पैसा ‘रिफन्ड’ माग्दै जब एक विद्यार्थी विद्यालय पुगे

कुनै विद्यार्थीले जीवनमा पढेर केही गर्न नसकेको भन्दै शुल्क फिर्ता माग्न गयो भने के होला ? विद्यालयले पैसा फिर्ता देला ? के गर्ला ?
बाबुराम बस्नेत ती विद्यार्थी हुन् । जो पढेर केही नजानेको भन्दै ४० वर्षसम्म जीवनमा धेरै ठक्कर खाएपछि आफ्नो स्कुलको ८० प्रतिशत अंक ल्याएको प्रमाणपत्र बोकेर शुल्क फिर्ता माग्न विद्यालय पुगेका छन् । बाबु-आमा गरिब भए पनि आफ्नो छोरालाई राम्रो विद्यालयमा पढाउने सपना बोकेर उनलाई सुकेधारास्थित एउटा राम्रो बोर्डिङ स्कुलमा भर्ना गरिदिन्छन् । विकटबाट काठमाडौँ आएका उनले महँगो निजी विद्यालयमा पढे । परीक्षामा उत्कृष्ट अंक ल्याए । तर उनले ल्याएको नम्बरले उनको जीवन सहज बनाएन । न उनले पाएको प्रमाणपत्रहरूले नै उनले जागिर पाए । उनी यता उता भौतारिए । जीवनमा धेरै हण्डर र ठक्कर खाए ।
अति सामान्य कुराहरूबारे केही ज्ञान नभएको भन्दै साथीभाइ, इस्टमित्रलगायत आफन्तजनले उनलाई गिज्याए, उडाए। साथीहरूले बाबुरामलाई विद्यालयले केही नसिकाएको भन्दै शुल्क 'रिफन्ड' गर्न सल्लाह दिए । अनि पुगे आफू पढेको विद्यालय ।
उनले विद्यालयका प्रिन्सिपल जीवन बस्नेतलाई भेटे । आफूले अध्ययनका क्रममा विद्यालयमा तिरेको शुल्क फिर्ता मागे । सुरुमा त प्रिन्सिपल जीवनले बाबुरामलाई चिनेनन् । जीवनले यस्ता वाहियात कुरा नगर्न भन्दै बाबुरामलाई बाहिर जान भने । तर बाबुरामले अड्डी कसे । उनले शुल्क फिर्ता नभएसम्म बाहिर नजाने बताए । आफ्नो शुल्क फिर्ता नदिए स्कुलमा धर्ना दिने धम्कीसमेत दिए ।
आफूले पढेर केही नजानेको र जीवनमा धेरै नै लज्जित हुनु परेको बाबुरामले प्रिन्सिपललाई सुनाए । ८० प्रतिशत अंक ल्याएर उत्तीर्ण गरेर राम्रो भनिने विद्यार्थीले आफ्नो आमालाई औषधिसम्म गर्न नसक्दा अकालमै आमाको मृत्यु भएको घटनासम्म सुनाए । बाबुरामले आफ्ना प्रमाणपत्र कामै नलाग्ने भएकाले पुनः परीक्षा लिन प्रिन्सिपललाई आग्रह गरे । परीक्षा पास गरे शुल्क फिर्ता गर्न नपर्ने र फेल भए शुल्क फिर्ता गर्नुपर्ने माग उनले राखे । त्यसमा प्रिन्सिपल सहमत भए । उनले अन्य शिक्षकहरूलाई बोलाएर बाबुरामको परीक्षा लिन भने । तर, विद्यालयले परीक्षा लिँदा सजिलो प्रश्न सोध्ने र जसरी पास गराउने निर्णय गरे ।
पालैपालो सामाजिक, विज्ञान, गणित, अंग्रेजी र नेपाली शिक्षकहरूले उनलाई प्रश्न सोधे । बाबुरामले पटकै पिच्छे गलत उत्तर दिए । तर ती विद्यालयका शिक्षकहरूले घुमाइ फिराइ सबै उत्तर सही भएको जवाफ दिए । विद्यालयका शिक्षकहरूले पैसा फिर्ता गर्नुपर्ला भनेर गलतलाई पनि सही भनिदिए । बाबुराम निराश भए ।
