीपाइले निवारण भइसकेको छ । हाल झापामा दुई सय ८० जनाभन्दा बढी रोगी पहिचान भएका छन् । पहिचान नभएका रोगीको सङ्ख्या अझ धेरै हुनसक्ने उनको अनुमान छ ।
हात्तीपाइले रोग नियन्त्रणका लागि धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा पनि आजै अभियान सञ्चालन हुँदैछ । सामुदायिकस्तरको सङ्क्रमण नरोकिएकाले झापामा औषधि सेवन अभियान सञ्चालन गरिएको कार्यालय प्रमुख बाराकोटीले बताए ।
यस वर्ष एकपटक, अन्तिमपटक’ नाराका साथ सञ्चालित अभियानलाई सफल बनाउन झापामा सात सय ५० स्वास्थ्यकर्मी र छ सय छजना स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । स्वास्थ्य कार्यालयकाअनुसार हालै जिल्लाको दक्षिणी क्षेत्रस्थित झापा गाउँपालिकामा गरिएको एक अध्ययनले लामखुट्टेको शरीरमा हात्तीपाइले रोग सङ्क्रमण गराउने परजीवीको सङ्ख्या एक दशमलव ४४ प्रतिशत पाइएको थियो । कचनकबल, अर्जुनधारा, मेचीनगरमा हात्तीपाइलेका रोगीको सङ्ख्या अधिक छ । गत वर्ष झापामा ७८ प्रतिशत जनसङ्ख्याले हात्तीपाइले निवारणका लागि औषधि सेवन गरेको थियो । यसपटक ९५ प्रतिशतलाई खुवाउने लक्ष्य छ ।
वैदेशिक रोजगारीमा गएका झापाका छजना त्यहाँ हात्तीपाइले रोगको पहिचान भएपछि रोजगारी गुमाएर स्वदेश फर्किनुपरेको छ । मेचीनगरका तीन, बाह्रदशीका दुई र कचनकबलका एकजना मलेसियाबाट नेपाल फर्किएका हुन् । झापामा १२ वर्षदेखि सरकारले हात्तीपाइलेविरुद्ध औषधि खुवाउने अभियान सञ्चालन गर्दै आएको छ ।
चिकित्सकहरूका अनुसार हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने एक प्रकारको सङ्क्रामक रोग हो । मसिनो धागो आकारको जुकाजस्तै परजीवीको सङ्क्रमणले यस्तो रोग लाग्छ । सङ्क्रमण भएको आठदेखि १३ महिनामा मात्र रोगका लक्षण देखा पर्छ । यो रोग लागेकाको खुट्टा, अण्डकोष र स्तन सुन्निन्छ ।
रासस

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

प्रतिक्रिया