आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

१४ खर्ब ७० अर्ब विनिमय सञ्चिति, १५ महिना आयात धान्ने

काठमाडौं : असोज मसान्तमा विदेशी विनिमय सञ्चिति ४.९ प्रतिशतले बढेको छ । असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ पुगेको थियो । 

असोज मसान्तमा रु.१४७० अर्ब २६ करोड पुगेको छ । आर्थिक वर्ष २०७७÷७८ को तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १४.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको विश्लेषण छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति  असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा असोज मसान्तमा १२ खर्ब ८८ अर्ब ५५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा असोज मसान्तमा १ खर्ब ८१ अर्ब ७१ करोड पुगेको छ । २०७७ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत छ ।

विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९ प्रतिशत, ११७.३ प्रतिशत र ३२.९ प्रतिशत छन्। असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत थिए ।