यो कुनै मानिसको वास्तविक जीवनको कहानी भने हैन । यो हो हंगेरीका लेखक फ्रेन्च करेन्थीले सन् १९३८ मा लेखेको रिफन्ड नाटकको सार । यो नाटक नेपाली कलाकारले मञ्चन गरिरहेका छन् । करेन्थीका नाटकलाई प्रजाल दुलालले नेपालीमा रुपान्तरण गरेका छन् ।
अहिले काठमाडौँको ओस्कार इन्टरनेशनल कलेजको साधना थिएटरमा नाटक रिफन्ड मञ्चन भइरहेको छ । डान्स फिवरको प्रस्तुति रहेको नाटकमा शिक्षा प्रणालीलाई व्यंग्य गरेको छ । जुन हाम्रो देशको अहिलेको शिक्षा प्रणालीसँग ठ्याक्कै मेल खान्छ । निजी विद्यालय, तिनीहरूले दिने शिक्षा र शिक्षा लिएपनि काम नपाउने अवस्था आज पनि उस्तै छ ।
नाटककाे सबल पक्ष
नाटकले छिनमै पेट मिचीमिची हसाउँछ भने छिनमै भावुक बनाइदिन्छ । बाबुराम यस्ता पात्र हुन् उनकै वरिपरी नाटक घुमेको छ । उनले पाएका दुख हण्डरहरूले दर्शकलाई भावुक बनाइदिन्छ । उनले रिफन्ड गर्न लागेको शुल्कका कुरा अनौठा लाग्छन् । किनकी यस्ता अभ्यासहरू भएका हामीले सुनेका छैनौं ।
एक घण्टाको नाटकमा दर्शकहरुले समय गएको पत्तो नै पाउँदैनन् । नाटकमा स्कुलको प्राध्यापक, कार्यालय सहयोगी, विज्ञान शिक्षक, गणित, सामाजिक, अंग्रेजी शिक्षक र बाबुराम गरी ८ जना पात्र छन् । यी पात्रहरूको माध्यमबाट अहिलेको शिक्षा क्षेत्र, शैक्षिक संस्था र एक गरीब निमुखा मध्यम वर्गीय परिवारमा परेको घतलाग्दो घटना र आजको समाजको तीतो यथार्थ प्रस्तुत गरिएको छ । उनीहरुको जीवन्त अभिनयले दर्शकलाई भरपुर मनोरञ्जन दिन्छ ।
नाटकमा अनेक हण्डर खाएर बाबुराम विद्यालय पुग्दा जो कोहीको आँखा रसाउँछ । त्यस्तै बाबुरामले पैसा नहुँदा आफ्नी आमाको उपचार गर्न नपाएको कुराले दर्शकलाई धरधरी रुवाइदिन्छ । त्यस्तै उसले आफ्नो साथीबाटै केही नजानेको भनेर लज्जित हुनुपरेको दृश्य हाम्रो आफ्नै जीवनको भोगाइ जस्तो लाग्छ ।
कमजाेर पक्ष
नाटकमा लाइटहरू कता कता अलि खस्किएको महसुस भयो । सायद विद्यालयको हलको कमजोरीले पो हो की ? नाटकको बीचमा ढोका खोली राख्दा दर्शकलाई अलि 'बाेर' बनायाे । जुन नाटक व्यवस्थापककाे अर्को कमजोर पक्ष हो । राम्रो लाइटिङ मिलेको भए दृश्यहरु अझ सशक्त र दमदार हुने थिए । मेरो यो जीवनको पहिलो शो जसमा मैले समय बितेको पत्तो नै पाइन । सुरुदेखि अन्त्यसम्मका नयाँ-नयाँ सस्पेन्सले नाटक झनै रोचक बनायो ।
काे काे पात्र छन् ?
डान्स फिवरको प्रस्तुति रहेको नाटक डान्स फिवरको तर्फबाट संगम विष्टले उत्पादन गरेका हुन् । नाटकमा ओस्कार इन्टरनेशनल कलेजका विभिन्न ब्याचका विद्यार्थीले सशक्त अभिनय गरेका छन् । यो नाटक कक्षा ११ को अनिवार्य अंग्रेजी पुस्तकमा समावेश छ । नाटकमा जीवन बस्नेत, विशाल रिजाल, निक्रित श्रेष्ठ, योगेन्द्र राना, इशा सिजाली, झलनाथ खत्री, युदिप सिटौला र अमृत घिमिरेको जीवन्त अभिनय छ ।
जीवन बस्नेत प्रिन्सिपलको भूमिकामा देखिन्छन् । इशा सिजाली अंग्रेजी शिक्षकको भूमिकामा छिन् । त्यस्तै युदिप सिटैला विज्ञान शिक्षक, योगेन्द्र राज राना सामाजिक शिक्षक, विशाल रिजाल गणित शिक्षक, अमृत घिमिरे नेपाली शिक्षकको भूमिकामा देखिन्छन् । निक्रित श्रेष्ठ पिउनको भूमिकामा छन् भने कथाका मुख्यपात्रको भूमिका झलनाथ खत्रीले जीवन्त बनाएका छन् ।
नाटक फागुन २७ गतेदेखि प्रदर्शन भइरहेको छ । दैनिक ३ देखि ७ साे मा देखाइन्छ । नाटक हेर्न कलाकारहरूसमेत साधना थिएटर पुगेका छन् । विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षहरूसमेत नाटक हेर्न पुगेका छन् । सक्किगोनि टिमका कलाकारहरूले पनि साधना थिएटर पुगेर नाटक हेरेका छन् । डान्स फिवरकी प्रबन्ध निर्देशक निस्मा घिमिरे विद्यार्थीहरूले यो नाटक हेर्नुपर्ने सुझाव दिन्छिन् । 'काठमाडौँका विभिन्न स्कूल तथा कलेजहरुबाट विद्यार्थीहरू आइराख्नु भएको छ', उनले भनिन् 'आउन बाँकीहरुलाई पनि रिफन्ड हेर्न म अनुरोध गर्दछु ।' रिफन्ड चैत ३ गतेसम्म प्रदर्शन हुने उनले जानकारी दिइन् ।
नाटकले दिन खोजेको सन्देश
रिफन्ड बाबुरामको जीवनको दुखद कहानी हो । यो हाम्रो आफ्नै कहानी पनि हो । राम्रो पढाइ हुन्छ भनेर महँगो विद्यालयमा अध्ययन/अध्यापन गर्ने परिपाटी हाम्रो समाजमा छ । महँगो भन्दैमा राम्रो हुन्छ भन्ने सोच गलत छ ।
राम्रो नम्बर ल्याउँदैमा कोही सर्वोत्कृष्ट हुँदैन । उसले जीवनमा आउने समस्याहरूलाई कसरी समाधान गर्छ भन्ने मुख्य कुरा हो । अर्को महँगो विद्यालयमा पढ्दै र राम्रो अंक ल्याउँदैमा राम्रा अवसर पाइन्छ भन्ने छैन ।
निजी विद्यालयले पैसा लिनका लागि जे कुरालाई पनि सही भनिदिन्छन् भन्ने आरोप यो नाटकले पनि पुष्टि गरेको छ । कतिपय निजी विद्यालयले परीक्षामा विद्यार्थीहरूलाई उत्तर लेखिदिएर सिकाएर धेरै नम्बर आएको सुन्न पाइन्छ । विद्यार्थीले कापीमा लेखेको पाएको नम्बर भन्दा पनि शिक्षक, विद्यालयबाट सिकेर जीवन कसरी सहज बनाउँछ भन्ने मुख्य कुरा हो ।
शिक्षकले विद्यार्थीको जीवन सहज बनाउने शिक्षा दिनुपर्छ । बाबुरामलाई जस्तो कमजाेर र असहज बनाउने शिक्षा कोहीलाई दिनुहुँदैन नाटकले दिन खोजेको सन्देश छ ।
र, याे पनि
- ओस्कार कलेजमा नाटक 'रिफन्ड' प्रदर्शन, आइतबार अन्तिम दिन
- शैक्षिक बेरोजगारको कथा (फोटो फिचर)

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुँदै, १३ देशको सह…

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ शो हुँदै
काठमाडौँमा दक्षिण एसियाली उत्कृष्ट महिला कलाकारका सिर्जनाको प्रदर्शनी हुने

मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै

मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’

मह जोडीको अन्तिम प्रहसन 'मह जात्रा' कमलादीमा सुरू

प्रतिक्रिया