शवदाह गृह विवादः पोखरा महानगरले बनायो सहजीकरण समिति

पोखरा : विद्युतीय शवदाह गृह निर्माण अघि बढ्न नसकेपछि पोखरा महानगरपालिकाले सहजीकरण समिति गठन गरेको छ । महानगरको कार्यपालिका बैठकले विद्युतीय शवदाह गृह निर्माणको सम्बन्धमा सहजीकरण गर्न पोखरा-१९ का अध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा पोखरा-९ का अध्यक्ष रामराज लामिछाने र पोखरा-१० का अध्यक्ष राजकुमार गुरुङ सदस्य रहेको समिति गठन गरेको हो ।
विद्युतीय शवदाह निर्माण रोक्नुपर्ने मागसहित उच्च अदालत पोखरा र सर्वोच्च अदालतमा मुद्दा परेको छ । शान्तिवन मासेर विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकनबिनै बनाउन लागिएको भन्दै स्थानीयले निर्माणअघि नबढाउन माग गरेका हुन् ।
सहजीकरण समितिले स्थानीयको राय बुझ्ने र समाधानको बाटो पहिल्याउने महानगरका प्रवक्ता धनबहादुर नेपालीले बताए । अहिले स्थानीय पूरा जानकारीबिनै उत्तेजित भएकाले त्यसलाई शान्त पार्न सहजीकरण समिति लाग्ने उनले बताए । ‘समितिले किन बनाउन नहुने ? बने के प्रभाव पर्छ ? यसबारे समितिले राय लिन्छ,’ नेपालीले भने ।
प्रवक्ता नेपालीले विद्युतीय शवदाह गृह पोखराको आवश्यकता भएकाले विरोध अनुचित रहेको बताए । विद्युतीय शवदाह भए कोरोनाबाट मृत्यु हुनेको दाहसंस्कार पनि सहज र सस्तो पर्ने नेपाली बताउँछन् । ‘काठमाडौंमा भएको शवदाहमा कोरोनाबाट मृत्यु हुनेको पनि लास जलाइन्छ, यहाँ भएको भए शव व्यवस्थापन सहज र सस्तो पथ्र्यो,’ प्रवक्ता नेपालीले भने, ‘शवदाह गृह पोखरा महानगरको प्रतिष्ठाको पनि कुरा हो ।’
स्थानीयले काम रोक्न दिएको रिटमा उच्च अदालत पोखराले शवदाह गृह निर्माणलाई निरन्तरता दिन अन्तरिम आदेश दिएको छ । तर काठमाडौंको जनहित संरक्षण मञ्च (प्रो पब्लिक) ले काम रोक्न भन्दै सर्वोच्चमा रिट निवेदन दिएको छ ।
प्रो पब्लिकले ८ समूहलाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो । मञ्चको तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता खगेन्द्र सुवेदीलगायत ४ जनाले मुद्दा हालेका थिए । सर्वोच्चले अहिले ती ८ समूहको लिखित जवाफ कुरिरहेको छ ।
मुद्दा दायर गरेका अधिवक्ता खगेन्द्र सुवेदी भने महानगरले अदालतमा विचाराधिन मुद्दालाई प्रभाव पार्ने गरी समिति बनाएको आरोप लगाउँछन् । वनसम्बन्धि मुद्दामा महानगरको कुनै अधिकार नहुने र समिति बनाएर काम गर्ने अधिकार नभएको उनको टिप्पणी छ । ‘स्थानीय सरकार सञ्चालन ऐनले महानगरलाई वनको मुद्दामा समिति बनाएर काम गर्ने अधिकार नै दिएको छैन,’ उनले भने ।
आर्थिक वर्ष २०७५/७६ मा सहरी विकास मन्त्रालयले कास्कीमा विद्युतीय शवदाह भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो । सो अनुरुप महानगरले सिनर्जी बिल्डर्स प्रालिसँग ठेक्का सम्झौता भएपछि ड्रइङ, डिजाइन र स्पेसिफिकेसनका काम १ वर्षभित्र र बाँकी सबै काम २०७८ भित्र सक्न निर्देशन दिएको थियो ।
१७ करोड रुपैयाँ लागत निस्किएको योजना कार्यान्वयन गर्न सिनर्जी बिल्डर्ससँग १४ करोड १३ लाख रुपैयाँमा सम्झौता गरेको छ । तर ठेक्का अवधि सकिन लाग्दासम्म पनि काम भने सुरु हुन सकेको छैन ।
सेती किनारको रामघाट पहिलेबाट नै शवदाह व्यवस्थापनका लागि प्रयोग हुँदै आएको छ । बौध्द अर्घौं सदनमा मात्रै हरेक वर्ष सरदर ६ सय लास जलाइन्छन् भने सेती नदी वरपर जलाइने लासको तथ्यांक छैन ।
तर सोही ठाउँमा शवदाह भवन बनाउने निर्णयप्रति स्थानीयको मतभेद रहेको छ । बुध्दचोक वातावरण सुधार समिति तथा अन्य स्थानीयले त्यसविरुध्द आवाज उठाइरहेका छन् ।
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया