महानगरको सार्वजनिक शौचालय छैन प्रयोग, स्मार्ट शौचालय बनाउने डिजाइन कुर्दै
'शौचालय सफाइ गर्न सबै सामग्री उपलब्ध गराउँछौ'

काठमाडौँ- गत असारमा काठमाडौँ महानगरपालिकाले शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका ३३ संघसंस्थासँग काठमाडौं महानगरपालिकाले सम्झौता गर्यो । बैंक, रेस्टुरेन्ट, विद्यालय, प्रकाशन गृह, बिजनेस कम्प्लेक्ससहित ३२ संघसंस्थाका प्रतिनिधिसँग महानगरले सम्झौता गरेकाे थियाे ।
महानगरभित्र आवतजावत गर्ने सर्वसाधारणका लागि महानगरका प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथपौड्यालको रोहबरमा भएको महानगरले दोस्रो पक्षसँग सम्झौता गरेको थियो । यसलाई समर्थन गर्दै निजी क्षेत्रका बैंक, रेष्टुराँ तथा व्यवसायीहरूले आफ्ना शौचालय सर्वसाधारणलाई निःशुल्क प्रयोग गर्न दिने घोषणा गरे ।
महानगरका जनप्रतिनिधिले लोकप्रियताका लागि सार्वजनिक शौचालयको अवधारणा लागू गरे पनि व्यवहारमा खासै प्रभावकारी नभएको महानगरबासीले गुनासो गर्न थालेका छन् ।
महानगरपालिकाले सार्वजनिक शौचालयको अवधारणा ल्याएर राम्रो कदम चाले पनि महानगरले प्रभावकारी रुपमा अनुगमन नगर्दा यो कार्यक्रम राम्रो हुन नसकेको काठमाडौँ महानगरपालिका ३१ की सुनिता दुलाल बताउँछिन् ।
महानगरले सार्वजनिक शौचालय बनाउन विभिन्न ठाउँमा सुरुमा लोगो लगाउँदै हिँडेको कर्मचारीलाई देखेको उनले बताइन् । अहिले भने शौचालयको प्रयोग तथा अनुगमनका लागि कोही पनि नदेखेको उनको भनाइ छ ।
‘मैले सुरुमा राम्रो काम हो खुसी भएको थिए ,’ उनले भनिन, ‘ शौचालयको स्तरोन्नति गर्ने काम छैन । मानिसले शौचालय खोजे पनि भेटिने अवस्थामा छैन ।‘
केही ठाउँका व्यवसायीहरूले शौचालय प्रयोगका लागि बनाइएको लोगो हटाउन थालेका छन् । बानेश्वरका एक रेष्टुरेण्ट सञ्चालकले सुरुमा सार्वजनिक शौचालय बनाए पनि अहिले हटाएको उनले बताए । रेष्टुरेण्ट शौचालय प्रयोग गर्न बिहानदेखि आउनेले फोहोर गर्ने गरेकाले हटाउनु परेको उनको भनाइ छ ।
‘शौचालय प्रयोग गर्न सर्वसाधारणले फोहोर गरेका छन् । शौचालय सफा गरेर सर्वसाधारणलाई सेवा दिए पनि महानगरले व्यवसायीलाई चौतर्फी पेल्दै लगेका छन्,’ उनले भने, ‘महानगरले सरसफाइको सामग्री पनि दिएनन् । हामीले सधैँ आफ्नो सामान प्रयोग गरेर शौचालयको सधैँ सफा गरिरह्यौ ।‘
महानगरपालिकाले सार्वजनिक शौचालयको प्रयोगमा सर्वसाधारणलाई सहज बनाउने उद्देश्यले ल्याए पनि पछिल्लो समय यसको बेवास्ता हुँदै गएको छ । प्रयोगमा ल्याएका सञ्चालकले यो सेवाप्रति असन्तुष्टि बढ्दै गएको बताउन थालेका छन् । महानगरले सार्वजनिक शौचालयको स्तरोन्नति गर्नलाई स्मार्ट शौचालयको धारणा अगाडि सारिएको महानगरका निजी सरकारी साझेदारी विभाग प्रमुख नरेन्द्र विलास बज्राचार्य बताउँछन् ।
स्मार्ट शौचालय बनाउनका लागि महानगरको शहरी विभागमा पठाइएको उनले बताए । विभागबाट फाइनल भएर आएपछि शौचालयको काम अगाडि बढाइने उनको भनाइ छ ।
‘ डिजाइन फाइनल भएर आएपछि हामीले प्रत्येक वडामा एक शौचालय बनाउनेछौ,’ बज्राचार्यले इकागजसँग भने,’ शौचालय बनाउनका लागि टेण्डर आव्हान गर्नेछौ । साझेदारी मोडलमा बनाउनेछौ ।‘
सुरुवातमा सात देखि आठ वडामा स्मार्ट शौचालय बनाइने उनले सुनाए । पहिलो चरणमा केही वडामा बनाइ सकेपछि अन्य वडामा यो काम बिस्तार गरिने उनले उल्लेख गरे ।
काठमाडौँ महानगरका प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले सार्वजनिक शौचालयको प्रयोग सर्वसाधारणलाई सहज होस भनेर ल्याइएको अवधारणा रहेको बताए । सहरमा शौचालय खोज्ने दुःखबाट टाढा रहन सार्वजनिक शौचालयको व्यवस्था गरिएको उनको भनाइ छ ।
‘सार्वजनिक शौचालय भएका ठाउँमा महानगरले सरसफाइका आवश्यक सामग्री दिने तयारी गरिरहेको छ,’ जोशीले भने,’ सुरुवातीमा बैंक र पेट्रोल पम्पसँग सम्झौता गरिसकेको छ । सम्झौता भइसकेका ठाउँमा सबैलाई सफाइको आवश्यक सामग्री उपलब्ध गराइएको छ ।
उनका अनुसार पेट्रोल पम्पमा ४८ वटा सार्वजनिक शौचालय छ । बाँकी शौचालय बैंकमा रहेका छन् । होटल तथा रेष्टुरेण्टसँग सम्झौता गर्न लागिएको जोशीले बताए । ‘सम्झौता गरेपछि शौचालय सफाइका लागि आवश्यक सामग्री उपलब्ध गराइनेछ,’ उनले अगाडि थपे ।
महानगरले बनाउने स्मार्ट शौचालयको विशेषताहरु :
- शौचालयमा तीन कोठा रहने छन् । त्यस मध्य एक कोठा अपांगमैत्री अर्थात रेलिङ, र्याम्प तथा ध्वनिको समेत सहायता हुने गरि बनाइने छ ।
- तीन वटै शौचालय कमोड जडित हुनेछन् भने प्रयोग अघि र प्रयोग पछि स्वचालित रुपमा कम पानी प्रयोग गरि सफा गर्ने प्रविधि युक्त रहने छन । प्रयोग कर्ताले आफै फ्लस गरेर सफा गर्न चाहेमा पनि गर्न सक्नेछन् तर उसले फ्लस गर्न भुलेमा यन्त्र आफैले सफा गरि दिने छ ।
- महिला र पुरुषको फरक फरक शौचालय हुनेछ ।
- निश्चित संख्याको प्रयोगकर्ताले प्रयोग गरि सके पछि शौचालयले सबै भित्ताहरु स्वचालित रुपमा सफा गर्ने छ ।
- शौचालय कोठा भित्र प्रशस्त हावा संचार हुनेछ । साथै संगीत ध्वनी तरंगित भइ रहनेछ ।
- शौचालय भित्र हात धुनको लागि धारा, साबुन तथा फोहर फ्याँक्ने कन्टेनर (महिलाहरूको लागि प्याड विसर्जन समेत गर्न सकिने गरि) को व्यवस्था हुनेछ । धारा तथा साबुन सेन्सरको सहयोगले आवश्यक पर्दा मात्र खुल्ने गरि बनाइएको हुनेछ ।
- शौचालयको बाहिरी गेटमा सम्पूर्ण सूचना (Open, Free, Occupied, under maintenance आदि) डिस्प्ले हुने सुविधा रहनेछ ।
- शौचालयमा पानी सकिएको, साबुन सकिएको, डिटर्जेन्ट सकिएको जस्ता सूचना शौचालय भन्दा टाढा रहेको सुपरभाइजर कहाँ राखिएको स्क्रिनमा तत्काल देखिने छ । साथै भोलिका दिनमा आवश्यक परेमा पानी आपूर्ति गर्ने टैंकर संचालकको मोबाइलमा सिधै जाने व्यवस्था पनि गर्न सकिने छ ।
- शौचालयमा पानी, साबुन, डिटर्जेन्ट आदि जुनसुकै सामग्री खालि भएको अवस्थामा शौचालयको ढोका खुल्ने छैन ।

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

यस्तो छ आजको मौसम

आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित

प्रतिक्रिया