आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

जसपाबाट मन्त्री भएका यादव र शाहले लिए शपथ

काठमाडौं - नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्रीमा नवलकिशोर साहले शपथ लिएका हुन् । 

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष यादव र सांसद साहले मन्त्री पदको शपथ लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको मन्त्रिपरिषद् २१ सदस्यीय भएको छ । 

यसअघि मन्त्रीहरूले फागुन २१ र २३ गते नै शपथ ग्रहण गरिसकेका छन् । प्रचण्ड नेतृत्वको सरकारमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र माओवादी केन्द्र सहभागी छ । 

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित समारोहमा उनीहरुलाई राष्ट्रपति पौडेलले सपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।