काठमाडौँ-तराई-मधेश द्रुत मार्गको भौतिक प्रगति ३३ प्रतिशत

काठमाडौँ- रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई जिम्मेवारी सुम्पिएको काठमाडौँ-तराई-मधेश द्रुत मार्गसहित चारवटै उत्तर-दक्षिण रणनीतिक सडकको निर्माणमा विनियोजित बजेटअनुरुप शतप्रतिशत नै लक्ष्य हासिल भइरहेको बताएका छन् ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सदस्यले उठाएको प्रश्नको जवाफमा उहाँले देशको कठिन भूगोल र दुर्गम स्थानलाई सडक सञ्जाल जोड्ने सरकारको लक्ष्यलाई सेनाले सहयोग पु-याइराखेको बताए । मन्त्री उप्रेतीले भने, 'सेनाको जनशक्ति तथा उपकरणको उपलब्धताको तुलनामा न्यून बजेट विनियोजन हुँदा क्षमताको पूर्ण सदुपयोग हुन सकेको छैन । मुलुकको आर्थिक समृद्धि र रणनीतिक महत्वसँग जोडिएका सडक छिटो सम्पन्न गर्न मन्त्रालयले हरसम्भव समन्वय गरिरहेको छ ।'
आयोजना निर्माणकार्य समयमा पूरा गरी सर्वसाधारणले छिटो लाभ प्राप्त गर्न सकुन् भन्नेमा मन्त्रालय सजग रहेको बताउँदै उनले खोकना क्षेत्रको जग्गा अधिग्रहण, पूरक वातावरणीय अध्ययन, विष्फोटक पदार्थ र अन्य निर्माण सामग्री व्यवस्थापन चुनौतीका बीच निर्माणकार्य द्रुत रूपमा अघि बढिरहेको जनाए ।
प्रधानसेनापति प्रभुराम शर्माले सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजना काबुबाहेक निर्धारित समय र तोकिएको बजेटको सीमाभित्र पूरा गर्ने दृढता व्यक्त गरे ।
उनले भने, 'केही विधि र प्रक्रियाको कारण बाहेक पूर्वनिर्धारित लक्ष्यअनुरुप नै प्रगति हासिल भाएको छ, काबुबाहिरको परिस्थितिबाहेक आयोजना समयमै पूरा हुन्छ, प्रेरणा दिने र आत्मबल बढाउने काम गरौँ, शंका नगरौँ ।'
पुल र सुरुङ निर्माणलाई गुणस्तरीय तुल्याउन सेना अहोरात्र खटिएको बताउँदै प्रधानसेनापति शर्माले हालसम्म विनियोजित बजेटअनुरुप काम गर्न सफल भएकाले तोकिएको समयसीमा भित्र पूरा हुनेमा विश्वस्त भएको बताए ।
करिब ७१ किमी दूरीको काठमाडौँ-तराई-मधेश द्रुत मार्ग (फाष्ट ट्रयाक) का हालसम्म ३३ प्रतिशत भौतिक र वित्तीय प्रगति हासिल भएको सो अवसरमा जानकारी दिइयो ।
निर्माणलाई १३ समूहमा विभाजन गरी आयोजना अघि बढाइएकामा प्रस्थान विन्दु क्षेत्र खोकनाबाहेक अरू क्षेत्रको काम भकाभक अघि बढिरहेको जानकारी दिइयो । त्यस मार्गमा बनाइनुपर्ने छ वटा सुरुङमध्ये तीन वटाको निर्माण समग्रमा ७६ प्रतिशत प्रगति हासिल भएको बताइयो ।
आयोजनाका लागि हालसम्म ३० हजार ५९१ रुख कटान गरिएकामा एक रुख बराबर २५ का दरले पाँच लाख विरुवा रोपेर हुर्काउने कामसमेत भइरहेको सेनाको भनाइ छ । केही रुख कटान, केही जग्गा अधिग्रहण, मुआब्जा वितरण लगायतका समस्या भने सुल्झाउन बाँकी नै रहेको जानकारी दिइयो ।
रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले राजनीतिक, धार्मिक र सांस्कृतिलगायतका विभिन्न विषयवस्तुसँग गाँसिएको रणनीतिक महत्वको आयोजनालाई तीव्र गतिमा अघि बढाउन समयमै पर्याप्त बजेटको अभावमा श्रोत, जनशक्ति र उपकरणको पूर्ण रूपमा सदुपयोग हुन नसकेको प्रतिक्रिया दिए ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा दीपककुमार खरालले मुलुकको सर्वाधिक प्राथमिकता प्राप्त आयोजना समयमै सम्पन्न गर्ने सेनाको प्रयासमा मन्त्रालयका तर्फबाट हरसम्भव सहयोग र समन्वय भइरहेको विश्वास दिलाए ।
सेनाको व्यवस्थापनमा निर्माण भइरहेका रणनीतिक महत्वका चार वटा उत्तर-दक्षिण सडकको समग्र प्रगति भने ८८ प्रतिशत रहेको पनि सो अवसरमा जानकारी दिइयो ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले मुलुकको रणनीति महत्वको द्रुत मार्गलगायतका उत्तर-दक्षिण सडक कोरिडोर मन्त्रालयको प्राथमिकतामा रहेको बताए ।
यसअघि बैठकमा सेनाको तर्फबाट द्रुत मार्ग र रणनीतिक महत्वको उत्तर-दक्षिणका चार वटा सडकको हालसम्मको कार्यप्रगति, कठिनाइ र चुनौतीबारे समितिलाई जानकारी दिइयो ।
नेपाली सेनाका सहायक रथी विकास पोखरेलले द्रुत मार्गका लागि अधिग्रहण गर्नुपर्ने १५ हजार ४१६ रोपनी जग्गामध्ये ३९२ बाँकी नै रहेको तथा प्रस्थान विन्दुमा देखिएको समस्या सुल्झाउन विभिन्न ६ विकल्पमा अध्ययन भइरहेको जानकारी दिए ।
सेनाले विभिन्न कानुनी, नीतिगत, प्रक्रियागत कार्य र भौगोलिक चुनौतीका बीचमा पनि आफ्नो नेतृत्वमा अघि बढिरहेका आयोजनालाई समयमै पूरा गर्न दिलो ज्यान र सम्भव भएसम्मको ज्ञान प्रयोग गरी पारदर्शी ढङ्गबाट लक्ष्य बमोजिम काम भइरहेको जनाएको छ । करिब रु दुई खर्ब ११ अर्ब ९४ करोडको लागतमा अघि बढिरहेको द्रुत मार्गमा हालसम्म रु ५७ अर्ब खर्च भइसकेको जानकारी दिइयो ।
यसअघि बैठकमा सदस्यले आयोजनासम्बन्धी आएका विभिन्न टिक्काटिप्पणी, प्रगति र सुल्झाउन पर्ने अड्चनबारे जिज्ञासा राखे । बैठकमा सभापति रामहरि खतिवडाले मुलुकको आर्थिक विकास र समृद्धिसँग प्रत्यक्ष सरोकार जोडिएका कोरिडोर र द्रुत मार्ग समयमै सम्पन्न गर्न आवश्यक बजेट विनियोजनका लागि समितिले सरकारलाई निर्देश गरेको बताए ।
यसअघि समितिले सेनासँग गत पुसमा ती आयोजनाका बारेमा जानकारी लिएको थियो । विसं २०७४ जेठमा शिलान्यास भई २०७६ असोजबाट कार्य प्रभारम्भ भएको द्रुत मार्ग आगामी २०८३ चैतसम्ममा निर्माण पूरा गर्ने गरी सेनाको व्यवस्थापनमा अघि बढिरहेको छ ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया