लुम्बिनीमा फोहोरको समस्या जटिल बन्दै, पर्यटकमा नकारात्मक प्रभाव
'मायादेवी मन्दिरको पूर्वी बगैंचा र मुख्य प्रवेशद्वारमा फोहोरको दुर्गन्ध सहिसक्नु छैन'

लुम्बिनी- बढ्दो जनसङ्ख्या र पर्याप्त सुविधा नहुँदा लुम्बिनीमा फोहोरको समस्या निकै जटिल बन्दै गएको छ । बुद्ध जन्मस्थल तथा अन्तर्राष्ट्रिय पर्यटकीय नगरी लुम्बिनीमा जथाभावी फालिएका फोहोरको थुप्रो हप्तौँसम्म पनि नउठ्दा यहाँ भ्रमण गर्न आउने परेको छ ।
सडे गलेका वस्तुमात्र नभई नसडेका र त्यही स्वरूपमा काम नलाग्ने अन्य वस्तुहरू जताततै अव्यवस्थित रूपमा फालिएकाले जनस्वास्थ्य, पर्यावरण र सौन्दर्यमा असर परेको छ । बुद्ध दर्शनका लागि लुम्बिनी पुगेका भारतीय पर्यटक सञ्जय कुमारले भने, 'लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिरको पूर्वी बगैंचा र मुख्य प्रवेशद्वारमा फोहोरको दुर्गन्ध सहिसक्नु छैन ।'
लुम्बिनीलाई सफा र स्वच्छ राख्न स्थानीयसँगै लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष, विश्व वन्यजन्तु कोष, युनेस्को, एडिबी र विश्व बैंकलगायतका संघसंस्था लामो समयदेखि कार्यरत रहे पनि फोहोरको व्यवस्थापन हुन सकेको छैन । नागरिक सहकार्य मञ्च लुम्बिनीका अध्यक्ष अब्दुल जुबेर भन्छन्, 'त्यहाँ फोहोर संकलन, ढुवानी, विसर्जन र व्यवस्थापनका लागि विद्यमान प्रणाली नै अव्यवस्थित छ ।'
अहिले लुम्बिनीको प्रवेशद्वार तथा मुख्य बजार र बस्ती छेउमा जताततै फोहोर फ्याँकिएका छन् । फोहोर नपुरेकाले दुर्गन्ध फैलिएको छ । घरको फोहोर घरमै तह लगाउन सके फोहोरको सकस कम हुने पर्यटन व्यवसायी वीरेन्द्र मिश्र बताउँछन् । 'वातावरणमैत्री विकासको जिम्मेवारी नागरिकको पनि हुन्छ,' उनले भने, 'नागरिक आफैँले फोहोर व्यवस्थापन गर्नुको विकल्प छैन ।' वातावरणमैत्री ऐन, कानुन र नियमहरूले फोहोरमैलाको प्रभावकारी व्यवस्थापनमा स्थानीय जिम्मेवारीलाई जोड दिँदै आवश्यक पूर्वाधार निर्माण र सञ्चालन गर्न सामूहिक प्रयासमा जोड दिएको छ ।
सर्वसाधारणमा चेतनाको कमी र कमजोर कार्यान्वयनका कारण सोचे अनुसारको उद्देश्य हासिल हुन नसकेको सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय संजाल नेपालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीको भनाइ छ । फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन फोहोरको प्रभाव, पर्यावरण संरक्षण, र स्वच्छताको महत्व बुझाउनका लागि प्रशिक्षण र जागरूकता गराउन आवश्यक भएको अध्यक्ष कुर्मीको भनाइ छ । सामुदायिक संगठन, अनुसन्धानमूलक संघ-संस्थाहरू र सरकार समेत मिलेर सामुदायिक सहभागितामा फोहोरमैलाको प्रभावकारी व्यवस्थापन र उपयोगका लागि काम गरेमा त्यसले पर्यावरण, स्वास्थ्य र समृद्धिमा अभिवृद्धि गर्नपर्नेमा उनको जोड छ ।
फोहोर संकलनमा मात्रै केन्द्रित हुँदा लुम्बिनीमा फोहोरको विसर्जन चुनौतीपूर्ण बनेको बताउँछन्, वातावरणका जानकार डा.सतीश उपाध्याय । उनका अनुसार फोहोर संकलनमा बढी केन्द्रित हुने तर त्यसलाई राम्रोसँग तह लगाउनेबारे अध्ययन र नीतिगत निर्णय नहुँदा यसको समस्या लुम्बिनीमा मात्र होइन, नेपालभरि देखिएको छ । सहरको फोहोर तेलार नदी र सडक किनारको जङ्गलमा फाल्ने गरेकाले त्यसले पर्यावरणमा असर पारेको छ । 'नदी र जङ्गलको बीचमा फोहोर फालेर समस्याको दिगो समाधान हुँदैन' उनी भन्छन्, 'जबसम्म उपभोक्तालाई फोहोरमा मोहोर छ भन्ने बुझाउन सकिँदैन, तबसम्म यो समस्या चुनौतीपूर्ण रहिरहन्छ ।'
समान्यतया घरेलु फोहोरमैला, व्यावसायिक फोहोरमैला, कृषिजन्य फोहोरमैला र निर्माणजन्य फोहोरमैला हुन्छन् । यी फोहोरलाई जैविक फोहोर (खाना र भान्साको फोहोर), निष्क्रिय र गैर जैविक फोहोर (निर्माण र भत्काउने फोहोर) र पुनः प्रयोग गर्न मिल्ने फोहोर (प्लाष्टिक, कागज, बोतल, गिलास आदि) गरी तीन भागमा बाँड्न सकिन्छ । फोहोरको विकल्प दिँदै डा. उपाध्याय भन्छन्, 'माटाका भाँडा, नरिवल, पुरैनी र केराको पातहरू प्रयोग गर्नु प्लाष्टिकको लागि उत्तम विकल्प मानिन्छ । यसले स्थानीयलाई रोजगारीको अवसर समेत प्राप्त हुन्छ ।' कतिपय रेस्टुरेन्टहरूमा माटाको भाँडामा चिया र टपरीमा खाना दिने गरिएको छ । केहीले माटोबाटै बनाइएका सजावट सामग्रीको प्रयोग गरेका छन् । यस्ता व्यवसायीहरूलाई सरकारले प्रोत्साहित गर्नुपर्ने उनको सुझाव छ ।
डा. उपाध्याय भन्छन्, 'नेपालका सिमेन्ट उद्योग तथा हरेक सपिङ्ग सेन्टरहरूलाई प्लास्टिकको झोला र बोराको सट्टामा नेपालमै बनेको जुटको झोला र बोराहरू मात्र प्रयोग गर्नुपर्ने नियम बनाएर दशकौंदेखि बन्द भएको उद्योगलाई पुनर्जीवन दिन सकिन्छ ।' फोहोरबाट विभिन्न वस्तुहरू निर्माण गर्न, ऊर्जामा उत्पादन गर्न र प्राङ्गारिक मल उत्पादन गरी आर्थिक समृद्धि गर्न सकिने उनको भनाइ छ ।
लुम्बिनीमा फोहोर व्यवस्थापनका लागि सरसफाइ अध्ययन केन्द्र तथा हरित पार्क निर्माणको प्रक्रियामा छ । नगरपालिकाले पाँच जना सफाइकर्मीबाट दैनिक सरसफाइको कार्य गरिरहेको र 'ग्रीन लुम्बिनी, क्लीन लुम्बिनी' भन्ने अभियान लिएर प्रत्येक सोमबारलाई 'ग्रीन डे, क्लीन डे' का रूपमा नियमित सरसफाइ अभियान सञ्चालन गरेको छ ।
नगरपालिकाका सरसफाइ संयोजक शेषराम यादवका अनुसार लुम्बिनीमा उत्पादित फोहोर ढुवानीका लागि एउटा टिप्पर तथा' डोर टु डोर' फोहोर संकलनका लागि दुईवटा विद्युतीय रिक्साको व्यवस्था छ । यहाँ फोहोर ढुवानीका लागि यसै आर्थिक वर्षमा एउटा ट्याक्टर पनि खरिद गर्ने नगरपालिकाको योजना रहेको यादवको भनाइ छ । नगरपालिकाको सरसफाइ शाखाका अनुसार लुम्बिनीमा प्रतिदिन २० देखि २५ क्विन्टल बढी फोहोर उत्पादन हुने गरेको छ । त्यहाँ ८० बढी होटल तथा रेष्टुरेन्ट, एक हजार बढी थोक तथा खुद्रा पसल र वर्षेनी १० लाख पर्यटकका चापका कारण फोहोर व्यवस्थापनमा समस्या आएको उनको भनाइ छ ।
नगरपालिकाले सरसफाइ र फोहोर व्यवस्थापनका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा ११ लाख बजेट विनियोजन गरेको छ भने अघिल्लो आवमा ८० लाख बजेट विनियोजन गरेको थियो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र तथा हरित पार्क निर्माण गर्ने सम्झौता भएको छ । सो निर्माण परियोजना सम्पन्न गर्न लुम्बिनी सांस्कृतिक नगरपालिकाले पहिलो चरणको निर्माण कार्यका लागि दुई करोड रुपैयाँ छुट्याएको सरसफाइ शाखा संयोजक यादवको भनाइ छ ।
वडा नं ५ मा निर्माणाधीन अध्ययन केन्द्रमा कुहिने र नकुहिने फोहोर छुट्याएर त्यसको व्यवस्थापन गर्ने नगर प्रमुख सजरुद्दीन मुसलमानको योजना छ । यसको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको भन्दै फोहोरलाई स्थायी रूपमा तह लगाउन र त्यसबाट स्थानीयलाई लाभ पुर्याउने गरी काम भइरहेको उनको भनाइ छ । रासस

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी जैसवाल पक्राउ

मिथुनको आश मारेको काम बन्ने, कन्याको दाम्पत्य जीवनमा खुसियाली छाउने

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीप…

प्रतिक्रिया