शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

बाल सुधार गृहलाई व्यवस्थित गर्न नीतिगत सुधार आवश्यक : मन्त्री चौधरी

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बाल सुधार गृहलाई व्यवस्थित गर्न नीतिगत सुधार आवश्यक रहेको बताएकी छन् । 

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री चौधरीले बाल सुधार गृहको मौजुदा अवस्था अवलोकन गरी नीतिगत परिमार्जनलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताइन् । 

'मन्त्रालयले नीतिगत परिमार्जनलाई पहिलो प्राथमिकतामा राखेको छ । मन्त्रालयले बाल सुधार गृहको मौजुदा व्यवस्था अवलोकन गरी यस क्षेत्रका समस्या निराकरण गर्न नीतिगत सुधार गर्न पहल गर्छौं नीतिगत रूपमा स्पष्टता ल्याउँछौँ,' उनले भनिन्, 'बाल सुधार गृहमा देखिएका समस्या संवेदनशील, गम्भीर छन् । स्थानीय तहसँगको समन्वयमा यस क्षेत्रका शिक्षा, खानेपानी, स्वास्थ्यलगायतका समस्या समाधानलाई प्रभावकारिता बनाउनेतर्फ मन्त्रालय सजग छ ।'

बाल सुधार गृहको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा विभिन्न मन्त्रालयले गरिरहेका काम कारबाहीका सन्दर्भमा समितिले महिला, कानुन, न्याय तथा संसदीय र शिक्षा, विज्ञान तथा प्रविधिलगायतका मन्त्रालयलाई आमन्त्रण गरेको थियो ।