रुपन्देही सीमाबाट वर्ष दिनमा १५७ महिला तथा बालबालिकाको उद्धार

भैरहवा- पछिल्लो समय महिला तथा बालबालिकाको बेचविखन नयाँ-नयाँ शैलीले हुन थालेपछि उद्धार गर्न चुनौतीपूर्ण रहेको बताइएको छ ।
माइती नेपालले मानव बेचविखनविरुद्धका क्षेत्रमा काम गर्दै आएको छ । चेलिबेटी बेचविखन अन्त्य गर्नका लागि र बाह्य मुलुकमा अप्ठ्यारोमा परेकाहरूलाई स्वदेश फर्काउने र पुनर्स्थापनाका क्षेत्रमा काम गर्दै आएको संस्थाले जनचेतनाको अभाव, लैंगिक विभेद, घरेलु हिंसा, धार्मिक तथा समाजिक कुरीतीहरू, रोजगारीको अभाव, खुल्ला सीमानाका, कानुन कार्यान्वयन नहुनु, बसाइँसराइ र अवैध ओसारपसार, समन्वय र सहकार्यको कमी, मानव अधिकारमैत्री वातावरण नहुनु, प्रभावकारी अनुगमनको कमी, पीडकलाई राजनीतिक संरक्षण हुनु, पुनर्स्थापनाको उचित व्यवस्था नहुनुजस्ता कारणले मानव बेचविखन, ओसारपसार र हिंसाको घटना हुने गरेको माइती नेपाल, रुपन्देही कार्यक्रम संयोजक माया क्षेत्रीले बताइन् ।
उनले रुपन्देहीका सीमा क्षेत्रबाट पछिल्लो एक वर्षमा १ सय ५७ जना महिला तथा बालबालिकाको उद्धार गरिएको बताइन् । र, सन् २०२३ को अवधिमा मानव बेचविखन तथा ओसारपसार रोकथामसम्बन्धी सीमा क्षेत्रमा गरिएको निगरानीका कारण ठूलो संख्यामा उद्धार गर्न सफलता मिलेको उनले बताइन् ।
सीमा क्षेत्रमा निगरानी गर्दै विभिन्न बहानामा भारत पुर्याइँदै गरेका महिलाहरूलाई रुपन्देहीका विभिन्न नाकाबाट उद्धार गरिएको छ । उनका अनुसार सन् २०२३ मा भारतका विभिन्न स्थानबाट थप ४ जना महिलाहरूको उद्धार गरिएको हो । यस्तै, तेस्रो मुलुक (कुवेत) बाट १ जना महिलाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।
‘यो अवधिमा हामीले एउटा मानव बेचविखनविरुद्धको मुद्दासमेत दर्ता गरेका छौं,’ क्षेत्रीले भनिन्, ‘सीमा क्षेत्रमा सचेतनामूलक पर्चापम्पलेट वितरण, परामर्शलगायतका काम पनि निरन्तर चलाइरहेका छौं ।’ क्षेत्रीका अनुसार सीमा क्षेत्रमा एक वर्षमा ७ हजार २५८ जनालाई मानव बेचविखनसम्बन्धी परामर्श दिइएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालयमा रहेको केन्द्रबाट १ हजार २७८ जनालाई परामर्श दिइएको छ ।
‘यो अवधिमा ३ हजार ४९५ जनालाई प्रर्चापम्प्लेट वितरण पनि गरिएको छ,’ उनले भनिन्, ‘कहाँ जाने हो भन्ने थाहा पनि नभएका, अपरिचित व्यक्तिसँग जाँदै गरेका, साथमा एक रुपैयाँ पनि नहुँदासमेत भारत जान खोज्नेहरू, भारतमा अवैधानिक क्रियाकलापमा संलग्न गराउन लैजाँदै गरेका महिला दिदीबहिनीहरूलाई हामीले सीमा क्षेत्रबाट उद्धार र परामर्श गरिरहेका छौं ।’ उनका अनुसार खोजतलाससम्बन्धी निवेदन ३९ वटा संस्थामा आएको र यसमध्ये १९ जना फेला परेका छन् ।
संस्थामा घरेलु हिंसासम्बन्धी निवेदन १६ वटा परेका छन् । संस्थाले महिलाहरूको समस्याबारे बुझ्न ४ हजार २६ वटा सार्वजनिक यातायात चेकजाँच समेत गरेको छ । कार्यक्रम संयोजक क्षेत्रीका अनुसार उद्धार गरिएकाहरूलाई कोहीलाई लामो समय संस्थामै संरक्षण गरेर आफन्तको जिम्मा लगाइएको छ भने केहीलाई तत्कालै परिवारको जिम्मा लगाइएको छ । केही अझै संस्थाको संरक्षणमा छन् ।
क्षेत्रीका अनुसार उद्धार गरिएकाहरूमा भारतमा लगेर यौनजन्य अवैधानिक क्रियाकलापमा लगाइएका, हिंसामा पारिएका र बेचिएका महिलाहरू छन् । भारतबाट उद्धार गर्न त्यहाँका संघसंस्थाले समेत सहयोग गर्दै आइरहेका छन् । ‘भारत जानेहरू धेरैजना हिंसामा पर्ने, बेचिने, यौनजन्य क्रियाकलापमा लगाइने गरेको हाम्रो विगतको तथ्यांकले पनि देखाउने गरेको छ । यसैकारण हामीले उद्धार गरेका हौँ,’ उनले भनिन् ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया